काठमाडौं– रहनसहनका र परम्पराका कारण नेपाल–भारत सम्बन्धका धेरै आयाम समान छन्। भौगोलिक कारणले थप नजिक रहेका दुवै देशको समाजसँग जोडिएको स्थानीय खेलकुदलाई पनि छुट्टै ठाउँमा राखेर हेर्न मिल्दैन।
मौसम प्रतिकूल रहे पनि भारतको सिक्किममा बर्सेनि १ अगस्टदेखि १५ अगस्टसम्म थुप्रै फुटबल प्रतियोगिता हुने गर्छन्। यसै पनि चेरापुञ्जी (धेरै पानी पर्ने स्थान) बाट नजिक र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाका कारण अगस्टमा सिक्किममा धेरै पानी पर्छ। तर, यो समय भारतीयका लागि विशेष छ।
१५ अगस्ट भारतको स्वतन्त्रता दिवस हो। सन् १९४७ अगस्ट १५ मा अंग्रेजको उपनिवेशबाट स्वतन्त्र बनेपछि भारतले प्रत्येक वर्ष यही दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ।
यस अवसरमा भारतको सिक्किम प्रान्तभरि दुई सयभन्दा धेरै फुटबल प्रतियोगिता हुन्छन्। इन्डिपेन्डेन्स डे, कालेङ्पोङ गोल्डकप, सर टासी नाम्ग्याल स्मृति कपलगायतका फुटबल प्रतियोगिता हुने सिक्किममा नेपाली खेलाडी पनि सहभागी हुन्छन्।
सिक्किमी फुटबल प्रतियाेगितामा नेपालीसहित भारतमा रहेका तिब्बती फुटबल खेलाडी पाहुनाका रुपमा खेल्न पुग्छन्। यसबाहेक स्थानीयको पनि सहभागिता रहन्छ।
हरेक वर्ष १ अगस्टमा काठमाडौंबाट खेलाडी सिक्किम जान्छन्। रात्रिबसमा काँकरभिट्टा, त्यसपछि भारतको सिलिगुडी हुँदै गान्टोक। गान्टोकबाट सुरु हुन्छ फुटबल प्रतियोयगिताका भेन्युहरु।
इलाम, झापा, मोरङ, धनकुटा लगायतका खेलाडी पशुपतिनगर नाकाबाट दार्जिलिङ हुँदै सिक्किम जान्छन्। सबैको उद्देश्य भनेको रंगोली, सिन्ताम, कम्फो, गेइजिङ, लेक्से, उत्तरेलगायत ठाउँमा हुने खेलबाट फुटबल खेल्ने र त्यसबाट केही रूपैयाँ आर्जन गर्ने नै हुन्छ।
त्यसमाथि सिक्किमको प्रतियोगिताको शैली पनि विशेष किसिमको छ। कतिपयले सिक्किमको फुटबल संस्कृति लाई इंग्ल्यान्डको सामुदायिक फुटबल ‘कम्युनिटी सिल्ड’ सँग तुलना गरेको पाइन्छ। किनभने खेलमा सहभागी क्लबका खेलाडी परिवर्तन भइरहन्छन्। एकै क्लबमा प्रतियोगिताभर बाँधिएर बस्नु पर्दैन।
यद्यपि नेपालबाट गएका धेरै खेलाडी चाहिँ सिक्किमको पश्चिमतिर खेल्ने गरेका छन्। उनीहरु नेप्सी, केजिङ, जोरथामलगायतका ठाउँमा डेरा जमाएर बस्छन्। भारतीय पूर्वकप्तान भाइचुङ भुटियाको घरतिर।
जोरथाममा नजिकै खेल्ने ठाउँ नभए पनि त्यहाँ नेपाली खेलाडीलाई राम्रो सत्कार हुन्छ। ‘नेपालबाट आएको भनेपछि सिक्किमका नेपाली भाषीले नेपालीलाई धेरै माया गर्छन्, दाजुभाइजस्तै। उनीहरुले नेपाली परम्परा, रीतिरिवाजबारे सोध्ने गर्छन्,’ नेपाली फुटबल एजेन्ट सगुन सिक्किमे नेपाली भाषीको सम्मानको सम्झना गर्छन्, ‘त्यसैले नेपाली खेलाडी त्यहाँ बस्न रुचाउँछन्। त्यहाँबाट १–२ घण्टा वरपर भने फुटबल प्रतियोगिता हुने ठाउँ छन्।’
सिक्किमे प्रतियोगितामा खेलाडीले खेलका हिसाबले पारिश्रमिक पाउँछन्। र, खेलपछि क्लबमा बसिरहन बाध्यकारी हुँदैनन्। यसकारण राम्रा खेलाडी क्लबमा राख्न ठूलै रस्साकस्सी पर्छ। यसो भन्दैमा एक खेल सकिएपछि क्लब छोडेर जानैपर्छ भन्नेचाहिँ होइन। जसको सीधा आर्थिक फाइदा खेलाडीलाई हुन्छ।
