बक्सिङका उदीयमान खेलाडी हुन्, शनिल शाही। गएको मंसिरमा नेपालमा सम्पन्न १३ औं सागमा ‘भाग्यवश’ खेल्न पाएका २१ वर्षे यी युवाले आफूलाई प्रमाणित गरिदिए।
खेल्न पाउने आशसमेत नगरेको ठूलो प्रतियोगितामा स्वर्ण जितेपछि शनिल थप जोशका साथ बक्सिङमा लागेका छन्। ‘अलि अस्तिसम्म बिहान ढिलोसम्म नै सुत्थेँ, अहिले त ५ बजे नै उठ्छु। उठेर खासै केही खाँदिनँ, पानीमात्र खाएर बक्सिङ ट्रेनिङ गर्न मन पर्छ,’ गएको बुधबारबाट बक्सिङको प्रशिक्षण सुरु गरेका शनिल शाहीले फोनमा सुनाए, ‘लकडाउनमा अल्छे भएको थिएँ, अहिले जाँगर थपिँदै गएको छ। यद्यपि, दिउँसो चाहिँ लगभग फुल रेस्ट गर्छु।’
सातदोबाटोमा गएको बुधबारबाट कोरोना कहरकै बीच प्रशिक्षक प्रकाश थापा मगरले बक्सिङमा सागमा पदक विजेता मिनु गुरुङ र शनिल शाहीलाई प्रशिक्षण दिन सुरु गरेका छन्। ‘हामीले कम्तीमा दुई जनालाई प्रतियोगितामा सहभागी गराउने हिसाबले प्रशिक्षण सुरु गरेका छौं,’ बुधबार प्रशिक्षक थापा मगरले नेपाल समयसँग भनेका थिए।
बक्सिङ खेलेर २१ वर्षमै नाम कमाएका शनिल १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेसँगै खेलमा थप जोशका साथ लागेका छन्। भाग्यले साथ दिएर खेल्न पाएको साग र स्वर्ण उनको कल्पनाभन्दा बाहिरको कुरा थियो।
‘बक्सिङ खेल्ने त विचारै थिएन। प्लस टु सकेपछि जिम ज्वाइन गरेँ, गर्दै गएँ, वेट गेन भयो। त्यसपछि बक्सिङमा मन लाग्यो। खेल्दै गएँ, लत लाग्न थाल्यो। नछोडौं जस्तो भयो। मजा आउन थाल्यो। गर्दै जाँदा बाटोहरु पनि खुल्दै खुल्दै गए,’ शनिलले बक्सिङ सुरु गरेपछिको क्षण सुनाए, ‘सबै कुरा बुझ्दै गएँ, एक्स्पिरेन्स बन्दै गयो। अरु मान्छेसँग खेल्दै गएँ। ठूलो जोर कतै लगाइनँ। सबै आफैँ मिल्दै मिल्दै गयो। मेहनत गरेपछि आफैं बाटो खुल्दै खुल्दै जाने रहेछ।’
एउटा भनाइ छ, ‘तपतप चुहिने पानीको थोपाले पनि आखिरमा ढुंगालाई खियाउँछ।’ शनिलको खेल करिअरमा पनि लगभग यस्तै भयो। लगातारको सानो सानो मेहनतले सागमा गोल्ड मेडल जिते। त्यसैले उनी हिम्मतसाथ भन्छन्, ‘मैले खेलबाहेक केही सोचेकै छैन। बक्सिङलाई नै करियर बनाउने योजना छ। मैले यसका लागि पढाइसमेत छोडेँ।’
उनले एकपटक प्रकाश दहाल स्मृति बक्सिङ प्रतियोगिता खेले। सो प्रतियोगिता खेल्न अंग्रेजीको परीक्षा नै छोड्नुपर्ने भयो। यता फाइट जित्न सकेनन्। तर, त्यो समयसम्म उनको पढाइप्रतिको मोह टुटिसकेको थियो।
‘बुवाले ‘ल’ (कानुन) पढ भनेपछि प्लस टू पछि ‘ल’ को इन्ट्रान्स नदिएको होइन। तर पढिनँ। बीए गर्दै थिएँ, त्यो पनि सकिनँ। पढाइले मेरो एकमात्र गोल ‘बक्सिङ’ नै रोकिएजस्तो लाग्यो। त्यसैले, परीक्षा दिन गइनँ,’ शनिल सुनाउँछन्, ‘पढेर फाइदा छ जस्तो पनि लागेन। परीक्षा र पढ्ने समयका कारण बक्सिङ सिक्ने समय डिभाइड भएजस्तो लाग्यो। त्यसैले छोडिदिएँ।’
