वर्ष २०७६ समापनको संघारमा छ। वर्षको अन्तिम महिना कोरोना भाइरसका कारण पूरै देश बन्दाबन्दी (लकडाउन) मा छ। चैत ११ गतेदेखि लागू भएको लकडाउन वैशाख ३ गतेसम्म जारी छ।
त्यसअघि चैत पहिलो साता नै सरकारले सम्पूर्ण खेल गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो। यसका कारण समग्र खेल क्षेत्र प्रभावित छ।
त्यसो त ०७६ साल नेपाली क्रिकेटका लागि महत्वपूर्ण रह्यो। सम्झनालायक धेरै खेल भए। यद्यपि, वर्षको अन्तिमतिर भएका केही खेलमा भने नेपालले उत्कृष्ट प्रस्तुति दिन सकेन।
क्रिकेटको विकासका लागि अत्यावश्यक थियो– नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा। जुन काम अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले यही वर्ष गरिदियो। त्यस्तै, नेपालमा लिग–२को आयोजना भयो त्रिवि क्रिकेट मैदानमा ।
मलेसियासँग टी–२० शृंखला
वर्षको सुरुमै अन्तर्राष्ट्रिय खेलमा नेपालले ऐतिहासिक सफलता हात पार्यो– मलेसियालाई उसकै घरेलु मैदानमा क्लिन स्विप गरेर।
पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ रनले हराउँदै नेपालले टी–२० खेलमा ऐतिहासिक सफलता हात पारेको हो। एक दिवसीय मान्यता पाएपछि छोटो फर्मको खेलमा नेपालको यो ठूलो जित सावित भयो।
प्रधानमन्त्री कप
वर्षको सुरु, जेठमा आयोजित प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितासँगै राष्ट्रिय क्रिकेट खेल सुरु भयो। कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस विजयी भएको थियो।
जेष्ठ २५ गते विभागीय डर्बी आर्मीलाई ४ विकेटले पराजित गर्दै उसले उपाधि कब्जा गरेको थियो।
त्यसपछि मनसुन सुरु हुने भएकाले क्रिकेटका लागि त्यति उपयुक्त समय मानिँदैन। त्यसपछिको नेपाली क्रिकेटको लय क्यान निर्वाचनमा ठोकिन्छ।
क्यान निर्वाचन
असोज ११ गते क्यानले निर्वाचन गर्यो। चतुरबहादुर चन्द विजयी बने। चन्दले त्यसअघि अध्यक्ष रहेका विनयराज पाण्डेलाई २९ मतले हराएका थिए।
निर्वाचनमा विजयी भएका उपाध्यक्ष रालुबाबु श्रेष्ठ, सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन सिंहका साथै केन्द्रीय सदस्यहरु पनि उनकै प्यानलका थिए।
निर्वाचनले क्यानको निलम्बन फुकुवाको आश गरिएको थियो। त्यसका लागि नवनिर्वाचित टोलीले निकै प्रयास गर्यो। बैठक बस्यो, टिमवर्क देखायो र आईसीसीको नियमित सम्पर्कमा बस्ने काम गरिरह्यो।
सिंगापुर त्रिकोणात्मक सिरिज
निर्वाचन भइरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुरमा त्रिकोणात्मक सिरिज खेल्दै थियो।
जिम्बाबे र आयोजक सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्न सकेन। नेपाल जिम्बाबेसँसग दुवै खेलमा पराजित भयो।
नेपालको खातामा ३ अंक मात्र जम्मा भयो। सिंगापुरसँगको पहिलो खेलमा नेपालले ९ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा वर्षा बाधक भयो। र, अंक बाँड्नुपर्यो।
ओमनमा सम्पन्न पेन्टाङ्गुलर सिरिज
त्रिकोणात्मक शृंखला सकिएपछि सिंगापुरबाट नेपाली टोली ओमन गयो– पेन्टाङ्गुलर शृंखला खेल्न।
