काठमाडौं– कुन नेपाली खेलाडीको स्तर कस्तो छ भन्ने कुराको पछिल्लो मापन हो– १३ औं सागको नतिजा। कसैले यो खेलाडी कस्तो छ भनेर सोध्यो भने त्यसको प्रतिप्रश्न हुन्छ– उसको–उनको सागमा कस्तो नतिजा थियो ?
यो प्रश्नको उत्तरसँगै खेलाडीको स्तर मापन हुन्छ। सरकार, प्रतिपक्षी दल, प्रदेश र स्थानीय सरकार हुँदै सामान्य कार्यक्रमसम्म सम्मानको लर्को सागकै नतिजाका आधारमा निर्धारण गरिएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको बुझाइमा यो खेलाडीको सम्मान होइन, पदकको सम्मान हो। भन्छन्, ‘यो त प्रचलन बन्दै आएको छ कि- मेडलिस्टलाई सम्मान गर्नुपर्छ। मेडलिस्टसहित अन्य खेलाडीलाई पनि सम्मान गर्यो भने त्यो मेडल ल्याएको अर्थ नै रहँदैन।’
सागकै नतिजालाई लिएर खेल संघले पनि आफ्नो बचाउ गर्दै आएका छन्। नेपाल बक्सिङ संघमा विवाद बढेपछि अध्यक्ष राम अवालेको गुटले सागमा ल्याएको नतिजा देखाउँदै आफ्नो बचाउ गर्यो। संघका महासचिव सविन भट्टाचार्यले लगाएको अपारदर्शिता र विधान मिचेको मुद्दा पनि संघ सञ्चालकले सागकै नतिजाका आधारमा ढाकछोप गरे।
तर सागपछिको बक्सिङ अभ्यास भने पूरै वेवास्तामा छ। त्यही वेवास्ताका पीडित बनेका छन् सागका स्वर्णधारी शनिल शाही। उनी सागपछि ओलम्पिकको तयारीमा थिए तर अभ्यास राम्रो भएन।
‘सागमा तयारी राम्रो थियो। तर ओलम्पिक छनोटको तयारी भने कुनै कारणले सही भएन। तयारीमा न ठाउँ राम्रो थियो न भत्ता नै थियो। अभ्यास राम्रो नहुँदा प्रतियोगिता पनि राम्रो भएन,’ शाहीले नेपाल समयसँग भने, ‘अहिले कोरोनाकालमा पनि सामान सबै खेलाडीसँग हुँदैन, त्यसैले अभ्यास गर्न गाह्रो छ।’
उनलाई सागपछिको सम्मानले दिएको खुसी भन्दा पनि अभ्यास गर्न नपाएकोमा धेरै चिन्ता छ। आफ्नो एक वर्ष नै गुमाएजस्तो लागेको बताउँछन् शनिल। ‘मलाई कोरोनाको डर लाग्दैन, म त अहिल्यै खेल भने पनि खेल्न तयार छु,’ उनी थप्छन्, ‘यो कोरोना भाइरसका कारण मैले जिन्दगीको एक वर्ष वेस्ट गरेँ।’
अहिले शनिल घरमा आफैं प्रशिक्षण गरिरहेका छन्।
प्रत्येक २ वर्षमा हुने साग पछिल्लो समय नेपालमा भएको हो। अब पाकिस्तानकाे लाहाेरमा हुन्छ। त्यसबीच पनि धेरै खेलकुद प्रतियोगिता हुन्छन्।
यता तीनै तहका सरकार सागमा विजेता बनेका खेलाडी सम्मान गरेरै ढुक्क भएर बसेका छन्।
खेलपछिको एउटा सम्मानले खेलाडीलाई दिर्घकालिन प्रभाव नपर्ने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्। उनले केही दिनअघि नेपाल समयसँग अन्तर्वार्ताको क्रममा सम्मान र त्यसले दिने केही रकमले खेलाडीलाई दीर्घकालिन हौसला नदिने भएकाले खेलाडीको वृत्ति विकास गर्नुपर्नेमा जोड दिएका थिए।
तर, वृत्ति विकास त परको कुरा, खेलाडीको सामान्य अभ्यास गराउन पनि संघलाई कमिलालाई पहाडझैं भएको छ।
उदाहरणका लागि महिला क्रिकेटलाई नै लिऔँ। १३ औं सागमा महिला क्रिकेटको राम्रो सम्भावना देखियो। अञ्जली चन्दको पाँच विकेटको कीर्तिमान बन्यो। सागमा कीर्तिमान बनाएकी खेलाडी अहिले कता छिन् कसैलाई थाहा छैन। ‘अहिले बेसिक फिटनेसका लागि साधारण अभ्यास गरिरहेकी छु। सबै बन्द भएकाले केही गर्न मिलेको छैन। घरको सामान्य काम त्यस्तै...’ चन्दले नेपाल समयसँग भनिन्।
