विश्वमा सबैभन्दा धेरै समर्थक कमाएको कुनै खेल छ भने त्यो फुटबल नै हो। नेपालमा पनि फुटबलको क्रेज ठूलै छ। चाहे चाडबाडका बेला गाउँघरमा हुने ‘खसी कप’ होस् वा मोफसलको गोल्डकप, सी डिभिजनबाट ए डिभिजन लिगसम्म फुटबलको चर्चा जताततै पाइन्छ। राष्ट्रिय लिगको महत्त्व अझ बेग्लै छ।
२०७२ सालको भूकम्प र एन्फाको विवादले धरमराएको लिग फुटबल माथि उठ्न सकिरहेको थिएन। तर, यो वर्षबाट नयाँ फूर्तिसाथ नेपाली फुटबल लिग नेपाली समर्थकले पाएका छन्।
वर्षको अन्तिममा रोगको जोखिम नभएको भए त महिला लिग र राष्ट्रिय लिग समयमै हुने थिए होलान्, तर भएनन्। कोरोना भाइरसले पछिल्ला खेल रोकेको भए पनि नेपाली फुटबलमा धेरै कुरा सम्भव भएका छन्।
विश्वकप र एसिया कप क्वालिफयरको चर्चा
दशरथ रंगशाला नेपालको सर्वाधिक सुविधा भएको रंगशाला हो। त्यही रंगशालामा नेपालले विश्वकप २०२२ र एसिया कप क्वालिफायरका संयुक्त खेल खेल्नुपर्ने थियो।
यता रंगशाला निर्माणमा ढिलाइ भयो। त्यससँगै समूह बी मा रहेको नेपालले पहिला अवे खेल खेल्ने प्रस्ताव गर्यो। अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइले प्रस्ताव स्वीकार पनि गरे ।
नेपालले पहिला अवे खेल खेल्यो। विश्वकप खेलिसकेका राष्ट्रहरुसँग अवे खेल खेल्दा नेपालले चार खेलमा हार र एक खेलमा जित निकालेको छ। यसरी नेपाल चाइनिज ताइपेइलाई जितेर समूहको चौथो स्थानमा छ।
छनोट खेलमा नेपालको अवस्था
– १२ अंकसहित शीर्ष स्थानको अष्ट्रेलियासँग ५–० ले पराजित
– १० अंकसहित दोस्रो स्थानको कुवेतसँग ७–० को हार। भुटानमा भएको होम गेममा १–० गोलले पराजित।
– १० अंकसहित तेस्रो स्थान(गोलअन्तरका कारण) को जोर्डनसँग ३–० को हार।
– अंकविहीन चाइनिज ताइपेईविरुद्ध २ गोलको जित।
विश्वकप छनोटसँगै जोडिएको घटना हो– डिस्को काण्ड। असोज ३ गतेको छनोट खेल खेल्न भुटान जाने नेपाली टोलीमा रहेका चार खेलाडी त्यसतर्फ जान पाएनन्। कारण त्यही डिस्को काण्ड।
भुटान जानुअघि विमल घर्ती मगर, अञ्जव विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ रातभरी नाइट क्लब गएर बिहान एन्फा एकेडेमी पुगेका थिए। त्यसपछि उनीहरुले राति रक्सी सेवन गरेको स्वीकार गरेपछि उनीहरुलाई राष्ट्रिय टोलीबाटै हटाइयो। टोलीबाट हटाइएन मात्र, उनीहरु सबैलाई ५० हजार जरिवाना पनि गरियो र प्रतिबन्धमा समेत राखियो।
विश्वकपपछिको ठूलो महत्व बोकेको फुटबल प्रतियोगिता हो– साग फुटबल र ए डिभिजन लिग।
सागमा स्वर्ण
नेपालले साग फुटबलमा लगातार दोस्रोपटक स्वर्ण जित्यो। घरेलु मैदानमा सम्पन्न खेलमा नेपालले भुटानलाई हराउँदै साग विजेता बनेको थियो।
दशरथ रंगशालामा टनाटन भरिएका दर्शकका माझ नेपालले भुटानविरुद्ध २–१ को गोलन्तरले हराएको थियो। नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गरेका थिए।
सागमा त्यो स्वर्ण नेपालको चौथो स्वर्णसमेत थियो। यसअघि नेपालले सन् १९८४, १९९३ र २०१६ मा पनि जितिसकेको थियो।