यता, बुवा बुद्धशरण शाही आफू पत्रकार भएकाले छोरालाई पनि पत्रकार वा वकिल बनाउने सपना देख्थे। तर शनिलको सपनाका अगाडि बुवाको केही सीप चलेन। शनिलले सुरुमा पढाइ छोड्ने कुरा घरमा सुनाएनन्। उनको प्रगति देख्दै गएपछि घरका सदस्यले आफैं बुझिहाले।
‘कुरा बुझ्दै गएपछि घरको प्रतिक्रिया थियो– ओहो ! नेपालमा बक्सिङ खेलेर पनि पैसा आउँदो रहेछ,’ उनी बुवाआमाको बयान सुनाउँछन्।
सागको पुरस्कारले ‘यामाहा एमटी–१५’
उनले १३ औं साग सकिएको ४ महिनापछि पुरस्कार रकम पाए। त्यसबाट एउटा बाइक किनेका छन्। आफ्नै पैसाले बाइक किन्न सकेकोमा निकै खुसी छन्। ‘बाइक किनेको त्यस्तै १२–१५ दिन भयो। ‘यामाहाको एमटी–१५ किनेँ। मेहनतले कमाएको पैसा, यति फल नखाए त अर्थै भएन नि,’ शनिल गर्वसाथ भन्छन्।
‘बाइक किनेपछि साइकलको प्रयोग कम भएको छ। तर पनि जोरविजोरले गर्दा चलाउनु परिरहेको छ। यही साइकल कुदाएकै समयमा स्वर्ण जितेँ। यसलाई पनि बेलाबेलामा प्रयोग गर्छु,’ उनी भन्छन्, ‘बचेको पैसा दैनिक खर्च गरेरै सकिन्छ लाग्छ।’
सोख नै सोख
खेलबाहेक केही नसोचेका शनिलका सोख भने टन्नै छन्। उनी हाँस्दै भन्छन्, ‘म पेन्टिङ गर्छु, गितार पनि बजाउँछु। मलाई पोट्रेट पेन्टिङ बनाउन मनपर्छ। एनिमल, मान्छेहरुको पोट्रेट धेरै बनाउँछु। कुनैपनि मिनिङफुल कुरा पेन्टिङमा देखाउन मनपर्छ। जसले एउटा अर्थ राखोस्।’ उनले घरमा धेरै कुराहरुको पेन्टिङ बनाएर स्टोर गरेका छन्।
साथै उनले बर्तिका इमा रायको नजिक भन्ने गीतको कभर गाएर युट्युवमा पनि राखेका छन्।
उनी थप सुनाउँछन्, ‘कहिलेकाहीँ फुटबल खेल्न मन लाग्छ। फोटोग्राफीमा पनि रुची छ। वाइल्ड लाइफ, फूलहरुको फोटो खिच्न मन लाग्छ। म त इच्छाहरुको खानी नै हुँ।’ उनी कहिलेकाहीँ साथीहरुको फोटो पनि खिचिदिन्छन्। मोडलिङ भने अहिलेसमम्म गरेका छैनन्। ‘अहिलेसम्म मोडलिङबारे सोचेको छैन। तर फिजिकल्ली फिट हुँदा त्यतातिर जान पनि सजिलै हुन्छ होला। अफर आयो र मलाई काम मनपर्यो भने गर्न सक्छु। मलाई स्पोर्टी टाइपको मोडलिङ मनपर्छ,’ शनिलले सुनाए।
आहारविहार
प्रशिक्षण सुरु गर्दा कसरी खाने, के खाने थाहै नभएको शनिल बताउँछन्। तर, खेल्दै गएपछि सबै कुरा थाहा हुँदै गयो। त्यसपछि शरीर फर्ममा आउन थल्यो। खाना र ट्रेनिङको सन्तुलन मिलेपछि शरीर सेपमा आउने शनिलको अनुभव छ।
तर, लकडाउनले खाना धेरै, अभ्यास कम बनाइदियो। उनी ह्वात्तै बढे– ६६ केजीबाट ७०। ‘मैले सागमा ६० केजी तौल समूहमा खेलेको। त्यसपछि ६६ केजी थिएँ। जोर्डन जाने बेलामा तीन केजी घटाएर ६३ केजीमा खेलेको अहिले लकडाउनले ७० केजी पुगेँ,’ कोरोना महामारीका कारण ४ महिना घरमा बिताएका शनिलले भने।
