१३ औं सागमा कीर्तिमान बनाएकी अञ्जली चन्द अहिले गुमनाम छिन्। गुमनाम हुनु उनको रहर होइन, बाध्यता हो। कारण– सागपछि महिला क्रिकेटको कुनै प्रतियोगिता भएको छैन। न त अभ्यास नै।
‘गुमनाम हुने रहर त कहाँ हो र ! खेल भइरहेको भए त फिल्डमै हुने थिएँ। कोरोना महामारीले थप गुमनाम बनायो,’ सुदूरपश्चिम प्रदेश बैतडीको दशरथचन्द नगरपालिकाबाट चन्दले नेपाल समयसँग फोनमा भनिन्।
महिला राष्ट्रिय क्रिकेट टोलीका अन्य खेलाडीजस्तै अनिश्चित प्रतियोगिताका लागि उनी पनि फिटनेसको अभ्यास गरिरहेकी छन्। अहिलेसम्म खेल हुने पक्का भएको छैन। नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता हुन सक्ने संकेत त दिएको छ तर खेलाडी त्यति विश्वस्त छैनन्।
त्यसैले अञ्जली पनि अहिले घरको काम गरेर समय व्यतीत गरिरहेकी छन्।
क्रिकेट खेल्दै हुनुहुन्छ त ? भन्ने जिज्ञासामा उनी केही भावुक बनिन्। भनिन्, ‘छैन, प्रतियोगिता नै छैन, कोरोना छ, कहाँ गएर खेल्नु। घरतिर पनि खेलेको छैन।’
बरु उनी अहिले आईपीएल हेर्छिन्। भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्स उनको ‘फेवरेट’ क्लब हो। त्यसैलाई सपोर्ट गर्ने बताउँछिन्। ‘आईपीएल पनि सुरु भयो, अब नेपालमा पनि खेल सुरु होला कि भन्ने धेरथोर आशा गरेकी छु,’ उनले भनिन्।
क्रिकेटप्रति उनको चासो अहिलेबाट होइन, सानैदेखि हो। घरमा दाइहरु क्रिकेट खेल्थे। ‘परिवारमा पनि खेलको माहोल थियो,’ उनी सुरुवाती दिन सम्झन्छिन्, ‘त्यसैबीच महिला क्रिकेटको पनि खेल छ भनेर दाइले भन्नुभयो। खेल्ने हो ? भनेर सोध्नुभयो। मैले हुन्छ भनेँ।’
दाइसँगै अञ्जली पनि खेल्न गइन्। त्यसपछि उनको क्रिकेट यात्राको श्री गणेश भयो– ८ वर्षअघि। उनको क्रिकेटका आइडल थिए कप्तान पारस खड्का।
पहिला उनले डडेल्धुरामा जिल्ला छनोट खेलिन्। अनि क्षेत्रीय छनोट हुँदै राष्ट्रिय स्तरमा पुग्न लामो समय लागेन। नेपालमा २०१२ तिर महिला क्रिकेटले एउटा उचाइ हासिल गरेको थियो। महिला क्रिकेटले आफूलाई सावित गरिसकेको अवस्था थियो त्यतिबेला।
यस्तो अवस्थामा क्रिकेटमा लाग्न उनलाई खासै गाह्रो परेन। उनले भनिन्, ‘खुसी मान्नुपर्छ कि घरमा कसैलाई मनाउनु परेन। बुवाआमा, दाइहरुले खेलप्रतिको महत्व बुझिदिनु भएकाले क्रिकेटमा जम्न खासै गाह्रो परेन। सपोर्ट नै थियो।’
उनी छिटै क्रिकेटमा जमिहालिन्। खेलबाहेक नयाँ नयाँ ठाउँ घुम्न पाउँदा धेरै खुसी लाग्यो। जसले गर्दा नियमित तलब नपाए पनि खेल्न छोडिनन्। खेल्दै जाँदा रमाइलो लाग्यो। नाम पाइन्, आनन्द र सन्तोष पाइन तर दाम भने खासै पाइनन्।
‘खेलबाहेक अन्य कामका लागि जिल्लाबाहिर नगएको मान्छेलाई नयाँ–नयाँ ठाउँमा गएर खेल्नुपर्दा नौलो लाग्यो,’ उनले अनुभव सुनाइन्, ‘घुम्न पाउँदा पनि खुसीजस्तो लाग्थ्यो। गेम खेल्दा आनन्द आउँथ्यो।’