सागपछि उनले कुनै प्रतियोगिता खेल्न पाएकी छैनन्। भन्छिन्, ‘सागपछि, हाम्रो गेम नै भएको छैन। यो एक वर्ष अब गेम हुँदैन भन्ने सुनेको छु। तर पनि आशावादी बनौँ।’
आशावादी बनेर मात्र के नै हुने हो र ? सागमा बनाएको लय त अब पूरै गुमिसक्यो। ‘सागमा रेकर्ड राखेपछि, पुनः खेलमा जमिरहन सकेको भए राम्रोऽऽऽ हुन्थ्यो। अभ्यास भएन, दुःख लागेको छ,’ उनले गुनासो सुनाइन्।
बास्केटबलको पीडा पनि क्रिकेटको भन्दा कम छैन। सागमा रजत जितेको बास्केटबलको उपलब्धि अहिलेसम्मकै उच्च हो। तर त्यसपछि...? न अभ्यास, न प्रतियोगिता। ‘सागपछि फेब्रुअरीमा एउटा सानो प्रतियोगिता भयो। त्यसबाहेक अन्य प्रतियोगिता भएकै छैन,’ महिला राष्ट्रिय बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठले नेपाल समयसँग भनिन्।
उनी अहिले घरमै ‘अलिअलि’ वर्कआउट गरिरहेकी छिन्– फिटनेसको लागि। भन्छिन्, ‘सागपछि अहिलेसम्म मुभ अन हुन सकेका छैनौं। अझै पनि हामी अघि बढिहाल्ने स्थितिमा छौं जस्तो लाग्दैन। यसकारण पर्सनल फिटनेस नै अहिलेको कन्सर्न हो।’
उनको पनि गुनासो उही छ– सागपछि अभ्यास र प्रतियोगिताले निरन्तरता पाउन सकेन। ‘साउथ एसियन गेम्समा बास्केटबल राम्रो फर्ममा थियो, मेडलिस्ट पनि भयो। त्यही अनुसारले पछि प्रशिक्षण भइरहेको भए एकदमै राम्रो हुन्थ्यो,’ कप्तान श्रेष्ठले भनिन्, ‘अब कोरोनापछि फेरि ब्याक टु गेम हुँदा धेरै गाह्रो हुन्छ।’
सागपछिका खेलकुद गतिविधि शून्य बन्दै गएकाले एउटा प्रश्न हामीसामु छ– एउटा खेलमा वा एउटा प्रतियोगितामा सफल भएका खेलाडी विनाअभ्यास कहिलेसम्म सफल रहन्छन् ?
खेल प्रशिक्षकहरुले सम्झाइरहने सामान्य सत्य के हो भने– छोटो समयको प्रशिक्षण स्थगनले लामो समय असर गर्छ।
खेलाडी संघका अध्यक्ष श्रेष्ठ पनि यसै भन्छन्, ‘पहिलेको जुन ठाउँ थियो, त्यसमा कमब्याक गर्नका लागि रेस्ट गरेको समय भन्दा दोब्बर समय चाहिन्छ। यसले धेरै खेलाडीलाई पुनरागमन गर्न नसक्ने अवस्थामा पनि पुर्याउन सक्छ। हामीले सागको तयारीका लागि खेलाडीलाई ६ महिना लामो अभ्यास गरायौँ। अब ओलम्पिकका लागि एक वर्षको समय पनि छैन। त्यसको क्वालिफिकेसनका लागि खेल्न बाँकी नै छ तर तयारी अझै सुरु भएको छैन।’
कोरोनाको डरले खेलाडीको आत्मश्विास घटेको छ। कप्तान श्रेष्ठ भन्छिन्, ‘अहिले पनि खेलाडीलाई प्रशिक्षण गर्ने मनोबल नै आएको छैन। दैनिक कोरोनाका बिरामी थपिँदै गएका छन्। अहिले नै खेलाडीलाई सहभागी गराउनु राम्रो हुन्छ जस्तो लाग्दैन। सोचेरमात्रै मुभ अन हुनुपर्छ।’
खेलाडीको आत्मबल फिर्ता ल्याउनका लागि सहयोगी संस्थाहरुले के गर्नुपर्ला ? सागपछि सरकारको खेलकुदमा कस्ता योजना थिए ? अब कसरी अघि बढ्न सकिन्छ ? यी प्रश्न हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्ष दीपक श्रेष्ठलाई सोध्यौं।
