बिहीबार, वैशाख १८, २०८२

एन्फाको भीड देखेर फुटबलमा लागेका वसन्त

वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।
 |  शनिबार, असार ६, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असार ६, २०७७

वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।

उनी जन्मँदा ०४६ सालको आन्दोलन सकिसकेको थियो। ०६२–६३ को आन्दोलन भएकै थिएन। सानो छँदा उनको मनमा बेग्लै प्रकारको आन्दोलन हुन्थ्यो– फुटबल खेल्ने आन्दोलन। आन्दोलनमा उनी सशक्त बन्दै गए । र, आज सातदोबाटो युथ क्लबको कप्तान छन्।

वसन्त तामाङ त्यतिबेला ११ वर्षका थिए। सातदोबाटोमा घर। अखिल नेपाल फुटबल संघ (एन्फा)को एकेडेमी नजिकै। हिँडेरै गए पनि पाँच मिनेटमै पुगिने। त्यसमाथि फुटबलका खेल धेरै भइरहने। अनि घर वरिपरि फुटबल खेल्न चौरको व्यवस्था। यति भएपछि एउटा स्कुले केटोलाई के चाहिन्छ र ?

उनी फुटबलमा ध्यान लगाउन थाले। आफ्नै घरबाट एन्फामा फुटबल खेलिरहेको देख्थे। उनमा पनि फुटबलर हुने सपना जाग्थ्यो।

‘त्यतिबेला एन्फामा धेरै खेल हुन्थे। ठूलाठूला खेल हुन्थे। दर्शकहरु टन्नै हुन्थे। त्यहाँको भीड देख्दा, हल्ला सुन्दा ‘अहो ! म पनि यो मैदानमा खेल्न पाए हुन्थ्यो’ भन्ने लाग्थ्यो,’ वसन्त सम्झन्छन्, ‘मैदानमा ट्रेनिङ गरिरहेका खेलाडी देखिन्थे। मैले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। जे होस्, मेरो लागि एन्फा राम्रो प्रेरणा थियो।’

Metro Mart
worldlink

जब एन्फामा आवाज सुन्थे, उनी खुर्र कुदेर बाहिर जान्थे र त्यो भीड, त्यहाँका खेलाडी नियाल्थे। ‘एन्फा मेरो घरबाट नजिकै थियो। त्यतिबेला अहिलेको जस्तो धेरै घर थिएनन्। सबै दृष्य घरबाटै देखिन्थ्यो। जतिबेला म ११ वर्षको थिएँ। सायद ६ कक्षामा पढ्थे होला,’ वसन्त सम्झिए।

छोरो पढाइमै केन्द्रित होस् भन्ने बुबाआमाको चाहना थियो। फुटबलमा मनमनै रम्न थालेको मन कहाँ खेल छोड्न कहाँ मान्छ र ? उनको मन पनि मानेन।

‘सानो हुँदा घरबाट पढाइ बिग्रन्छ, खेल्नुहुन्न भन्नुहुन्थ्यो। उसै पनि खेलमा अभिभावकले खासै फोकस गर्दैननथे। मलाई पनि पढाइमै केन्द्रित रहन भन्नुहुन्थ्यो,’ उनले त्यसबेला घरबाट खेलबारे पाएको प्रतिक्रिया सुनाए, ‘तर खेल्दै जाँदा सिनियर दाइहरुले पनि राम्रो रेस्पोन्स दिएपछि घरबाट पोजेटिभ रेस्पोन्स आउन थाल्यो। बल बल भन्दै धेरै चाहिँ नहिँड्नु भन्नेसम्म हुनुभयो। तर डिस्करेज भने गर्नु भएन।’

वसन्त आफ्नो सोखको छनोटका लागि स्वतन्त्र थिए। एन्फामा भएको खेल हेरेर मात्र उनको चित्त बुझेन। आफैं पनि फुटबल खेल्न थाले। खेल्दै गएपछि थ्रीस्टार क्लबको यू–१४ क्याम्पमा समावेश भए, २०६४ सालमा।

