मछिन्द्र क्लब सामान्य बलबुँताले सहिद स्मारक ए डिभिजन लिग विजेता बनेको होइन। २०३२ सालमा स्थापित क्लबले यो सफलता प्राप्त चार दशकभन्दा बढी समय मिहेनत गर्नुपर्याे।
प्रतिस्पर्धा जित्न लगनशील खेलाडी र कुशल प्रशिक्षक मात्र भएर पुग्दैन, त्यसको नेतृत्वले लिने निर्णय र कार्यान्वयन क्षमताको पनि उत्तिकै योगदान हुन्छ भन्ने उदाहरण मछिन्द्र क्बलले देखाइदिएको छ।
२०७५ सालको सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र रेलिगेसन जोनमा रह्यो। धेरै खेल नहारे पनि बराबरीका खेलले मछिन्द्र लिग तालिकाको पुछारबाट दोस्रोमा सीमित थियो।
क्लबका अध्यक्ष प्रबोधवीरसिं कंसाकार रेलिगेसनमा परेर मछिन्द्रलाई नराम्रो नभएको दाबी गर्छन्। ‘हामीले धेरै खेल हारेका थिएनौं तर धेरै बराबरी खेलेका थियौं। हामीलाई सबैले ड्र टिम भन्ने गरेका थिए,’ कंसाकारले भने।
हुन त लिगमा एउटा खेल खेलेर पुग्दैन। सबै खेलको नतिजा निस्किँदा मछिन्द्र पछि परेको थियो– त्यही बराबरीकै एकएक अंकका हिसाबले। बराबरी भएकै कारण कमजोर ठान्न नमिल्ने दाबी उनको छ।
तर पनि अन्तिमबाट दोस्रोमा थियो मछिन्द्र। एक अंक माइनस जाने स्थिति भयो नै।
‘त्यसपछि हामी धेरै तनावमा रह्यौं। अर्को वर्ष के गर्ने होला? कसरी राम्रो बन्ने होला भनेर सोच्न थाल्यौं। कार्यसमितिका पदाधिकारीबीचको पटकपटक छलफल गरेपछि अलिकति लगानी थप्ने प्रस्ताव आयो।’
क्लबले टोलका अग्रज र क्लबका पूर्वअध्यक्षसँग छलफल गर्यो। सबैबाट प्रोत्साहन पाएपछि क्लब लगानी बढाउने निष्कर्षमा पुग्यो।
कंसाकार भन्छन्, ‘हामीले एकैपटक ठूलै रकम लगानी गरेकै हौं।’
लगानी अनुमान
लगानी गर्ने टुंगो लागेपछि कतिसम्म खर्च गर्ने भन्ने विषयमा छलफल भयो। क्लबमा खर्च हुने खेलाडी र प्रशिक्षकका लागि हो।
‘हामीले अन्डर–१८ चलायौं, लिगमा पनि सहभागी भयौँ। यति अनुभव भइसकेपछि क्लब सञ्चालन गर्न एक करोड हाराहारीमा बजेट अनुमान निस्कियो,’कंसाकारले भने, ‘राम्रा खेलाडी ल्याउन सक्यौं भने प्रायोजनक आउने निश्चित थियो।’
त्यसपछि मछिन्द्र स्रोत जुटाउन सक्रिय भयो। स्रोत पहिल्याउनमा क्लबका म्यानेजर अनिल श्रेष्ठको ठूलो भूमिका छ।
‘क्लबमा खेलाडी भित्र्याउने भनिहालियो तर पैसा थिएन। त्यसैले हामीले जसलाई भेट्दा पनि ‘लौ सहयोग गरिदिन पर्यो’ भन्ने गरेका थियौं। त्यसै क्रममा सबैबाट मछिन्द्रले सहयोग पाउन थाल्यो,’ कंसाकार सम्झन्छन्। अन्ततः मछिन्द्रले सान मिगेल प्रायोजक पायो।
