शनिबार, असार ७, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • कतिले चिन्छन् भन्दा आफ्ना लागि कति छन् त्यो महत्वपूर्ण हो : मनीषा कोइराला (भिडियो)

कतिले चिन्छन् भन्दा आफ्ना लागि कति छन् त्यो महत्वपूर्ण हो : मनीषा कोइराला (भिडियो)

धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर सोचे जस्तो नहुने उनले बताइन्। भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु।’
 |  आइतबार, पुस ५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस ५, २०७७

काठमाडौं– राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ। यसलाई सेवाका रूपमा हेर्न सक्छु। सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ। समाजसेवा गर्नका लागि अरू धेरै उपाय हामीसामु छन्। समाजमा राम्रो काम गर्न राजनीति गर्नुपर्छ भन्ने कतै लेखिएको छ र?’ 

उल्लिखित भनाइ हो, चर्चित अभिनेत्री मनीषा कोइरालाको। कोइरालाले आफ्नो संस्मरणात्मक कृति ‘जिजीविषा’मा उनले आफूलाई क्यान्सर लागिसकेपछिको अवस्था र त्यसले आफूलाई सिकाएको ज्ञान समाजलाई बाँड्ने इच्छा छ भनेको सन्दर्भलाई लिएर गरिएको प्रश्नमा राखेको भनाइ हो। 

आफू राजनीतिक वातावरणमा हुर्किए पनि यसमै जीवन समर्पण गर्ने सोच नरहेको उनको भनाइ छ। ‘म राजनीतिक वातावरणमा हुर्किएँ। मेरो घरमा राजनीतिको चर्चा पहिलेदेखि अहिलेसम्म हुने गर्छ, विभिन्न राजनीतिक घटनाक्रमको साक्षी पनि बनेकी छु,’ उनले भनिन्, ‘तर यसैमा लागौं भन्ने सोच अहिलेलाई छैन।’

अभिनेत्री कोइरालाको बेस्ट सेलर कृति ‘हिल्ड’को नेपाली अनुवाद ‘जिजीविषा’ फाइनप्रिन्टबाट प्रकाशन भएको छ। 

यसको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन्। यसैको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन। अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नू भन्नुभएको थियो। यो पीडाको, यो कठिनाइको कुरा पनि लेखिराख्नू भनेकाले मैले त्यति बेलाका दुःख अनि कष्टलाई टिपोट गर्दै गएँ र त्यसलाई पछि पुस्तका रुपमा ल्याएकी हुँ।’  

क्यान्सर लागेपछि भोगेका कुरा र त्यसबाट प्राप्त ज्ञानलाई किताबमा लेखें भने र समाजलाई आफ्नो ज्ञान दिन सकें भने आफ्नो जीवन सार्थक हुनेछ भनेर पुस्तक लेखेको उनको भनाइ छ। ‘पुस्तक लेख्नुको मेरो उद्देश्य नै अप्ठ्यारो परेको बेलामा जीवनलाई केही बाटो देखाउन सकिन्छ कि भन्ने हो,’ उनले भनिन्।  

धेरैले ‘ग्ल्यामरस लाइफ’मा दुःख हुन्न भन्ने सोच्छन्, तर सोचे जस्तो नहुने उनले बताइन्। भनिन्, ‘मैले असाध्यै अप्ठ्यारो परिस्थिति पनि धेरै झेलेकी छु।’

धेरैजसो मानिसको चाहना हुन्छ, आफ्नो जीवनको पर्फेक्सन मात्र देखाउने तर आफूले पुस्तकमा पर्फेक्सन देखाउनतिर नलागी ‘जीवनको तीतो सत्य’लाई प्रकटीकरण गरेको उनको भनाइ छ। ‘म जति अनेस्ट हुन सक्छु, पुस्तकमा त्यति भएकी छु,’ उनले भनिन्। 

क्यान्सर लाग्नुअघि आफूले जीवनको त्यति महत्व नबुझेको र पछि मृत्युको नजिक पुग्दा धेरै जानकारी पाएको उनले बताइन्।

‘पहिला म धेरै केयरलेस थिएँ। रोग लाग्यो भने पैसा खर्च गरेर मात्र छुटकारा पाइँदो रहेन छ, अरुलाई पनि उत्तिकै गाह्रो हुने रहेछ,’ उनले भनिन्, ‘वास्तवमा जीवन कति महत्वपूर्ण रहेछ, तर त्यही जीवनलाई हामीले गलत तरिकाले पनि उपयोग गरिरहेका रहेछौं।’ त्यसमा सचेत हुन पुस्तकले धेरथोर सिकाउने उनले बताइन्।  

‘मलाई क्यान्सरले दिएको एउटा सन्देश पनि के हो भने, मान्छेको जीवनमा धेरै चमकधमक मात्र हुनु ठूलो कुरा होइन, आफूलाई कतिले चिन्छन् भन्नु पनि ठूलो नहुन सक्छ, तर आफ्ना लागि कति छन् भन्ने विषयले धेरै अर्थ राख्छ,’ उनले भनिन्।   

क्यान्सरले पारेको अप्ठ्यारो परिस्थिति मात्र होइन, पुस्तकले जीवनका अन्य कठिनाइहरुलाई पनि सूक्ष्म रुपमा समेटेको छ।

प्रकाशित: Dec 20, 2020| 09:22 आइतबार, पुस ५, २०७७
प्रतिक्रिया दिनुहोस्