अहिले करिब–करिब विश्व नै लकडाउन (बन्दाबन्दी) को अवस्थामा छ। नेपालमा पनि पाँचजनामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । त्यसमध्ये एकजना संक्रमणमुक्त भइसकेका छन्। संक्रमित पाँचैजना विदेशबाट आएका हुन्।
कोभिड–१९ फैलिन नदिन र यसको जोखिम कम गर्न सरकारले २५ चैतसम्म मुलुकभर बन्दाबन्दी गरेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि सरकारका काम कारवाहीबाट भने आम नागरिक विश्वस्त हुन सकिरहेका छैनन्। उनीहरु तीन तहकै सरकारको सही सक्रियता र चुस्त व्यवस्थापन खोजिरहेका छन्।
यही सेरोफेरोमा प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईसँग नेपाल समयका लागि मस्त केसीले गरेको टेलिफोन वार्ताः
कोभिड–१९ को जोखिम कम गर्न प्रदेश–१ सरकारले के गरिरहेको छ?
प्रदेश– १ मा अहिले सम्म कसैमा पनि संक्रमण देखिएको छैन। अहिलेसम्म गरिएका ३० परीक्षणको नतिजा नेगेटिभ आएको छ। शंकास्पद लक्षण भएकाको जाँचलाई तीव्रता दिएका छौं।
अहिलेसम्म तीन हजार बेड क्षमताका क्वारेन्टाइन तयारी अवस्थामा छन्। करिब ३०० लाई क्वारेन्टाइनमा राखिएको छ। करिब ३०० आइसोलेसन वार्ड बनाइएको छ। प्रदेश सरकारले बनाएको ५० आइसोलेसन बेड क्षमताको अस्थायी अस्पताल तीन दिनभित्र सञ्चालनमा आउँदैछ। सुरक्षा निकाय, स्थानीय सरकारसँग निरन्तर सम्पर्कमा छौं।
क्वारेन्टाइनमा आधारभुत सुविधाबारे कति ध्यान पुर्याउनु भएको छ?
यसमा हामी गम्भीर छौं। पौष्टिक खानपान र स्वच्छ पानीको व्यवस्था गरिएको छ। उज्यालो र पर्याप्त हावा छिर्ने खालको क्यारेन्टाइन बनाएका छौं। स्रोत साधन र क्षमताले भ्याएसम्म कुनै कन्जुस्याइँ गरिएको छैन। तै पनि कहीँ कतै गल्ती भएको हुनसक्छ। त्यसलाई सुधार्दै जानेछौं।
सरकारी अस्पतालको अवस्था कस्तो छ? स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीको व्यवस्थापन तथा निजी अस्पतालको प्रयोगबारे के भइरहेको छ?
केन्द्र सरकारबाट प्राप्त एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) सबै अस्पतालमा वितरण भइसकेको छ। हामीसँग भएका अन्य सुरक्षा सामग्रीहरू अस्पतासम्म पुर्याएका छौं।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कोभिड–१९ परीक्षण सुरु भइसकेको छ। काठमाडौ उपत्यका बाहिरको यो पहिलो ल्याब हो। म आफैं निरीक्षणमा पुगेर फर्केको छु।
अहिलेसम्म निजी अस्पतालको प्रयोगका विषयमा निर्णयमा पुगेका छैनौं। आवश्यकता पर्यो भने राज्यले जुन बेला पनि प्रयोग गर्नसक्छ। अहिल्यै आवश्यकता नपरे पनि निजी अस्पताललाई तयारी अवस्थामा रहन आग्रह गरेका छौं।
अत्यावश्यक वस्तुको आपूर्ति र वितरणको अवस्था कस्तो छ?
खाद्यान्नको अभाव छैन। औषधि पसल, खाद्यान्न, डेरी, तरकारी तथाफलफूल पसल खुला राख्नु भनेका छौं तर, सुरक्षा मापदण्ड अपनाएर। पानी, औषधि, खाद्यान्न, तरकारीलगायत अत्यावश्यक सामग्री बोक्ने गाडीलाई पासको व्यवस्था गरिएको छ।
तर, पनि जनतालाई केही अप्ठ्यारो भएकै छ। यो सब हाम्रै सुरक्षा र स्वास्थ्यको लागि भनेर सबैले बुझिदिनुपर्यो। अत्यावश्यक सामग्री चाहिए जति सक्यो छिटो र नजिकको पसलमा पुगेर फर्किने गर्नुपर्यो। भिडभाड गर्नै भएन।
न्यून आए भएका परिवारको लागि केही सोच्नुभएको छ?
स्थानीय सरकारको सहकार्यमा विवरण संकलन भइरहेको छ। आवश्यक केही ठाउँमा दाल, चामललगायतका सामग्री बाँडिएको पनि छ। अतिविपन्न भए पनि गाउँमा बसिरहेकाहरूलाई समस्या परेको गुनासो अहिलेसम्म आएको छैन।
बजार तथा सहरी इलाकाका श्रमिक, मजदुरलाई समस्या परेको हुन सक्छ। त्यसमा हामी गम्भीर छौं। उहाँहरूको गाँसको जिम्मा सरकारले लिन्छ नै। अप्ठ्यारोमा परेकाहरुबारे जानकारी लिने प्रयास गरिरहेका छौं। कुनै समस्या भए स्थानीय सरकारको सहकार्यमा तत्काल समाधान गर्नेछौं।
प्रदेशबासीलाई के आग्रह गर्नुहुन्छ?
लकडाउन लम्बिएको छ। यो हामीसबैको बाध्यता हो। सबैको सुरक्षाको लागि सरकारले गरेको निर्णय सबैले पालना गरिदिनुपर्यो। उच्च सजगता, सतर्कता, सबैले अपनानु पर्यो। बाहिर ननिस्कंदैमा सुरक्षित भइन्छ भन्ने होइन। एक अर्काको घरमा जाने बन्द गर्नु पर्यो। खेतबारीमा कामगर्दा पनि व्यक्तिगत दूरी कायम राख्नु पर्यो। जति सकिन्छ घरमा एक्लाएक्लै, टाढाटाढा बसिदिनुस्।
हरेक संकटमा सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ। त्यसैले मिडियालई सकारात्मक र सचेतना जगाउने खालका सामग्री प्रशारण गरिदिनुहोला भन्ने अपिल गर्छु।