आयोजक र नेपालसहित नेदरल्यान्ड्स, आयरल्यान्ड, हङकङ सहभागी सिरिजमा नेपालले औसत प्रदर्शन गर्यो।
टी–२० मा आफूभन्दा कम बरियता भएका राष्ट्रसँग नेपालले राम्रो प्रदर्शन गर्न नसकेको चर्चा सर्वत्र फैलियो। नेपालले त्यतिबेला २ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो। आयोजक ओमनले जितेको सिरिजमा आयरल्यान्ड दोस्रो भएको थियो। नेपाल तेस्रो हुँदा नेदरल्यान्ड्स र हङकङ क्रमशः चौथो र पाँचौ भएका थिए।
सःशर्त निलम्बन फुकुवा
२०७३ साल वैशाखमा क्यान निलम्बनमा परेको थियो। त्यसबेला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आर्थिक पारदर्शिताबारे प्रश्न उठाइरहेको थियो। त्यही बेलायता राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले क्यानको समानान्तर समिति गठन गरिदियो।
त्यसपछि आन्तरिक राजनीतिक चेपुवा दोस्रो कारण देखाउँदै क्यान निलम्बनमा पर्यो। निलम्बनमा परेको लामो समयपछि आईसीसीले क्यानको निर्वाचन निलम्बन फुकुवाको बाटो हुने बतायो र क्यानले निर्वाचन गर्यो।
त्यसपछि हो क्यान निलम्बन फुकुवा भएको। निर्वाचनको १६ दिनपछि गरिएको फुकुवामा पनि सर्तहरु राखिएको सचिव प्याकुरेल बताउँछन्। सर्तहरु स्पष्ट नबताइए पनि आर्थिक पारदर्शिता र प्रशासनसम्बन्धी शर्त रहेको आँकलन गरिएको छ।
मल्लको कप्तानी
१० वर्ष राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारस खड्काले असोज २८ गते राजीनामा गरे।
खड्काले नेपाली क्रिकेटमा माउ संस्था आएको र उसले क्रिकेटलाई उज्ज्वल बाटोतर्फ लौजाने भन्दै राजीनामा बुझाएका थिए। नेपाली फ्यानले सर्वाधिक रुचाएका कप्तानको राजीनामापछि उनले कमिटेड भिजन राखेर अघि बढ्नुपर्ने भन्दै समर्थकको चित्त बुझाएका थिए।
त्यसपछि (कात्तिक १३ यता) नेपाली क्रिकेट ज्ञानेन्द्र मल्लको कप्तानीमा चलिरहेको छ।
उनले कप्तानी सम्हालेपछि नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेट खेल्यो। इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमएमसी)सँग खेल्दा मल्लले कप्तानको रुपमा डेब्यू गरे।
त्यसअघि नेपालले सन २००५ मा अन्तर्राष्ट्रिय स्तरको प्रथम श्रेणीको क्रिकेट खेलेको थियो।
पटबालको राजीनामा
माघ २० मा नेपाली क्रिकेटका मुख्य प्रशिक्षक उमेश पटबालले राजीनामा दिएको कुरा बाहिर आयो। दुई दिनपछि घरेलु मैदानमै ओडीआई खेल सुरु हुने थियो। तर उनको राजीनामाबारे वास्तविक खबर बाहिर आएन। हल्लाले नेपाली क्रिेकट समर्थकलाई निराश बनायो।
उनले लिग २ को प्रतियोगिता सकिएपछि लागू हुने गरी राजीनामा दिएका थिए। त्यसपछिको प्रतियोगिताका लागि अन्तरिम कोचको रुपमा जगत टमाटालाई चुनिएको छ।
तर उनको कोचमा थाइल्यान्ड गएको नेपाली टोलीले चित्तबुझ्दो खेल देखाउन सकेन। अहिले क्यानले नयाँ कोच कसलाई बनाउने भन्नेबारे आन्तरिक तयारी गरिरहेको छ।
अन्जली चन्दको कीर्तिमानी
सागमा नेपाली महिला क्रिकेटकी अन्जली चन्दले कुनै रन नखर्चिँदै छ विकेट लिइन्। उनको ६ विकेटसँगै नेपालले मादिभ्सलाई १० विकेटले हरायो।
उनले सातौं, नवौं र एघारौं ओभरमा मेडन राख्दै क्रमशः तीन, दुई र एक विकेट लिइन्।