खेलाडी भित्र्याउने अनिल
‘खेलाडीसँग अरुको भन्दा अनिलको सम्बन्ध राम्रो थियो। उनले सबैसँग बसेर छलफल गरे,’ कंसाकार भन्छन्, ‘अनिल म्यानेजर भएपछि उनले सबै जिम्मेवारी लिए।’
प्रशिक्षकमा प्रवेशको प्रवेश
मछिन्द्रलाई प्रशिक्षक चाहिएको थियो। एन्फा, एएफसी र फिफाको नयाँ कार्यविधि आइरहेको थियो। त्यसैले प्रशिक्षक नियुक्त गर्न धेरै कागजी प्रक्रिया पूरा गर्नैपर्दथ्यो।
मछिन्द्रले विभिन्न लाइसेन्स प्राप्त प्रशिक्षकमा नजर डुलाउन थाल्यो। खोज्दै जाँदा कुनै बेला मछिन्द्रका खेलाडी प्रवेश कटुवाललाई नियुक्त गर्ने निर्णय भयो। उनी ‘झापा ११’ क्लबमा प्रशिक्षण गराइरहेका थिए।
कंसाकार भन्छन्, ‘प्रवेशसँग हामीले कुरा गर्यौं। उनले पनि हुन्छ भने। उनमा अनुभव कम थियो तर स्ट्राटेजी बनाउने क्षमता देखें। नयाँ पनि, इनर्जेटिक पनि। हामीले केही गरेर देखाउँछु भन्ने हुटहुटी भएको मान्छे पायौं।’
प्रवेशलाई भित्र्याउँदा क्लबले धेरै जोखिम मोलेको अध्यक्ष कंसाकार बताउँछन्।
प्रवेशका केही समकालीन त क्लबका खेलाडी नै थिए। एन्फाको टेक्निकल रिपोर्टले पनि यो देखाइसकेको छ। लिग खेल्ने क्लबमध्ये सबैभन्दा ‘पाका’ खेलाडी मछिन्द्रमै थिए।
क्लबमा कोच नियुक्त भएपछि पदाधिकारी र कोचबीच विस्तृत छलफल भयो। त्यसैअनुरुप सबै पोजिसनको खेलाडी तोकियो। स्ट्राइकर पहिलो प्राथमिकतामा परे।
‘खेलमा चाहिँ स्ट्राइकर र मिडफिल्डका खेलाडीले बराबरीजस्तो गोल गरे,’ कंसाकारले लिगको सानो समीक्षा सुनाए।
बजेट बढ्यो
खेलाडी छनोट भइसकेपछि मछिन्द्रको अनुमानित बजेट बढ्यो। नयाँ खेलाडीले राम्रा खेलाडीलाई तान्न थाले। नयाँ खेलाडीले छानेका र नेपालका अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउँदासम्म लगानी एक करोड ३० लाख पुगिसकेको थियो।
‘हामीले अनुमानित बजेटले पुग्दैन भन्ने अनुभव गरिसकेका थियौं। त्यसैले डेढ करोड लगानी प्रक्षेपण गरेर क्लबलाई हाँक्ने निर्णय गर्यौं,’ कंसाकारले भने, ‘यता प्राइज मनी कम थियो। त्यसैले राम्रो खेलाडीमा धेरै खर्च गरिसकेपछि हामीले मध्यम स्तरका खेलाडीमा भने कम लगानी गर्यौं। यसबाट बजेट व्यवस्थापन पनि सहयोग भयो।’
खेल सुरु भएपछि, मछिन्द्रले हेबिवेट क्लबका स्टार खलाडी ल्याएर लिग जित्ने रणनीति बनायो भन्ने हल्ला चल्यो। ‘जति खर्च गरे पनि हुँदैन भन्ने मान्छेको धारणा बनिसकेको थियो। तर, हामीले प्रमाणित गरेर देखायौँ लगानी गर्दा फरक पर्दैन भनेर,’ लिगमा बेस्ट मिडफिल्डर घोषित विशाल राईले लिगको अन्तिम खेलपछि भनेका थिए।