यता महिला टोलीले सागमा रजत पदक जित्यो। त्यसअघिको नाडेज्दा कपमा पनि नेपाल उपविजेता भएको थियो।
सागमा टोलीलाई विजेता बनाउन नसकेको भन्दै महिला प्रशिक्षक हरि खड्काले राजीनामा दिएका थिए।
‘ए’ डिभिजन लिगमा मछिन्द्रको उदय
क्लब नयाँ भए पनि ए डिभिजन लिग जित्ने खेलाडी पुरानै थिए। विराज महर्जनले कप्तानी सम्हालेको मछिन्द्र क्लब नेपाली फुटबलमा ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो। र, बन्यो लिगको ४२ औं विजेता पनि।
सिंगल राउन्ड रोबिनमा सञ्चालित लिगको अन्तिम खेलमा आर्मीलाई हराएर उसले ट्रफी हात पार्यो। मछिन्द्रले लिगमा एक मात्र हार बेहोर्यो, हिमालयन शेर्पासँग। अन्य दुई खेलमा बराबरी खेलेर १० खेल जित्यो।
लिग सकिँदा मछिन्द्रसँग ३२ अंक र दोस्रो भएको आर्मीसँग २९ अंक थियो। उसले लिग जितेपछि मछिन्द्र टोलका अगुवाले पनि क्लबलाई स्याबासी दिएका थिए।
तर, मनाङ र थ्रीस्टारबाट हेविवेट ल्याएर आफू बलियो भएको मछिन्द्रको मनाङविरुद्धकै खेलमा झगडा पर्यो। त्यसपछि उसका केही खेलाडी निलम्बनमा परे। मनाङमा पनि परे। जरिवाना पनि तिर्नुपर्ने भएको थियो।
लिगमा सन्तोष, भरत र आशिष चर्चित
विगत १६ वर्षबाट ए डिभिजन लिग खेलिरहेका सन्तोष साहुखलले यो सिजनमा सयको आँकडा पूरा गरे। उनले पुस २३ गते सय गोल पुरा गर्दै राष्ट्रिय कीर्तिमानसमेत कायम गरे।
सातदोबाटोको एन्फा मैदानमा उनले पुलिसविरुद्ध १८ औं मिनेटमा गोल गर्दै सय गोल गरेको उत्सव मनाए। च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोषले यो सिजन पनि ७ गोल गरेका छन्। ७ गोल गरेर लिगमा दोस्रो शीर्ष गोलकर्ता समेत बनेका थिए सन्तोष।
‘सन्तोष दोस्रो बने भने पहिलो को ?’ भन्ने प्रश्नको उत्तर हुन्छ– सशस्त्र प्रहरीको विभागीय टिम एपीएफका आशिष लामा। उनले लिगमा ९ गोल गरे। सर्वाधिक गोल गरे पनि आशिष लिगको उत्कृष्ट फरवार्ड बन्न सकेनन्।
लिगको अन्तिम दिनको खेल सकिँदा उत्कृष्ट फरवार्डको घोषणा हुँदै थियो। उत्कृष्ट फरवार्डको नाम लिनुभन्दा अघि मानिसहरु आशिष लामाको नाम लिएर कराइरहेका थिए। उनीसँगै केही अन्य खेलाडीको पनि नाम पनि दर्शकदिर्घाबाट आइरहेका थिए।
तर, पुरस्कार वितरण कार्यक्रमका सञ्चालकले आशिषको नाम लिएनन्। उनले विभागीय टिम आर्मीका कप्तान भरत खवासको नाम लिए।
भरत बेस्ट फरवार्ड घोषित भए।
सो कार्यक्रमपछि भरतले गोल स्कोरिङका आधारमा उपाधि नदिइने र जसले मेहेनत गर्यो, उसले उपाधि हात पारेको भन्दै खुसी व्यक्त गरेका थिए।
म्याच फिक्सिङबारे चर्चा
एन्फा मैदानमा ए डिभिजन लिगको नवौं चरणका खेलहरु चलिरहेका थिए। एक दिन गन्ध आयो मिलेमतोको। तालिकाको पुछारमा रहेको सरस्वती क्लबका कप्तान दिपेश श्रेष्ठले हिमालयन शेर्पा क्लबका किपर मीन बस्नेतलाई मिलेमतोको लागि गरेको कुरा एक कान दुई कान मैदान बन्यो।