सो खेलमा नेपालले एक ओभर पनि पूरा नखेली लक्ष्य भेट्टाएको थियो। १७ रनको लक्ष्य पछ्याएको नेपालका लागि करुण श्रेष्ठले ०.५ ओभरमै १३ रन बनाइन् भने ४ रन अतिरिक्त प्राप्त भयो।
र, नेपालले काश्य पदक जित्यो। पुरुष क्रिकेटमा पनि नेपालले काश्य पदक प्राप्त गरेको थियो।
त्रिकोणात्मक सिरिज
एक दिवसीय विश्वकप २०२३ पुग्ने बाटो हो, विश्वकप लिग २ । त्यसअन्तर्गतको त्रिकोणात्मक शृंखला नेपालले गएको माघ २२ बाट २९ गतेसम्म आयोजना गर्यो। यो आयोजना क्यानका लागि तदरुकता देखाउने बाटो बनेको थियो। नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानको ओडिआईलाई अवसरका रुपमा पायो।
माघ २९ सम्म चलेको प्रतियोगितामा नेपालले मिश्रित नतिजा निकाल्यो– २ जित २ हारको। नेपालले ओमनसँग दुवै खेल हार्यो। अमेरिकालाई दुवै खेलमा पराजित गर्यो।
कुशलको कीर्तिमान
घरेलु ओडिआईको दोस्रो खेलमा युवा ब्याट्समेन कुशल मल्लले डेब्यू गरे। डेब्यू खेलमै उनले एसोसिएट राष्ट्र अमेरिकाविरुद्ध अर्धसतक बनाए। उनको त्यो ५० रन कीर्तिमानी अर्धशतक बन्यो।
क दिवसीयमा विश्वकै सानो उमेरमा अर्धसतक बनाउने खेलाडी बने कुशल। उनले १५ वर्ष ३ सय ४० दिनको उमेरमा अमेरिकाविरुद्ध अर्धसतक हाने। जसले अघिल्लो जुन २६ मा रोहित पौडेलले बनाएको रोकर्ड तोड्यो। रोहितले युएईविरुद्ध ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाएका थिए।
रोहितअघि यो रेकर्ड पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदिको नाममा थियो। आफ्रिदिले १६ वर्ष दुई सय १७ दिनको उमेरमा अर्धसतक प्रहार गरेका थिए। त्यो रेकर्ड १६ वर्ष एक सय ४३ दिनको रोहितले तोडे।
माघ २३ गते, अमेरिकाविरुद्ध नेपालको ब्याटिङ लाइन राम्रो चलिरहेको थिएन। नेपालले सुरुमै लगातार विकेट गुमाइसकेको थियो। तर जब कुशल आए नेपालको जित सम्भव भयो।उनले ५२ बलमा ५० रन बनाएर आउट भए।
यसरी एकै वर्षमा नेपाली दुई ब्याट्समेनले रेकर्ड बनाए तर एकको गुम्यो र अर्काको कायम रह्यो।
एसीसी इस्टर्न रिजनमा फितलो प्रदर्शन
एसिया कप खेल्ने नेपालको सपना यो सिजनका लागि सपनामै सीमित बन्यो। एसीसी इस्टर्न रिजन खेल्न थाइल्यान्डको बैंकक गएको राष्ट्रिय टोलीले फितलो प्रदर्शन गर्यो। फलतः एसिया कप गोजीबाटै खोसियो।
उपाधि दावेदार मानिएको नेपालले जति खेल खेल्यो । उसको च्याम्पियन बन्ने सपना गुम्दै गयो। अन्त्यमा थाइल्यान्डबाहेक कुनै टोलीलाई नजिती राष्ट्रिय टोली नेपाल फर्कियो।
नेपाल त्यो प्रतियोगिताको शीर्ष दुईमा परेको भए उसले एसिया कपको अन्तिम छनोटमा भाग लिन पाउने थियो, तर पाएन। जीतविहिन रहेको थाइल्यान्डबाहेक नेपालले मलेसिया, हङकङ र सिंगापुरलाई हराउन सकेन। र, ज्ञानेन्द्र मल्लको कप्तानीका साथै नेपाली ब्याटिङ लाइन फेरि एकपटक धरमरायो।
मोफसलमा क्रिकेट
यो वर्ष मोफसलमा केही ठूला प्रतियोगिता भए। प्रधानमन्त्री कप महिला एक दिवसिय क्रिकेट प्रतियोगिता, पोखरा प्रिमियर लिगका साथै इनरुवामा भएको एमएम कप यो वर्षका मुख्य क्रिकेट प्रतियोगिता हुन्।