खेलाडीको मनोविज्ञान नै दरिलो
भित्रिएका खेलाडीले कहिल्यै रेलिगेसन जोनको क्लबमा आएकोमा अफसोस मानेनन्। नकारात्मक अंकबाट खेल सुरु गर्दा कुनै खेलाडीमा हीनताबोध देखिएन।
पहिलेका कप्तान उत्तम गुरुङ भने क्लबको खेललाई लिएर चिन्तित थिए। अन्य खेलाडीमा भने धेरै उत्साह थियो।
‘सबैमा टिम हार्नु भनेको म हार्नु हो भन्ने भावना देखियो। उनीहरुले क्लबलाई गाइड गरे। हामीलाई रणनीति बनाउन सहज भयो,’ कंसाकारले भने, ‘उनीहरुले नेपालमा चलेका खेलाडी लिन सुझाव दिए।
टिमको कमजोर पक्षको आँकलन गरेर फिट हुने खेलाडी क्लबमा ल्याउन सहयोगसमेत गरे। लिग खेल्दै गयौं। हारजित हुँदै गयो। अन्ततः राम्रो निर्णय निस्कियोे’, कंसाकारले भने।
लगातार च्याम्पियन बन्दाकाे खुसी
‘खेल जितेपछि आधा घण्टा जति मलाई आफैं हराएको जस्तै भयो। सबैसँग खुसी साटियो। खलाडी भाइहरुसँग खुसी साटिसकेपछि एक्कैछिनमा झसंग भएँ। अब यो च्याम्पियनको भार कसरी थेग्ने भन्ने लाग्यो। त्यसपछि मलाई गाह्रो भएर आयो,’ कंसाकारले मुस्कुराउँदै विजयी क्षणको स्मरण गरे।
मोफसलमा जित्दा पनि उनी खुसी थिए। लिग जित्दाको खुसी विशेष हुने उनको अनभुव छ। ‘कप जित्दा पनि सामान्य रुपले खुसी भएँ तर लिग जति भएन। जित्नु भनेकै रमाइलो हुनु रहेछ,’ उनले भने।
माइभ्याली गोल्डकपको उपाधि मछिन्द्रलाई
नयाँ खेलाडी भित्र्याउँदा प्रतिस्पर्धी क्लबलाई झट्का
सामान्यतया अन्य क्लबबाट खेलाडी ल्याउँदा प्रतिस्पर्धाको स्तर बदलिन्छ। तर मछिन्द्रले मनाङ र थ्रीस्टारलाई ठूलै झट्का लाग्नेगरी खेलाडी भित्र्याएको थियो। यसबाट क्लबको आपसी सम्बन्धमा फरक नपरेको कंसाकार बताउँछन्।
‘व्यक्तिगत सम्बन्धमा केही तलमाथि छैन। मनाङबाटै धेरै खलाडी आए। तर मनाङका अध्यक्ष छिमी (छिमी उर्गेन गुरुङ) दाइसँग मेरो राम्रो सम्बन्ध छ। क्लबमा खेलाडी यताउता भए पनि सम्बन्ध भने नबिग्रिँदो रहेछ,’ कंसाकारले भने।
खेलाडीमा भने यस्तो सम्बन्ध देखिएन। पुस २१ गते मछिन्द्र र मनाङबीचको खेलमा यस्तै देखियो। ‘खेलाडी भने तनावमा हुँदा रहेछन्। त्यो प्लेयर बक्स र मैदानमा देखियो,’ कंसाकारले घटना सम्झँदै भने, ‘अध्यक्ष भएका नाताले हामी (छिमी र प्रबोध) सँगै हेरिरहेका थियौं। खेलाडी आपसमा लडाइँ गर्न थाले।’
प्रबोध यो घटनालाई सामान्य लिन्छन्। उनले भने, ‘खेलाडी व्यवस्थापन मुख्य कुरा हो। एकै क्लबबाट करिअर उपाइमा पुर्याउने खेलाडी त कति नै होलान् र?’