‘खेलाडीले भिटामिन र प्रोटिन धेरै भएको खानेकुरा खानुपर्छ। तर सबै नेचुरल। प्याकिङ गरेको खानेकुरा नखाने, बरु अग्र्यानिक खानेकुरालाई फोकस गर्ने। र, राम्रो तेलमा बनाएको मात्र खाने,’ उनी खानाबारे भन्छन्, ‘ठ्याक्क ब्यालेन्समा खानुपर्छ, आहारले मात्र केही हुँदैन, त्यसलाई काम लगाउन अभ्यास पनि गर्नुपर्छ।’
नेपालको बक्सिङ कल्चरका कारण खेलाडीले तौल मिलाउन गाह्रो पर्ने शनिलले बुझेका छन्। ‘उसै पनि नेपालमा प्रतियोगिताको सूचना ढिलो आउँछ। तयारी नै गर्न पाइन्न। कहिलेकाहीँ वेट मेन्टेन हुँदैन। ७ दिनमा तिम्रो प्रतियोगिता छ भनेर गुरुहरुले भन्नुहुन्छ, हामीले तौल सन्तुलन मिलाउनै पाउँदैनौँ,’ उनले समस्या सुनाए।
सागमा पनि ६० केजी तौल समूहको बक्सिङको गेम तीन पटक सर्यो। अन्तिम दिन मात्र खेल भयो। जसले उनलाई आवश्यक वेट ल्याउन गर्न गाह्रो परेको थियो। कहिले त पानीमात्र पिएर बसे।
गोल्ड जित्दाको अनुभव
सागमा सेमीफाइनल जितेपछि फाइनल खेल भारतसँग थियो। शनिलले प्रतिस्पर्धी बरिन्दर सिंहको खेल हेरेका थिए। तर फाइनलमा उसको योजना कस्तो छ शनिललाई थाहा थिएन। यता, उनले नयाँ शैली अपनाएका थिए। प्रशिक्षक अलि शेर राखी मोभले पनि नयाँ गर्न सल्लाह दिएका थिए।
‘फाइनल फाइट सुरु भएपछि मेरो निशाना सही ठाउँमा लाग्यो। उसको सुरुमै विग्रियो। मैले उसको फर्म्याट सुरुमै बुझिहालेँ, पुरानै थियो। उसको पन्च पनि ब्लक गरेँ। उसले मेरो ब्लक गर्न सकेन। फर्म्याट बुझ्न केही समय लगायो। त्यसैले मैले फाइट सुरु गर्दा नै जित आफ्नै हातमा छ भन्ने सोचिसकेको थिएँ, जितेँ पनि,’ उनले सागको फाइनल फाइटबारे सुनाए।
तर सागमा तीन स्वर्णसहित १५ (३ स्वर्ण, ६ रजत र ६ काश्य) पदक जितेको बक्सिङको आफ्नै भवन छैन। ‘बक्सिङका लागि छुट्टै हल नै छैन। अहिले सुटिङको हलमा सामान राखेर प्रशिक्षण गरिरहेका छौँ। अलि अलि फोहोर छ, धुलो पनि उड्छ र पनि खेल्दै छौं। त्यस्तो ठाउँमा प्रशिक्षण गरेर पनि सागमा गोल्ड जित्यौँ। त्यसैले गर्व लाग्छ,’ शनिल भन्छन्।
मन सफा बनेपछि ठाउँले प्रभाव नपार्ने रहेछ। कोचको प्रेरणालले जस्तो ठाउँमा भएपनि उनीहरुले खेल्ने उत्साह बनाइरहे। उनले प्रशिक्षकको भनाइ उद्धृत गर्दै भने, ‘राम्रो खेल्दै जाऊ, सबै कुरा विस्तारै ठिक हुन्छ भन्नुहुन्छ गुरुहरुले। हामी पनि आशावादी छौं।’
अबको यात्रा
‘कहाँसम्म पुगिएला ?’ भन्ने प्रश्नमा शनिल भन्छन्, ‘मलाई ओलम्पिक खेल्न मन छ, पाकिस्तानमा हुने सागमा डबल गोल्ड गर्न र आउँदै गरेको एसियन गेम्समा पनि राम्रै गर्ने सोच बनाएको छु।’