गत असारमा सम्पन्न पिएम महिला कपमा सशस्त्र प्रहरीले जित निकालेको थियो। जितसँगै उसले चार लाखको पुरस्कार पायो। त्यस्तै, विराटनगरलाई हराउँदै पोखरा प्रिमियर लिगको अन्तिम सिजनमा चितवनले उपाधि जित्यो।
इनरुवामा सम्पन्न मनमोहन मेमोरियल एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागीय डर्बीमा आर्मीले पुलिसलाई ८५ रनले पराजित गर्दै उपाधि जितेको हो।
माघ ४ गते सम्पन्न उक्त प्रतियोगितापछि यो वर्षका मोफसलका ठूला प्रतियोगिता सकिए।
कामको लयमा क्यान
निलम्बन फुकुवासँगै क्यानले खेलाडीका लागि विधान बनाउनु पर्ने छ। त्यसअनुसारकै अनुशासन समिति पनि बनाउनु पर्छ।
खेलाडीलाई खेलमा हौसला बनाइराख्नका लागि सेवा सुविधाको जोहो पनि क्यानले गनुपर्ने छ। त्यस्तै हौसलाले मात्र पुग्दैन, उनीहरुलाई व्यस्त पनि बनाउनु पर्छ। जसका लागि धेरैभन्दा धेरै खेल खेल्ने व्यवस्था क्यानले पनि गर्नुपर्छ।
खेलाडीले उमेर छउन्जेल मात्र खेल्न सक्छन्। उमेर ढल्किँदै गएपछि आराम चाहिन्छ। खेल जीवनभरीको थकान मेट्दै आराम गर्ने वातावरण पनि क्यानकै जिम्मेवारीका रुपमा खेलाडीले लिएका छन्।
यता, क्यान ब्युँतिएपछि केही महिनासम्म आफ्ना गतिविधि सञ्चालन गर्न सकेन। देशको सबै ध्यान मंसिर २४ सम्म आयोजित दक्षिण एसियाली खेल (साग)मा परेकाले उसले आफ्ना गतिविधि अघि बढाउन पाएको थिएन।
जब साग सकियो, उसले कार्य योजनाको थालनी गर्यो। आफ्नो कामसँगै आईसीसीको योजनामा पनि सहयोग गर्नुपर्ने भयो। र, विश्वकप क्रिकेट छनोट अन्तर्गत लिग २ को त्रिकोणात्मक शृंखला सञ्चालन गर्यो।
क्यानले ग्रासरुटबाटै क्रिकेटलाई मजबुत बनाउने काम थाल्दै थियो। कोरोनाको जोखिमले पूरै मुलुकलाई छोपिदियो। क्रिकेटका सम्पूर्ण गतिविधि स्थगित भए।
कोरोनाको कहर
फेरि फर्कौं कोरोनामै । कोरोनाका कारण वर्षको अन्त्यमा खेलाडीले मैदानमा क्रिकेट खेल्न पाएनन्। क्रिकेटका टी–२० र एक दिवसिय कोरोना भाइरसले नै सोहोर्यो। क्रिकेटमात्र नभएर विश्वमै छक्का र चौकाको शृंखला कोरोना भाइरसले रोकिदियो।
एभरेष्ट प्रिमियर लिग (इपिएल)को यो वर्षको सिजनमा विश्वमा गनिएका खेलाडी आउने भनिएको थियो। तर इपिएललाई पनि कोरोनाले यो वर्षको बाउन्ड्री कटाइदियो। कोरोनाका कारण नेपाली क्रिेकट फ्यानका लागि चुकचुकाउने क्षण यही भयो।
त्यसपछि प्रदेश छनोट र अन्तिम घडीमा पुगेको जिल्ला छनोट पनि रोकियो। जब क्यानले मार्च १९ बाट सबै क्रिकेट गतिविधि अर्को सूचना नआएसम्मका लागि रोकिदियो।
कोरोनाकै कारण नामिबियामा हुने नेपाल, आयोजक र स्कटल्यान्डबीचको त्रिकोणात्मक शृंखला पनि स्थगित भएको छ।
पुरस्कार कोरोना संक्रमण रोकथाम कोषमा
खेल नभएपछि खेलाडी र खेल संस्था पनि अलमलमा परे। त्यसैबीच समाचार आयो– क्रिकेटरको पुरस्कार कोरोना राहत कोषमा।
क्रिकेट खेलाडी संघ( सिप्यान)ले पाँच विधामा खेलाडीलाई सम्मान गर्दै आएको थियो। उसले यो वर्ष खेलाडीलाई पुरस्कृत गर्ने बराबरको रकम ४ लाख ६२ हजार कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
त्यस्तै लेग स्पिनर सन्दीप लामिछानेले पनि कोरोना रोकथामका लागि सरकारको खातामा एक लाख जम्मा गरेका छन्।