‘०६४ बाट प्रोफेसनल रुपमा फुटबल सुरु गरेँ। अहो ! अहिले त १२ वर्ष जति पो भइसकेछ। मैले त्यो समयमा थ्रीस्टारबाट यू–१४ खेलेको थिएँ,’ उनले प्रोफेसनल फुटबल सुरु गर्दाका पल सम्झिए। त्यतिबेला उनमा थ्रीस्टारकै सिनियर खेलाडी सुरेन्द्र तामाङजस्तै खेल्ने भावना पलाउँथ्यो। सुरेन्द्रको खेल खुब मनपथ्र्यो। उनको खेल हेरेर नै वसन्तले फुटबल खेल्न प्रेरणा लिए।

वसन्त स्पेनिस क्लब रियल मड्रिडका समर्थक हुन्। अन्तर्राष्ट्रिय खेलाडीमा उनलाई ग्यारेथ बेल मनपर्छ। बेल वेल्सका र स्पेनिस क्लब रियल मड्रिडका खेलाडी हुन्।

वसन्तले थ्रीस्टारमा खेल्दै गए। लिग विजेता पनि भयो क्लब। त्यसपछि उनको यात्रा एन्फा एकेडेमीतर्फ मोडियो। ‘म १० क्लासमा थिएँ। एन्फा एकेडेमीबाट खेल्नका लागि बोलाउनु भएको थियो। उहाँहरुले मेरो खेल देखेर बोलाउनु भएको रहेछ। मैले घरमा सोधेर भन्छु भनेँ,’ उनले एन्फाका पदाधिकारीसँग भनेको कुरा सुनाए।

उनले बुवाआमालाई सोधे तर बुवाआमाले फुटबल भन्दा पनि एसएलसीमा केन्द्रित रहन भनेपछि उनी फुटबल छोड्न बाध्य भए। ‘घरबाट क्याम्पमा नबस, परीक्षामै फोकस गर भन्नुभयो। त्यसपछि मेरो खेल जीवनमा एउटा ब्रेक लाग्यो। खेल बीचमा टुट्यो भनौँ। कि पढाइ त्याग्नुपर्ने भयो कि खेल।’

अन्ततः उनले फुटबल छोडे र पढाइमा लागे। तर एकदिन खेलमा फर्किएर आउनै थियो र आए। २०७० सालमा खालीबारीबाट खेले। खालीबारी ‘सी’ डिभिजनको क्लब हो। पछिल्ला तीन सिजनमा भने सातदोबाटो क्लबबाट खेलिरहेका छन्।

 

२६ वर्षे यी फुटबलरले राष्ट्रिय खेलाडीका रुपमा अन्तर्राष्ट्रिय खेल भने खेल्ने अवसर पाएका छैनन्। तर राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने हरेक खेलाडीको सपना हुन्छ। ‘मेरो पनि छ। तर, तर त्यो सपना उमेरसँगै परिवर्तन हुँदै जान्छ। उमेर बढ्दै जाँदा खेलाडीको जोश कम हुँदै जान्छ,’ वसन्त फुटबलको मर्म बुझ्न समय लागेको बताउँदै भन्छन्, ‘अहिले मसँग जुन जाँगर छ, हिम्मत छ, त्यही जाँगर ५–६ वर्ष अघि भइदिएको भए राष्ट्रिय टिमको जर्सी लाउने एक सदस्य वसन्त तामाङ पनि हुन्थ्यो होला। अब त उमेर घर्किन थालिसक्यो। तर राष्ट्रिय टिमबाट खेल्ने आशा मरेको छैन।’

खेलमा समय दिँदा पढाइमा बाधा पर्ने अनुभव धेरै खेलाडीहरु सुनाउँछन्। तर वसन्त यस मामलामा आफूलाई भाग्यमानी ठान्छन्। ‘मैले राम्रै पढेँ। ब्याचलरसम्म अध्ययन गरेको छु,’ उनले भने। खेल र पढाइलाई उनले समान महत्व दिए । निरन्तर खेलमा लागिरहे र पढाइ पनि छाडेनन्। ‘हरेक प्लेयरले पढाइसँगै राम्रो क्लबबाट खेलौं भन्ने सोच्छ। म पनि सोच्छु। तर पढाइलाई पनि साथमै लैजानुपर्छ,’ वसन्त भन्छन्।