रेलिगेसन पर्दाकाे अध्यक्ष र च्यम्पियन अध्यक्षको तुलना
लिगको बीचमा रहने क्लबको चर्चा कमै हुन्छ। चर्चा कि त रेलिगेसनमा परेको टिमको हुन्छ कि शीर्ष स्थानमा रहेका क्लबको। पछिल्लो दुई लिगमा यस्तै चर्चामा थियो मछिन्द्र। अध्यक्ष उनै कंसाकार थिए। तर रेलिगेसनको टिम र च्याम्पियन टिममा भेरै फरक भए पनि दुवैमा दबाब हुने उनको बुझाइ छ।
उनी भन्छन्, ‘च्याम्पियन हुन सबै कुरा मिलेर जानुपर्ने रहेछ। लगानी गरेर मात्र पनि नहुने रहेछ। त्यसमाथि एक अंक गुमाएर लिग सुरु गरेको इतिहास सायदै संसारमा कतै होला। हामीले आर्मीलाई लगातार लखेटेर नै विजयी भयौं।’
‘तर, दबाब भने उस्तै हुने रहेनछ। रेलिगेसन पनि दबाब थियो, च्याम्पियन भएपछि पनि उस्तै दबाब छ। रेलिगेसन हुँदा टोलको दबाब थियो। अहिले भविष्यको दबाब छ’, उनले आरसीटीको उदाहरण दिँदै भने, ‘पहिले आरसीटी १–२ अंकले रेलिगेसनमा परेको आजसम्म पनि माथि आउन सकेको छैन। त्यसैले रेलिगेसनको दबाब भयावह हुन्छ।’
च्याम्पियन भएपछिको दबाब फरक किसिमको हुने कंसाकार बताउँछन्। उपाधिलाई निरन्तरता कसरी दिने भन्ने दबाब मछिन्द्रलाई छ। अब कसरी व्यवस्थापन गर्ने भनेर क्बलबीच धेरै छलफल पनि हुने गरेका छन्।
कोरोनाले लक्ष्य चुक्यो
लिग र मोफसलको खेल गरेर मछिन्द्र लगानीको लक्ष्यअनुसार हिँडिरहेको थियो। तर कोरोनाले मोफसलका खेल प्रभावित पारिदियो। लगभग सबै रद्द हुने अवस्थामा छन्।
‘अब हामीलाई गाह्रो परेको छ। एक करोड दस लाख लिग बाहिरबाट मेन्टेन गर्नुपर्ने थियो। यसले हामीलाई घाटा गराएको छ’, उनले भने, ‘मोफसलमा फागुन र चैतमा गरेर ३–४ खेल होला र केही सहज होला भन्ने सोचेका थियौं तर त्यो हुन सकेन।’
फिफाकाे अनुदान न्यायोचित वितरण होस्
होम र अवेको निर्णय मैदानका आधारमा गरिन्छ। तर काठमाडौंमा अब मैदान बनाउँछु भन्नु असम्भवजस्तै छ।
उनी भन्छन्, ‘यहाँ जग्गा यस्तो महँगो भइसक्यो। हामी टुँडिखेलमा खेलेर हुर्किएका हौं। त्यसैले मैदान बनाउनु चुनौतीको विषय छ। कसो गर्ने हो भन्ने विचार गर्दैछौं। बनाउँदा जग्गा लिजमा लिने हो। तर लिजमा लिँदा रिटर्न आउने हो कि होइन, घाटा हुने हो कि भन्ने डर हुन्छ।'
उनी मैदानको समस्याबाट समाधान पाउन फिफाबाट आउने अनुदान र प्रोजेक्ट क्लबलाई न्यायोचित वितरण होस् भन्ने चाहन्छन्। मछिन्द्रका कुनै पनि पदाधिकारी एन्फामा गएका छैनन्।
त्यसैले एन्फाको कार्यक्रममा मछिन्द्र पछि पर्ला कि भन्ने डर उनलाई छ।
‘हामीले नयाँ स्टेडियम फिफा र एएफसीबाटै आएको पैसाले बनाउने हो। सो रकम न्यायोचित वितरण हुन सक्यो भने हामी पनि होम ग्राउन्डका मालिक हुनेछौं,’ उनले भने।
काठमाडौं छाेडेर जान सकिएला?