‘लिग विजेता क्लब मछिन्द्रलाई हराउन सक्ने क्लबले लिगकै कमजोर क्लबसँग कसरी हार्न पुग्यो?’ यस लिगमा सबैभन्दा महत्वपूर्ण र अनुत्तरित प्रश्न यही बन्यो।
एन्फाले केही समयपछि गरेको कारबाहीले पनि सो प्रश्नको उत्तर दिएन। तर, सरस्वतीका कप्तान र हिमालयन शेर्पा क्लबमा मेनेजर विजेन्द्र पुडासैनी कारबाहीमा परे। कप्तान श्रेष्ठ ५० हजार जरिवानासहित २ वर्ष प्रतिबन्धमा परे भने मेनेजर पुडासैनी ३० हजारसहित तीन महिना प्रतिबन्धमा परे। किपरलाई भने चेतावनी दिएर छोडियो।
अन्त्यमा, सरस्वती युथ क्लब रेलिगेशनमा पर्नबाट कसैले बचाउन सकेन।
अन्योलमा बी डिभिजन
अन्य खेल रोकिइसक्दा पनि आर्थिक नोक्सानीको कारण देखाउँदै एन्फाले ‘बी’ डिभिजन लिग सञ्चानल गरिरहेको थियो। तर, चैत पहिलो साता राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कुनै खेल नगर्न आदेश दिएपछि एन्फाले चैत ४ गते एक हप्ताका लागि लिग स्थगित गर्यो।
१२ गतेबाट पुनः सुरु गर्ने भनिएको लिग कोरोनाको जोखिम कायमै रहेका कारण पुनः हुन सकेको छैन।
नेपालमा मात्र होइन, विश्वमै सयौं खेलहरु रोकिएका छन्। जोखिम घटेको छैन। अझ भनौं यसको संक्रमण बढिरहेकै छ। यस्तो अवस्थामा बी डिभिजनमा अन्योल पैदा भएको छ।
मोफसल
‘लिग रोकिँदा फुटबल विकासको आधार के?’ यसको सजिलो उत्तर छ मोफसलका प्रतियोगिता।
१८ वर्षबाट चल्दै आएको आहा रारा गोल्डकप, ६ वर्षबाट लगातार भइरहेको माईभ्याली, सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्डकप, बुढासुब्बा गोल्डकप मोफसलका चलेका प्रतियोगिता हुन्। ०७० सालयता लिग रोकिँदा नेपाली राष्ट्रिय खेलाडी छनोटमा मोफसलले धेरै सहयोग गरेको थियो।
त्यस्तै यो वर्ष पनि मोफसलका धेरै प्रतियोगिता सञ्चालन भए। माथि उल्लेखित बाहेक पनि सताक्षी गोल्डकपलगायत पनि दर्जनौं प्रतियोगिता भएका छन्। यसले देशैभरी फुटबल विकासमा सहयोग गरेको छ।
यो साल मोफसलमा भएको खेलमा आयोजक सुदूरपश्चिमले पहिलोपटक खप्तड गोल्डकप जित्यो। त्यस्तै, मछिन्द्र क्लबले पनि पहिलोपटक सताक्षी गोल्डकप र माइभ्याली गोल्डकप जितेको छ। बुढासुब्बा गोल्डकप भने पुलिस क्लबले जित्यो। यता आहा रारा गोल्डकपमा मनाङले कब्जा जमायो।
कोरोनाको प्रभाव र टाढिएको अवसर
यही वर्ष घरेलु मैदानमा हुने अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्धको खेल हेर्न नेपाली फ्यान आतुर थिए। आयोजना थियो एसियन फुटबलको सर्बोच्च निकाय एएफसीको। तर, सफल भएन।
कोरोनाका कारण विश्वकप खेलिसकेको अष्ट्रेलियासँगको होम म्याच टाढियो। नेपाली दर्शक चुकचुकाए।
कोरोनाकै कारण एन्फाले आयोजना गरेको महिला लिग र सी डिभिजन पनि सर्यो। त्यस्तै राष्ट्रिय लिग पनि अनिश्चित बनेको छ।
खेलमा तमाम अनिश्चितताका बाबजुद पनि एन्फा समय–समयमा विवादमा तानिरहन्छ। अहिले पनि एन्फा विवादमै छ। त्यसैले त कहिलेकाहीँ विजेता क्लबकै अध्यक्षले भनिदिन्छन्– ‘फुटबलमा लगानी भनेको जुवा हान्नुजस्तै हो।’