नेपाली बक्सिङले राम्रो लगानी पाए त्यो सपना ‘सपना’ नै नरहने शनिलको विश्वास छ। ‘हामी कोहीभन्दा कम छैनौँ, हामीले आफूलाई कहिल्यै कम आँक्नु हुँदैन। विश्वकै शीर्ष १० आसपासमा पर्ने टिम भारतलाई हराएपछि जित्न असम्भव छैन भन्ने कुरामा विश्वस्त भएको छु,’ उनी भन्छन, ‘एकपटक मात्र होइन तीन पटक। सागमा तीनटा गोल्ड ल्यायौँ। जसमा भारत पनि समावेश थियो। त्यसैले मलाई लाग्छ सपोर्ट भयो भने हामी चाहेजति जित देशलाई दिन सक्छौं।’
गएको अप्रिलमा पनि उनी जोर्डन खेल्न गएका थिए। त्यहाँ उनले ओलम्पिक क्वालिफिकेसनको अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक जित निकाले। त्यो जित नेपालको ऐतिहासिक भएको प्रशिक्षक थापामगर बताउँछन्।
तर दोस्रो राउन्डमा शनिलले जित निकाल्न सकेनन्। ‘क्वालिफाइ हुन्छु भन्ने निश्चित नै थियो। एक जित निकाले पुग्ने थियो। तर त्यो फाइटमा मेरो प्रतिस्पर्धी एसियन च्याम्पियनसिपको गोल्ड मेडलिस्ट रहेछ। म हारेँ। यता, तयारी पनि ठिकै मात्र थियो। सागमा जस्तो अभ्यास भएको थिएन। खाना पनि राम्रो थिएन, भत्ता पनि थिएन,’ उनले हारपछिको कारण सुनाए, ‘अब वर्ल्ड क्वालिफिकेसन बाँकी छ। त्यसबाट ओलम्पिकमा जाने आशा छ। त्यसअघि विदेशमा थप गेम खेल्न पाएमा राम्रो हुन्छ।’
एमेच्योर बक्सिङका साथै उनलाई प्रोफेसनल बक्सिङ खेल्न मन लागेको बताउँछन्। ‘त्यहाँ अलिक गाह्रो हुन्छ तर एमेच्योर बक्सिङ भन्दा धेरै फाइदाजनक छ। १२ राउन्ड खेल्नुपर्छ। खासमा बक्सिङबाट मलाई गर्न मन लागेको चाहिँ प्रो–बक्सिङ नै हो,’ शनिल भन्छन्।
सामाजिक सञ्जालबाट टाढै
इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ता शनिल यसबाहेक अरु सामाजिक सञ्जालबाट टाढै बस्न रुचाउँछन्। ‘मलाई फेसबुक, ट्वीटर लगायत सामाजिक संजालबाट टाढै बस्न पनपर्छ। त्यहाँ धेरै नकारात्मक कुरा आउँछन्। मलाई जीवनमा डिस्ट्राक्सन मन पर्दैन। म कामसँग मतलब राख्छु। त्यसैले इन्स्टामा पनि बक्सिङकै मान्छे मात्र फलो गरेको छु,’ उनी बयान गर्छन्।
उनलाई लकडाउनमा एकदमै गाह्रो भयो। ‘दिनदिनै ट्रेनिङ गर्ने, खेल्ने र बिजी भइरहेको बेलामा एकैपटक लकडाउन भएपछि कसैले आफ्नो हातै लिएर गएजस्तो लाग्ने,’ उनी भन्छन्, ‘एउटा बक्सिङ खेलाडीलाई आफ्नो हात कति महत्वपूर्ण हुन्छ। यो कुरा बक्सरबाहेक सायदै कसैले जानोस्।’
‘घरमा लक भएर बस्नु त साह्रै नरमाइलो हुने रहेछ। सुरुमा रुममै प्रशिक्षण गर्न थालेँ। तर, आफैंमात्र कति, के–के पो गर्नु ? बक्सिङमा त अर्कोलाई कुट्नुपर्ने। कोठामा आफूमात्र एक्लै कसरी खेल्ने ? अनि खेलेर के गर्ने ? प्रतियोगिता छैनन्। धेरै चिन्ता हुने रहेछ,’ उनी लकडाउनले पारेको प्रभाव सुनाउँछन्।