राष्ट्रिय महिला क्रिकेट टोली इंग्ल्यान्डकी कप्तान हुन्, हेथर नाइट। उनले अष्ट्रेलियामा सम्पन्न महिला विश्वकपमा इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याएकी थिइन्।
सेमिफाइनलमा भारतसँग इंग्ल्यान्डले नखेलीकनै हार बेहोर्यो। हेथरले भनिन्, ‘खेलेर हारेको भए खुसी हुने थियौं होला। तर नखेली प्रतियोगिताबाट बाहिरिनुपर्दा दुःख लागेको छ।’ त्यसैले जो कोहीेले पनि भन्न सक्छ, क्रिकेटप्रति उनको लगाव सम्मानयोग्य छ।
तर, अहिले भने उनलाई क्रिकेटभन्दा पनि अरुलाई सेवा गर्ने काम प्रिय लाग्न थालेको छ। मानिसको स्वास्थ्य राम्रो होस् भनेर उनी जीवन रक्षाका लागि सहयोगी बनेकी छिन्।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)मा हेथर स्वयंसेविका बनेकी छिन्। खेलाडी बनेर खेल मैदानमा चम्किने उनी हाल स्वास्थ्य सेवा दिनमा व्यस्त छिन्।
सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोना भाइरसका कारण विश्वका अधिकांश मानिसको दैनिकी यसैगरी फेरिएको छ।
खेलाडीले खेल्न पाएका छैनन्। यातायात ठप्प भएपछि मानिसको आवतजावत शून्य छ। व्यापार व्यवसायमा पनि मन्दी छाएको छ।
यस्तो संकटको घडीमा पनि खेल संस्था र खेलाडी भने निष्क्रिय भएर बसेका छैनन्। उनीहरु आफूलाई रोगको जोखिमबाट टाढा राख्नुका साथै अरुलाई सहयोग पनि गरिरहेका छन्। कतिले कोरोना रोकथामका लागि सामग्री पनि बाँडिरहेका छन् त कतिले पूर्वाधार सहयोग गरेका छन्।
केही खेलाडी च्यारिटी इभेन्ट आयोजना गरेर रकम जुटाइरहेका छन्। केही खेलाडीले आफ्नै तलब घटाएर डोनेसन दिएका छन्।
त्यस्तै कोही चाहिँ क्राउड फन्डिङ गरेर र केहीले आफ्नो सामान लिलामी गरेर पैसा जुटाइरहेका छन्। केही फेडेरेसनले २००–३०० करोड रकम पनि सहयोग गरिसकेका छन्।
हेथर जस्तै केही खेलाडी आआफ्नो देशको स्वास्थ्य सेवामा जुटेका छन्। फुटबल रेफ्री एन्थोनी टेलस पनि एनएचएसमा स्वयंसेवक बनेका छन्। उनीहरुले औषधि बाँड्ने र मानिसहरुलाई रोगविरुद्ध जागरुक बनाउने काम गर्ने छन्।
तलब काटेर कोरोनाविरुद्ध सहयोग
इटालियन लिग सिरी एको साविक विजेता युभेन्टसका खेलाडी चार महिनाको तलब त्याग्न सहमत भएका छन्। बुन्डसलिगा अन्तर्गत बायर्न र बोरुसियाका खेलाडीले पनि आफ्नो तलबमा कटौती गर्दै कोरोनाविरुद्ध लड्नका लागि प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
त्यस्तै हिजो (सोमबार) स्पेनिस क्बल बार्सिलोनाका खेलाडीले ७० प्रतिशत तलब घटाएर रोगविरुद्ध लड्न सहयोग गर्ने बताएका छन्। अरु क्लबले पनि कोरोनाका विरुद्धमा सहयोग गरेका छन्।
व्यक्तिगत सहयोग
कारोना विरुद्ध धेरै खेलाडी व्यक्तिगत सहयोगमा जुटेका छन्। रोनाल्डोले आफ्ना सबै होटललाई अस्पताल बनाए । एक मिलियन यूरो त रकम नै सहयोग गरे। नेपालमा क्रिकेटर सन्दीप लामिछानेले एक लाख रुपैयाँ कोरोना रोकथाम र नियन्त्रण कोषमा सहयोग गरे। सबै खेलाडीले आफ्ना तरिकाले सहयोग गरिरहेका छन्।
लियोनल मेस्सीले एक मिलियन यूरो मेडिकल सेन्टर बनाउन दिएका छन्।
भारतीय खेलाडीहरुले प्रधानमन्त्री र मुख्यमन्त्री रिलिफ फन्डमा ठूलो मात्रामा सहयोग गरेको भारतीय मिडियाले बताउँदै आएका छन्।
खेल संस्था सामाजिक काममा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सरकारलाई चाहिएको खण्डमा आफ्ना पूर्वाधार क्वारेन्टाइन बनाउन सरकारलाई अनुरोध गरेको छ। यसका साथै बाँकेको कोहलपुरमा रहेको एन्फाको भवनमा ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
बोर्ड अफ क्रिकेट कन्ट्रोल फर इन्डिया (बीसीसीआई)ले ५० करोड रुपैयाँ पीएम रिलिफ फन्डमा सहयोग गर्ने बताएको छ।
ब्राजिलको सिओ पाउलोमा रहेको पेकाम्बू स्टेडियमलाई ओपन एयर हस्पिटल बनाइएको छ।
इंग्लिस क्लब म्यान्चेस्टर सिटीसहित केही फुटबल क्लब र रुग्बी क्लबले पनि स्टेडियमलाई अस्पतालको रुपमा प्रयोग गर्नका लागि आह्वान गरेका छन्।
ला लिगाको अनलाइन म्युजिक फेस्टिवल
स्पेनिस लिग ला लिगाले मानिसलाई घरमै बसेर हेर्नको लागि अनलाइन म्युजिक फेस्टिबल सम्पन्न गर्यो।
सर्जियो रामोस, गेरार्ड पिक, स्यान्टी काजार्ला, राफेल नाडाल लगायतका खेलाडी अनलाइन ग्लोबल म्युजिक फेस्टिबलमा जोडिएका थिए। उनीहरुसँगै कलाकार पावलो लोपेज, डेबिड बिस्बल र एन्टोनियो जोस पनि फेस्टिबलमा सहभागी बने।
यो फेस्टिबल ला लिगा टीभी र यसको सामाजिक सञ्जालमा उपलब्ध थियो। लिगको यो फेस्टिबलबाट उठेको रकम कोरोनाविरुद्ध मेडिकल सामग्री किन्नका लागि प्रयोग गरिने बताइएको छ।
जर्सी बनाउने कम्पनी मास्क बनाउँदै
मेजर लिग बेसबलको अफिसियल जर्सी र युनिफर्म बनाउने कम्पनीले मास्क र गाउन बनाउन थालेको छ। कोरोनाको जोखिम कम गर्न मास्क आवश्यक भएकाले कम्पनीले सो काम गर्न थालेको हो।
उसले मास्क मानिसहरुलाई विना पैसा उपलब्ध गराउँदै आएको छ।
(एजेन्सीहरुको सहयोगमा)