क्रिकेट मन पराउनेले त्यतिबेलाबाटै उनलाई दायाँ हाते आउटब्रेक बलर र दायाँ हाते ब्याट्सवुमन भनेर चिन्छन्। बलिङमै प्राथमिकता कसरी त ? उनी भन्छिन्, ‘पहिलोपटक खेल्दाखेरी बलिङ र ब्याटिङ दुवै सिकाउनु पर्छ भनेर घरबाट कोचलाई भन्नुभएको थियो। खेल्ने क्रममा बलिङमा नै हात बस्दै गयो। फोकस पनि त्यसमै भयो।’
२०१२ तिरको कुरा हो, उनी पहिलोपटक नेपालको राष्ट्रिय टिममा परिन्। र, यू–१९ महिलाको टिमसँगै खेल्नका लागि सिंगापुर गइन्।
‘डेब्यू गेमचाहिँ हङकङविरुद्ध खेलेको थिएँ २०१२ मा सिंगापुरमा। पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले टिममा धेरै योगदान रहेन,’ उनले भनिन्, ‘मैले हङकङसँग मात्रै खेलेँ। सिनियर खेलाडी हुनुहुन्थ्यो। खेलमा पनि फिल्डिङ मात्र गरेँ।’
त्यो उनको पहिलो अन्तर्राष्टिय खेल र पहिलो विदेश भ्रमण। ‘मनमा डर लागिरहेको थियो। कस्तो हाला, के होला भन्ने लागेको थियो। सानै थिएँ नि त,’ उनी सुनिउँछिन्।
२०१४ को सेप्टेम्बरमा कोरियामा भएको एसियन गेम्समा पनि उनी सहभागी बनिन्– इन्चेओन मैदानमा बंगलादेशविरुद्धको टी–२० खेलमा। त्यसपछि भने गतवर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुलमा नै हो उनी अन्तराष्ट्रिय खेलमा सहभागी बनेकी।
पछिल्लो ७–८ वर्षयता नेपाली महिला क्रिकेटको यात्रा त्यति राम्रो नभएको जानकारहरु बताउँछन्। सायद उनमा पनि त्यसैको प्रभाव पर्यो। अन्तर्राष्ट्रिय खेलमा सहभागी बन्ने मौका नै जुरेन।
‘जम्मा तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनेँ,’ उनले बताइन्, ‘यसैबीच ब्याचलरसम्म गरियो।’
उनी अहिले विभागिय टिमबाट छोटोछोटो सम्झौता गरेर खेलिरहेकी छन्। भन्छिन्, ‘२ वर्ष जति भयो। अहिले सशस्त्र प्रहरीबाट खेल्दै छु।’
विवाहपछि क्रिकेट
उनी सन् २०१५ मा विवाह बन्धनमा बाँधिइन्। विवाह गरेपछि नेपालमा नारीहरुको भविष्य र भाग्य बदलिन्छ भन्ने विश्वास गरिन्छ। रुढीबुढीको भनाइ पत्याउने हो भने पतिको सेवा नै विवाहपछिको मुख्य कर्म हो। तर जमाना उही कहाँ रह्यो र। समयसँगै धेरै कुरा परिवर्तन भए। अञ्जलीले पनि आफ्नो कर्मलाई निरन्तरता दिन सकिन्।
विवाहपछि पुनरागमन कसरी सम्भव भयो त ? उनी भन्छिन्, ‘विवाहपछि पनि मलाई घरबाट सपोर्ट आयो। ‘तिमी खेल, क्रिकेटलाई अघि बढाउ, आफ्नो गेम छोड्नु हुँदैन’ भन्नुभयो। यसकारण मैले पुनरागमन गर्न सकेँ।’
उनी कमब्याक गर्नुको श्रेय परिवारलाई दिन्छिन्। तर महिला क्रिकेटरको लागि देशमा राम्रो व्यवस्था छैन। एक्सपोजर र अभ्यास भएको भए, प्रशिक्षणका साधन राम्रा भए महिला क्रिकेटको सम्भावना राम्रो रहेको उनको उनको बुझाइ छ। यस्तै कुराको अभाव हुँदा भने उनलाई विवाहपछिको पुनरागमन केही गाह्रो भयो।
