‘सुरुमा त हामीले भाग लिन पाउँछौँ–पाउँदैनौँ भन्ने चिन्ता नै धेरै थियो। तर पाइन्छ होला भनेर निरन्तर तयारी भने गरिरह्यौँ। तेक्वान्दो संघले लकडाउनको बेलामा सकिँदैन भनेपछि हामी आफैँले पैसा जुटाएर सहभागी भयौं,’ जर्मनीमा आयोजित पहिलो अनलाइन डेडो ओपन युरोपियन पुम्से च्याम्पियनसिपमा भाग लिएका लक्ष्मण बहादुर ऐरले फोनमा सुनाए।
नेपालका पाँच खेलाडीले च्याम्पियनसिपमा भाग लिएका थिए। त्यसमा पार्वती गुरुङ र ऐर प्रिलिमिनरी राउन्डबाटै बाहिरिएका छन्। त्यस्तै अर्का तीन (जितबहादुर बोट, कमल श्रेष्ठ, प्रेमबहादुर लिम्बू) भने सेमी फाइनलसम्म पुगेका छन्।
कारोना भाइरस (कोभिड–१९) का कारण विश्वका झन्डै दुईतिहाइ मानिस लकडाउनमा फसेका छन्। महामारीमा पनि जर्मनीको प्रतियोगितामा घरबाटै भाग लिन पाउँदा लक्ष्मण आफू र आफ्नो टिमलाई भाग्यमानी ठान्छन्। भन्छन्, ‘धेरै ठूलो प्रतियोगिता हो यो। इतिहासमै पहिलो पटक भएको प्रतियोगितामा घरमै बसेर भाग लिन पायौँ। यसमा म आफैंलाई भाग्यमानी खेलाडी मान्छु।’
देशको झण्डाका साथमा प्रतियोगितामा भाग लिन पाउँदा लक्ष्मणले गर्व महशुस गरेका छन्। त्यस्तै आफूले बनाएको भिडियो अरु देशको भन्दा फरक रहेको उनी बताउँछन।
सहभागिताको लागि पठाएको भिडियोको बयान गर्दै उनले भने, ‘ब्याकग्राउन्डमा नेपालको झण्डा र सगरमाथासहित व्यक्तिको फोटो छ। मैले नेपाललाई सगरमाथाको देश भनेर चिनाउन खोजेको छु। नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको देश हो भनेर सन्देश दिन खोजेको छु।’
प्रतियोगितामा भाग लिनका लागि उनीहरुले व्यक्तिगत ६ वटा भिडियो तयार गनुपर्ने थियो। त्यस्तै ५ जनाले प्रतिस्पर्धा गरेको खेलमा जम्मा ३० वटा भिडियो तयार पार्नुपर्ने थियो। तयार गरे र, अप्रिल २८ मा अपलोड गरे।
भिडियो पठाएको सम्झना गर्दै लक्ष्मणले भने, ‘एकजनाको ६ वटा भिडियो तीन वटा लिंकमा पठाउनु पर्ने थियो। प्रिलिमिनरी राउन्डको दुईवटा भिडियोको एक युट्युव लिंकमा। सेमीफाइनलको २ भिडियोको एक युट्युव लिंक त्यसैगरी फाइनलको पनि पठाउनु पर्ने थियो।’
यो नै नेपाली खेलाडीका लागि नयाँ अभ्यास थियो। लक्ष्मण भन्छन्, ‘नयाँ अभ्यास हो, सुरुमा गाह्रो भयो। यसरी कहिल्यै पनि सहभागी भइएको थिएन। यसबाट हामी सबै खुसी छौं।’
युरोपमा प्रतियोगिता हुँदै छ भन्ने साथीबाट थाहा पाएका लक्ष्मणलाई आफ्नो असफलता भन्दा पनि साथीहरुको सफलतामा गर्व छ। किनभने उनले सबै खेलाडीलाई प्रतियोगितामा भाग लिनुपर्छ भनेर प्रेरणा दिए। प्रतियोगिताको कुरा तेक्वान्दो संघमा सुनाए। तेक्वान्दो संघले पनि खेलाडी छनोट गरेर उनको जिम्मा लगाइदियो। उनले नै सबै खेलाडीलाई प्रशिक्षण दिए।
‘तेक्वान्दो संघलाई भनिसकेपछि उसले सागका मेडलिस्ट खेलाडीको नाम सिफारिस गरिदियो। मैले पनि उनीहरुलाई इन्करेज गर्नेे उद्देश्यले खेलको तयारी गरेँ। यसमा प्रशिक्षण देखि लिएर भिडियो बनाएर पठाउनेसम्म सबै जिम्मा लिएर काम गरेँ,’ उनी सुनाउँछन्।
त्यसो त उनलाई कोरियन प्रशिक्षक क्योन योङ दलले सहयोग गरेका छन्। भिडियो बनाउनुअघि उनले केही सल्लाह पनि दिए। त्यस्तै ओलम्पियन दिपक विष्टले पनि उनीहरुलाई प्रेरणा दिइरहे।