एन्फाले राम्रो सहयोग गर्यो भने मछिन्द्र बाहिर जान तयार रहेको बताउँछन् क्लबका अध्यक्ष कंसाकार। ‘एन्फाले अनुगमन गरोस्, तलमाथि भयो भने कारबाही गरोस्। तर खेलका लागि आउने पैसा सबैलाई समान तवरले देओस्,’ उनी भन्छन्, ‘सहयोग समान रुपले वितरण भएन र एकलौटी गर्न थाल्यो भनेचाहिँ फुटबलमा नराम्रो धक्का लाग्न सक्छ।’
जग्गा महँगो भएकाले सबै मिलेर अघि बढ्नुपर्ने उनको सुझाव छ। मैदान भएका विभागीय टोलीको रंगशाला सेयरिङ पनि गर्न सकिन्छ। मछिन्द्रले लिग अवधिभर कीर्तिपुरको ल्याब्रोटरी स्कुलको मैदान भाडामा लिएर तालिम गरेको थियो।
फ्यान फलोइङ
मछिन्द्र गत वर्षको लिगबाट विजेताको रुपमा उदाएको टिम हो। त्यसले लामो समयदेखि फुटबलमा राज गरेका मनाङ र थ्रीस्टारका जति समर्थक मछिन्द्रका छैनन्। धेरैजसो समर्थक क्लबका भन्दा पनि खेलाडीका हुन्।
त्यसैले मछिन्द्र कसरी समर्थक तान्ने भनेर साचिरहेको छ। ‘हामीले केही कार्यक्रम गर्ने सोचेका छौं। तर फ्यान बढाएर बढ्ने कुरा भने होइन रहेछ। फ्यान त हामीले निरन्तर राम्रो गर्दै गयौं भने आफैं कमाइँदो रहेछ’, कंसाकार भन्छन्।
मछिन्द्रले लिगमा जर्सी वितरण र सामजिक सञ्जालबाट टिकट बिक्री जस्ता नयाँ कामको थालनी पनि गरेको छ।
लाइसेन्सका कुरा
क्लब लाइसेन्सिङको कुरामा क्लबले प्रक्रिया अवलम्बन गरिरहेको दाबी गर्छन् कंसाकार। तर एन्फाले एकेडेमी सञ्चालन गनुपर्ने, आफ्नै मैदान हुनुपर्ने जस्ता मापदण्ड बनाएको छ।
‘त्यसमा पनि प्रयास त गर्ने हो। तर फुटबलको भविष्य सुरक्षित हुन नसक्दा हामीलाई गाह्रो परेको छ,’ अध्यक्ष कंसाकार भन्छन्, ‘लाइसेन्सका लागि एकेडेमी चलाएर अन्डर १८ र १५ का टिमहरु देखाउनुपर्ने हुन्छ। क्लबले त्यो देखाउन सकेको छैन। त्यसैले क्लबले लाइसेन्स नपाएको हो। नेपालका कुनै क्लबसँग त्यस्तो क्षमता नभएका कारण लाइसेन्सिङ प्रक्रिया नै अड्किएको छ।’
एकपटक तीन वटा क्लबले लाइसेन्सिङको फाराम भर्दा मछिन्द्र पनि थियो। ‘तर एकेडेमी राख्ने क्षमता सरकार र एन्फाले गर्न सकेका छैनन्, हामी कसरी सक्छौं?’ कंसाकारको प्रश्न छ।