‘ए’ डिभिजनमा खेलमा बढी समय दिनुपर्छ, पढाइमा समय पुग्दैन उनले बी डिभिजनबाट खेल्न थाले। बी डिभिजनमा खेल्नका लागि तीन महिनामात्र प्रशिक्षण गरे पर्याप्त हुन्छ। यता लिग पनि एक–डेढ महिना मात्र चल्छ। त्यसैले उनी बी डिभिजनतिर लागे।

उनी स्कुलमा स्पोर्टस् टिचरका रुपमा पनि काम गर्छन्। फुटबल खेलेर नेपालमा बाँच्न सकिन्छ–सकिँदैन भन्नेबारे उनको आफ्नै बुझाइ छ। भन्छन्, ‘फुटबल खेलेर बाँच्न सकिन्छ–सकिन्न भन्दा पनि आफूले कति खर्च गर्ने भन्नेमा भर पर्छ। कसैको खर्च धेरै हुन्छ, कसैको थोरै। फुटबल खेलेरै परिवार पाल्ने भन्ने हो भने त्यो त सम्भव छैन। साइड जब हुनैपर्छ।’

वसन्त सेतो जर्सीमा

वसन्त सातदोबाटोबाट बी डिभिजन लिग खेलिरहेका छन्। कोरोना महामारीका कारण लिग स्थगित छ। कहिलेबाट पुनः सुरु हुने हो, निश्चित छैन। तर पनि वसन्त व्यक्तिगत रुपमा तयार रहनका लागि दैनिक अभ्यास गरिरहेका छन्।

‘अहिले बिहान–बेलुका व्यक्तिगत रुपमा ट्रेनिङ गरिरहेको छु। बेलुका अलिक धेरै गर्छु। जिमचाहिँ खासै जान्नँ। रनिङ अनि फुटबलका स्किलसम्बन्धी अभ्यासहरु गर्छु। धेरैजसो चाहिँ फिटनेसका साथै अरु अभ्यास नै गरिन्छ। खुट्टाका मांशपेशीलाई जगाइराख्ने खालका अभ्यासहरु हुन्छन्। भदौको बीचबाट मैदान खुल्ने आशा गरेर बसेका छौं,’ वसन्तले सुनाए।

खेलाडीका लागि खेल्न नपाउनु ठूलै पीडा हो। ‘हाम्रो जीवनशैली खेलसँग नै बगेको छ। खेल नै रोकिँदा जीवन नै रोकिएजस्तो भएको छ,’ उनको अनुभव छ। मैदानमा खेल्न नपाएको दुःख एकातिर छँदैछ, त्यसमाथि सामूहिक प्रशिक्षण पनि हुन थालेको छैन।

‘पहिला घरमा बस्नुको विकल्प थिएन। तर अहिले त्यस्तो छैन। १५ दिनजति भयो, हामी केही साथीहरु मिलेर घर नजिकै खाली चौरमा अभ्यास गर्न थालेका छौं। क्लबका भाइरहरु पनि छन्। उनीहरुसँग मिलेर खेल्ने गरेका छौं,’ फुटबलमा फर्कन तयार रहेको वसन्तले सुनाए। तर, त्यो क्लबको अफिसियल प्रशिक्षण भने होइन। आफैं मिलेर खेल्ने हुन् मन लागे। त्यहाँ क्लबका प्रशिक्षक आउँदैनन्।

वसन्त सेतो जर्सीमा

वसन्तले जीवनमा धेरै खेल खेले। कतिपयमा हारे, कति जिते। एउटा खेल भने उनको मनमा गढेर बसेको छ। उनलाई त्यो खेलको ‘इख’ पनि छ।