सागपछि नेपाली खेलकुद सुस्ताएको पक्कै हो। सबैभन्दा पहिला त साग खेलकुद ऐतिहासिक रुपले नै सम्पन्न भयो। यसका लागि सबैलाई धन्यवाद भन्नैपर्छ। तर, साग सकिएपछि के गर्ने भन्ने योजना चाहिँ पहिले बुनिएको थिएन। होस्ट कन्ट्रीका हिसाबले सागमा यस्तो रिजल्ट (५१ स्वर्णसहित २०६ पदक) आउन सक्छ भन्ने अधिकांशले अनुमान गरेका थिए। सागमा यस्तो नतिजा आइसकेपछि हामीले कम्तीमा यसलाई स्थिर राख्नुपर्छ, यो भन्दा माथि लैजानुपर्छ भन्ने भावना सबैमा पलाउनुपर्ने हो।
तर यहि खेललाई आधार बनाएर अघि बढ्नुपर्छ, यसले भविष्यमा आउने खेलाडीलाई प्रेरणा दिन्छ भन्ने योजना पनि बुन्न सकिएन। एक त हामीसँग योजना थिएन, त्यसमाथि कोरोनाले अर्को बहाना थपिदियो। खेलाडीले यस्तै बुझेका छन्।
तर कोरोना काल यस्तो अवसर पनि हो, जसले खेलकुदलाई कसरी अघि बनाउने भन्ने नयाँ भावना दिन सक्नेछ। यसलाई त एक अवसरका रुपमा लिनुपर्छ । त्यो हामीले गर्न सकेका छैनौँ।
त्यस्तै, खेलाडीको आत्मबल फर्काउन सम्बन्धित निकाय (खेल संघ)ले पहल गर्नुपर्छ। संघका पदाधिकारीको उत्तरदायित्व के हो भने आफ्ना खेलाडीलाई कसरी सुरक्षित राख्ने।
आजको दिनसम्म सुरक्षाको नीति कुनै संघले अबलम्बल गरेका छैनन्। यो जो केहीलाई पनि लाग्नुपर्छ– सबैले आ–आफ्ना खेलाडी बचाउनु पर्छ। उनीहरुको आर्थिक अवस्था सबल बनाउनु पर्छ।
कोरोना लागिसकेपछि उपचार गराउने अवस्था नभएका खेलाडीहरु पनि छन्। उनीहरुलाई आत्मविश्वासी बनाउन आर्थिक पाटो राम्रो बनाउनु पर्छ। हामीसँग २०९ खेल संघ छन्। त्यसमा ९–१० वटा संघले त खेलाडीको कोरोना बीमा गरिदिएका छन्।
केही हदसम्म त कोरोना बीमा पनि समाधान त हो नि। कोराना लागिहाल्यो भने अलिकति पूर्ति त हुन्छ। तर, अन्य त्यत्रा संघहरु कहाँ गए ? उनीहरुको उत्तरदायित्व छैन आफ्ना खेलाडीप्रति ?
अन्य देशहरुको सवालमा अभ्यास सुरु भइसकेका छन्। हामीले उनीहरुसँग नै हो प्रतिस्पर्धा गर्ने। अनि हामीले अभ्यास ढिलो गर्यौं भने कसरी राम्र्रो होला ? त्यसैले विश्व स्वास्थ्य संगठनको प्रोटोकल अबलम्बल गरेर भएसम्मका खेलाडीलाई अभ्यासमा फर्काउनु पर्छ।
कराँते, तेक्वान्दो अथवा बक्सिङका राम्रा राम्रा खेलाडीलाई ल्याएर अभ्यास गराउनु अहिलेको आवश्यकता हो।
कम्तिमा पनि उमेर भएका ५–१० जना खेलाडीलाई त एउटा संघले तयारी गराउन सक्छ नि ! संघ, परिषद्ले र मन्त्रालयले यो विषयमा सोच्नुपर्ने छ। लामो समय अभ्यास रोकिएपछि खेलाडी खेलबाट विमुख हुने अवस्था पनि छ, तर उनीहरुको विदाइ गर्ने परम्परा हामीसँग छैन।
खेलाडीले देशलाई, संघलाई सहयोग गरेको छ भन्ने अनुभूत कसैले गर्न नसकेका कारण अभ्यासमा ढिलाइ भएको हुनसक्छ।
यता, खेलाडीको सम्मानले अन्य खेलाडीलाई पनि खेल्ने प्रेरणा मिल्छ, उनीहरु खेलमा आउनेछन्। तर सागपछि अभ्यास शून्य बन्दा सागमा भएको गल्तीलाई सुधार गर्दै अघि बढ्न चाहेका खेलाडी पूरै वेवास्तामा परेका छन्।
१३ औं सागमा नेपालले उल्लेख्य उपलब्धि हासिल गरेको हामीले बिर्सनु हुँदैन। तर, यही उपलब्धिमा मक्ख परेर बस्ने कि भावी प्रतियोगिताका लागि राम्रो तयारी गर्ने ? प्रश्न सरकार, खेल संघ, खेलाडी र सरोकारवाला सबैलाई ।