त्यहाँका लोकल क्लबले नेपाली खेलाडीलाई दिनको ४–५ हजार भारतीय रुपैयाँ दिएर किन्ने गर्छ। नेपालबाट राष्ट्रिय टिमका खेलाडी पनि कोहीकोही बेलामा खेल्न जाने गरेका हुनाले उनीहरुले दैनिक १० हजार भारतीय रुपैयाँसम्म पाउँछन्। यसरी खेलाडी १४ दिनसम्म व्यस्त हुन्छन्।
तर, एउटा खेलाडीले एउटै प्रतियोगिताचाहिँ धेरै क्लबबाट खेल्न पाउँदैन। अरु प्रतियोगिता भने खेल्न पाउँछन्। धेरै प्रतियोगिता हुँदा क्लबलाई जिताएका खेलाडीलाई विशेष महत्त्व दिएर किन्ने गर्छन्, सिक्किमका स्थानीय क्लबले। फाइनलका लागि त एउटै खेलाडीललाई २० देखि ३० हजार भारतीय रूपैयाँसम्म अफर गरिन्छ।
यसरी नेपाली खेलाडीका लागि लोकप्रिय बनेको सिक्किममा एकै सिजन २०० भन्दा धेरै नेपाली खेलाडी जाने गरेका छन्। कुनै सिजन त ३०० खेलाडी पनि पुग्छन्। यता, अगस्ट महिना नेपाली फुटबलको अफसिजन हो। सबै खेलाडी फुर्सदिला हुन्छन्। त्यसैले पनि धेरै खेलाडी सिक्किममा फुटबल खेल्न जाने गरेका हुन्।
ए डिभिजन, बी डिभिजन, सी डिभिजन लगायत अन्य क्लबका खेलाडी सगुनले नै काठमाडौंबाट लिएर जान्छन्।
अगस्टको सिक्किमी फुटबल प्रतियोगिताबारे सगुन भन्छन्, ‘त्यहाँ क्लब र खेलाडीबाहेक गाउँका नेता, कार्यालयका हाकिम, ट्याक्सी ड्राइभर एसोसिएसनको मालिक, कन्ट्राक्टर देखि साना पसल सञ्चालक र ठूला व्यापारीसम्मले प्रतियोगितामा भाग लिएका हुन्छन्। सिक्किममा जसले जित्यो, एक वर्षसम्म त्यसको इज्जत हुन्छ। मानप्रतिष्ठा हुन्छ। त्यसैले उनीहरु आफ्नो मान राख्नका लागि धेरै पैसा दिएर खेलाडी लिन्छन्।’
‘फलानो प्रतियोगिता उसले जित्यो भनेपछि एक वर्षसम्म उसले सानका साथ गफ लगाउन पाउँछ,’ उनले थपे, ‘मैले नेपालबाट यो क्लब यस्ता खेलाडी ल्याउन सकेँ’ भन्ने शान एक वर्षसम्म चल्छ। जसकारण उनीहरु नेपालका राम्रा खलाडी अनुबन्धन गर्न उत्साही हुन्छन्।’
कुनै कुनै खेल त १४–०, १५–० गोलसम्मको फरकमा हारजित हुन्छ। प्रतियोगिताको फाइनल पुग्न लागेपछि भने राम्रो टिमको भेट हुन्छ।
नेपाली खेलाडीले त्यो १४ दिनको समयमा औसत ३५–४० हजार कमाइ गर्छन्। सामान्य खेलाडीले १५–२० हजार कमाउँछन् भने राम्रो खेलाडीले एक लाख भारतीय रूपैयाँसम्म आम्दानी गर्छन्।
यस आधारमा कम्तीमा २०० खेलाडी त्यसतर्फ गए भने एक जनाको ४० हजारका दरले ८० लाख भारतीय रुपैयाँ आम्दानी हुन्छ।
खेलाडीको रकमबाट धेरै आम्दानी आफूलाई पनि हुने सगुन बताउँछन्। ‘मैले यहाँबाट हरेक वर्ष २२ भन्दा धेरै खेलाडी लिएर जान्छु, उनीहरुसँग पहिले नै सम्झौता गरिसकेको हुन्छ। यसैबीचको कमिसनबाट मलाई फाइदा हुन्छ,’ उनले भने।
नेपालीबाहेक नेपालमा लिग खेल्न आएका विदेशी खेलाडी पनि त्यसतर्फ जाने गरेका छन्। सिक्किममा खेल्न जाने भएपछि भारतीय दूतावासको पनि भिसाको झन्झट नगर्ने सगुन बताउँछन्।
यो वर्ष कोरोना महामारीका कारण सिक्किममा हुने फुटबल प्रतियोगिता हुन सकेनन्। तीन दिनपछि भारतले स्वतन्त्रता दिवस मनाउँदै छ। तर प्रतियोगिता शून्य छन्। न नेपालबाट जान सकिने अवस्था नै छ।
नेपाली खेलाडीलाई पनि यसपालि सिक्किमको न्यास्रो लागेको छ। ‘म विगत ७ वर्षदेखि १५ अगस्टसम्म सिक्किममै हुने गर्थेँ। आठौं वर्षमा चाहिँ कोभिड–१९ का कारण नेपालमा छु,’ सगुनले फोनमा भने, ‘सिक्किमका जनताले त्यो समयमा दिल खोलेर खर्च गर्दै प्रतियोगिता आयोजना गर्छन्। नेपाली खेलाडीले १४ दिनमा धेरै पैसा कमाउँछन्। यो सुनौलो अवसर यसपाली गुम्यो।’