‘न्युरोड टिम (एनआरटी) सँगको एक खेल म बिर्सिन सक्दिनँ। ए डिभिजनमा प्रमोट हुनका लागि हामीले त्यो लिग जित्नुपर्ने थियो। तर हामी २–० ले हार्न पुग्यौँ।’ लामो समयबाट गरिरहेको मेहनत ९० मिनेटको खेलमा बेकामे जस्तो भयो। लामो समयको सपना तुहिएको थियो त्यतिबेला उनले सुनाए।

तीन सिजनअघिको त्यो लिगबाट प्रमोट भएर एनआरटी र च्यासल ‘ए’ डिभिजनमा पुगेका थिए। ‘उनीहरु अहिले पनि ए डिभिजनमा रमाइरहेका छन्। हामीचाहिँ बी मै रह्यौँ। त्यो खेल जीवनमै बिर्सन सक्दिनँ,’ उनी तीन वर्ष अघि फर्किए।

अहिले पनि सबैभन्दा ठूलो डर प्रोमोसनलाई लिएर नै छ। सातदोबाटोका खेलाडी यहि विषयलाई लिएर चिन्तित छन्। तीन सिजनअघिकै अवस्था दोहोरिएला कि भन्ने चिन्ता उनीहरुलाई छ। ‘लकडाउन अघि जुन ट्रयाकमा थियौं, अब त्यही लयमा जाने हो–होइन भन्ने लागेको छ,’ वसन्तले चिन्ता व्यक्त गरे, ‘त्यतिबेला त हामी विनिङ वे मा नै थियौं। अब लकडाउन पछि त्यो गतिमा जान सकिन्छ कि सकिँदैन !’

चिन्ता टिमको पनि छ। अहिले सबै खेलाडी एकसाथ छैनन्। सामाजिक सञ्जालमा कुराकानी भए पनि त्यो पर्याप्त छैन। ‘टिममा हामी उपत्यकाको र बाहिरको बराबरी जस्तो नै छौं। ३–४ महिना एक्लै बसेर फेरि कम्बाइन गरेर खेल्दा सबैको लय गुमिसकेको हुन्छ। त्यसैले प्रमोसनको डर चाहिँ हुने नै भयो,’ वसन्त क्लबबारे चिन्ता सुनाउँछन्, ‘र पनि ए डिभिजनमा पुग्ने आशा गरेका छौं। त्यसैले आ–आफ्नो ठाउँबाट सकेजति वर्कआउट गरिरहेका छौं। तर फुटबल टिमवर्क हो। त्यो भएन भने कसैको केही लाग्दैन।’

त्यसमाथि कोरोनाको जोखिमका कारण फुटबलका धेरै नियम परिवर्तन भएका छन्। ‘अब कस्तो खेल हुने हो, थाहा छैन। क्लबमा गएर बुझिरहेको छु। तिमीहरु फिजिकल्ली र मेन्टल्ली तयार भएर बस्नु भन्नुभएको छ। बी र सी डिभिजन दशैंअघि नै सक्ने प्लान छ भन्ने सुनेको हो, हेरौं !’ भदौको मध्यतिरबाट खेल हुने आश छ,’ वसन्तले भने।

गत मंगलबार बसेको एन्फा बैठकले पनि लिगका खेलाडी र क्लबबारे केही निर्णय गरेको छैन। राष्ट्रिय खेलाडीको प्रशिक्षण सुरु गर्ने भनिए पनि बीचमै रोकिएको लिगको अन्योल कायमै छ। यस्तो समयमा क्लबको बैठक पनि हुन सकेको छैन। लिग बीचमै रोकिएका कारण खेलाडीले मासिक तलब पनि पाउन सकेका छैनन्। वसन्त पनि यस्तै चपेटामा परेको सुनाउँछन्।

‘क्लबले पनि बीचमा केही दिन राहत वितरण गर्यो। केही नगद सहयोग पनि गरेको थियो। अहिलेचाहिँ मिटिङ बसेर निर्णय गर्नुपर्छ भनेको छ क्लबले,’ वसन्तले कुराकानीको बिट मार्दै भने।

प्रकाशित: Jun 20, 2020| 07:56 शनिबार, असार ६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।