‘सरकारी क्षेत्रबाट त खासै केही पनि भएको छ जस्तो लाग्दैन,’उनी भन्छिन्, ‘पुरुष क्रिकेटमा त सरकारले ठूलो चासो दिएको जस्तो लाग्दैन, महिला क्रिकेटलाई झन् के चासो? अहिले बल्ल महिला क्रिकेटरले पनि सेन्ट्रल कन्ट्रयाक्ट गर्न पाएका छन्। यसले केही आशा जगाएको छ। विस्तारै यसको व्यापकता बढदै जाओस्।’
नेपालमा गतवर्ष पहिलोपटक महिला फ्रेन्चाइज क्रिकेट भयो। त्यो प्रतियोगिताले महिला खेलाडीलाई कम्तीमा प्राइभेट क्षेत्रले भए पनि प्रोमोसन गरेको थियो। खेलाडीले प्रतियोगिता पाएका थिए।
‘फ्रेन्चाइजका हिसाबमा पोहोर राम्रो भएको थियो। यो वर्ष पनि हुने भनिएको थियो तर...कोरोनाले दुःख दियो। फ्रेन्चाइज हुन्छ भन्नेमा चाहिँ आशावादी बन्न सकिन्छ,’ उनले भनिन्। गत सालको ‘वुमेन्स क्रिकेट लिग’ बाट त उनी राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन्।
सम्झनालायक क्षण
उनलाई सधै मनमा आइरहने पल भनेको १३ औं साग हो। ‘त्यो पनि खेलपछि कोचले कीर्तिमान राख्यौ भन्दाको क्षण म विर्सन सक्दिनँ,’ अञ्जली उत्साहित हुँदै सुनाउँछिन्।
उनले सागको सामयमा नै रासससँग कुरा गर्दै भनेकी थिइन्, ‘मलाई यति ठूलो सफलता मिल्छजस्तो लागेको थिएन। ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमान भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमा नै रहेन।’
सागले उनलाई विश्वस्तरमा चिनाएको थियो– माल्दिभ्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएर। स्वदेश तथा विदेशमा उनको चर्चा शिखरमा पुग्यो। २.१ ओभर बलिङमा कुनै रन नदिई ६ विकेट लिएपछि उनले विश्व कीर्तिमान राखेकी थिइन्।
प्रतियोगिताभर ११ विकेट लिइन्। अन्तिम खेलबाट काश्य पदक प्राप्त गर्दा पनि पोखरा रङ्गशालामा माल्दिभ्सविरुद्ध नै एक रन खर्चेर ४ विकेट लिँदै ‘प्लेयर अफ दी म्याच’ बनिन्।
सागमा गुरु, अग्रजहरुको प्रेरणा र ‘चान्स पाएको बेला खेल्नुपर्छ भन्ने’ आत्मबल उनको लागि सञ्जिवनी बुटी सावित बन्यो। यो नै उनको सम्झनायक र सुखदायक क्षण हो।
केही कुरा यस्ता पनि छन् जुन कुराले उनलाई चोट पुर्याउँछ। भन्छिन्, ‘क्रिकेटर वा खलाडीलाई कसैले गाली गर्यो भने दुःख लाग्छ। खेलाडीले सँधै फिट रहन जरुरी हुन्छ। फिट रहन धेरै कसरत गर्नुपर्छ। तर फिट नरहन केही नगरे पनि हुन्छ। कहिलेकाही जति कसरत गरे पनि खेलका लागि पर्याप्त नबन्दा पनि दुःख लाग्छ।’
फिटनेसको लागि अभ्यास नै अन्तिम विकल्प हो भन्ने निष्कर्ष अञ्जलीले कोरोनापछिको लकडाउनमा निकालेकी छन्। महामारीपछि पनि विश्वमा प्रतियोगिता सुरु भएका छन्। अरु देश क्रिकेटमा झुमिरहँदा हामी चाहिँ घरमै बस्नुपर्दा कस्तो लाग्दो रहेछ त ?