आफैंभित्र जागेको खेलौं, केही गरौं भन्ने भावनाले उनीहरु प्रतियोगितामा भाग लिएको लक्ष्मण सुनाउँछन्। त्यसमाथि दल र विष्टको सहयोग छँदै थियो।
सहभागिताका लागि जर्मन बैंकमा १० यूरो जम्मा गर्नुपर्ने थियो। त्यो पनि व्यक्तिगत रुपमै तिरे। आफ्नै सम्पर्कमा भएको व्यक्तिबाट उनीहरुले बैंकमा पैसा जम्मा गरे। पैसा जम्मा भएपछि मात्र सहभागी हुन पाइनेमा उनीहरु विश्वस्त भएका थिए।
‘नभए गाह्रो थियो। लकडाउनका कारण तेक्वान्दो संघले पनि काम गर्न सकिरहेको थिएन,’ उनले लामो सास फेर्दै सुनाए, ‘हामीले दैनिक ४ घण्टा प्रशिक्षण गर्याैँ। पहिले पनि ट्रेनिङमा नै थियौं र अहिले पनि प्रशिक्षणमै छौं,’ विश्वकपमा सहभागी हुन प्रशिक्षण गरिरहेका लक्ष्मणले भने, ‘अब हामी पुन्सेको विश्व च्याम्पियनसिप पनि भिड्दैछौं। विश्वकप च्याम्पियनसिप यही आउँदो मे १० बाट १५ सम्म छ। त्यसको लागि प्रशिक्षण गरिरहेका छौं।’
उनले थपे, ‘लकडाउनमा पनि सामाजिक दूरीमा रहेर प्रक्षिणको वातावरण बनाएर त्यही अनुसार प्रशिक्षण गरिरहेका छौं। एकदम आनन्द आइरहेको छ।’
खेलाडीका लागि मैदान सधैं प्यारो हुन्छ। त्यही भावमा उनले खेलमा आनन्द देखिरहेका छन्। बरु त्यतिकै बस्नचाहिँ गाह्रो हुने लक्ष्मण बताउँछन्।
लक्ष्मण आफैंले सिनियर उमेरमा खेलेका छन्– ५० वर्षभन्दा कम। समय–समयमा खेल्न छोड्दा अप्ठ्यारो हुने उनी बताउँछन्। भन्छन्, ‘बीचमा अपग्रेड नहुँदा गाह्रो हुँदो रहेछ। धेरै स्टन्ट युवाको जस्तै बनाएको छु तर किकको पोजिसन र स्ट्रेचिङ राम्रोसँग गर्न अझै २–३ महिना लाग्ने रहेछ।’
यसको मतलब उमेर बढ्दै जाँदा रिकभरीमा पनि गाह्रो हुने उनी बताउँछन्। उनीबाहेक अन्य सबैले ३० वर्षभन्दा कम उमेर समूहमा प्रतिस्पर्धा गरेका छन्।
प्रतियोगिताको एकै विधामा सयभन्दा माथिको संख्यामा प्रतिस्पर्धी खेलाडी छन्। अन्डर–३० मा पनि सागका स्वर्ण विजेता खेलाडी सहभागी गराइएको हो। तर साग सानो प्रतिायेगिता हो। त्यसमा ५–६ जना खेलाडीसँग मात्र प्रतिस्पर्धा गर्नु परेको थियो। तर च्याम्पियनसिपमा ११२ जनाबाट ५५ जनाको छनोटमा तीन खेलाडी परेका छन्।
लक्ष्मणले भने, ‘च्याम्पियनसिपमा सहभागीमध्ये आधा सेमीफाइनलमा जाने सिस्टम थियो। जसमा तीन जना परेका हुन्। सेमीफाइनलबाट आठमा आउनुपर्छ। खेल हो, अर्को राउन्डमा जान नि सक्छ। नजान पनि सक्छ। हेरौै के हुन्छ।’
नेपाललाई त्यहाँसम्म पुर्याउन पनि गाह्रो थियो। अहिलेका लागि भाग लिनु नै ठूलो कुरा भएको लक्ष्मणले बताए। यसले विश्व च्याम्पियनसिपका लागि सहयोग गरेको उनी बताउँछन्।
प्रशिक्षक श्रेष्ठ भन्छन्– खेलाडीमा ऊर्जा बढेको छ
‘लकडाउनको समयमा खेलको जागरण गर्नु उदाहरणीय काम हो। खेलले दशको राष्ट्रियता जगाउँछ। अपनत्व महशुस गराउँछ। यो प्रतियोगिताले खेलाडीलाई उर्जा दिएको छ,’ तेक्वान्दो संघका मुख्य प्रशिक्षक नवीन श्रेष्ठ बताउँछन्, ‘लकडाउनको समयमा भएको अनलाइन प्रतियोगिता नयाँ अनुभव हो। यसको प्रभाव कस्तो हुन्छ भन्ने हामीले अहिल्यै थाहा पाउन मुस्किल नै छ।’
जर्मनीमा जारी प्रतियोगितामा ७२ देशका १२ सय ५४ खेलाडीको सहभागिता रहेको छ। सिनियर लेभलमा ६५ वर्ष माथिका खेलाडी पनि प्रतियोगितामा समावेश छन्।
प्रतियोगितामा विजयी खेलाडीको पुरस्कार र ट्रफी घरमै पठाइने आयोजकले बताएको छ।