उनी भन्छिन्, ‘हामीले खेल्न पाएनौँ। खेल भइहाल्यो भने पनि आउन धेरै गाह्रो हुन्छ। अरुको खेल भए पनि नभए पनि हामीले त आफ्नो बारेमा सोच्नुपर्छ। खेलाडीले मात्र होइन, सम्वद्ध निकायले पनि खेलाडी र खेलबारे सोच्नुपर्छ। यही भावनाका साथ क्यानले मंगलबार महिला खेलाडीलाई तलब दिने निधो गर्यो। खुसी छु पहिलो पटक महिलाहरुको सम्झौता गरकोमा। सेन्ट्रल कन्ट्रयाक्टले महिलाहरुलाई पनि खेलमा प्रेरणा दिलाउन सक्यो।’
क्यानले वरिष्ठताका आधारमा खेलमा ग्रेड विभाजन गरेको बताएको छ। क्यानबाट यस्तै सूचना आएको छ। तर प्रदर्शनका हिसाबले राख्नुपर्ने चन्दको दाबी छ। ‘अब आफूले राम्रो खेल्दै गयो भने यसमा रिभ्यू हुँदै जाला आशा गर्ने ठाउँ पलाउँदै छ,’ उनले भनिन्। साथै क्यानले आउँदो मंसिरमा राष्ट्रिय पुरुष र महिलाको क्रिकेट प्रतियोगिता (पीएम कप) आयोजना गर्ने बताएको छ।
यता दशैं, तिहार, छठ लगायतका चाडवर्प मुखमै आइसके। पोहोर पनि सागका कारण चाडवाड खुलेर मनाउन नपाएको वेदना मनमै छ। त्यसैले प्रतियोगिताको तयारी केही कठिन पनि छ। ‘दशै, तिहार र छठ गर्दाखेरी मध्य मंसिर हुन्छ। यसले केही अप्ठ्यारो जस्तो त हुन्छ नै। सबैभन्दा ठूलो अप्ठ्यारो त कोरोनाको पो छ,’ उनी भन्छिन्।
अञ्जली चाहन्छिन्– क्यानले क्लोज क्याम्प चाँडै सुरु गरोस्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सरकारसँग समन्वय गरोस्। छिमेकी मुलुक भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानमा प्रतियोगिता सुरु हुने भइसक्यो। अव सुरक्षित भएर तयारी गर्नुपर्छ। चाडवाड नभनेर हामी (खेलाडी) पनि मेहनत गर्न तयार छौं।’
क्यानले विभाजन गरेको महिला राष्ट्रिय खेलाडीको ग्रेडः
ग्रेड ए (तलब १५ हजार): रुविना क्षेत्री (बेलबासे), इन्दु बर्मा, नेरी थापा, सीता रानामगर र करुणा भण्डारी
बी ग्रेड (तलब १२ हजार)ः अप्सरी बेगम, ज्योती पाण्डे, कविता जोशी, रोमा थापा, ऋतु कनोजिया, विन्दु रावल, काजल श्रेष्ठ र सरिता मगर
सी ग्रेड (तलब १० हजार)ः अञ्जली चन्द, डली भट्ट, कविता कुँवर, अनुराधा चौधरी, सोनु खड्का र शोभा आले