काठमाडौं – नोवेल कोरोना भाइरस (कोबिड–१९) विश्वभर महामारीको रुपमा फैलिरहेको छ। कोरोनाले विश्वका सबै क्षेत्रलाई प्रभावित पारिरहँदा खेलकुद पनि यसबाट मुक्त हुन सकेन।
कोरोनाको बढ्दो प्रभावलाई मुल्यांकन गर्दै नेपाल सरकारले सभा, समारोह गोष्ठी गर्न रोक लगाएको छ। सरकारको आग्रहसँगै नेपालमा पनि खेलकुदका गतिविधि रोक्न सुझाव आउन थालेका छन्। कोरोनाकै कारण नेपालमा पहिलो पटक स्थगित भएको खेल हो-एभरेष्ट प्रिमियर लिग(ईपीएल)।
कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा आगामी चैत १ गतेबाट १५ गतेसम्म ईपीएल हुने तय थियो। तर, अब सोही मितिमा नहुने भएको छ। काठमाडौंमा एक सम्मेलन गर्दै ईपीएल आयोजकले प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले ईपीएल स्थगित गरिएको बताए। उनले भने, ‘अहिलेको अवस्थालाई हेरेर ईपीएललाई तय भएको मितिमा गर्न असमर्थ देखिएका छौं। हामीले दर्शक र खेलाडीको स्वास्थ्यमा खेलाँची गर्न मिल्दैन। पैसाभन्दा पनि ठूलो कुरा त मानिसको स्वास्थ्य हो नी। त्यसैले नयाँ निर्णय नभएसम्म प्रतियोगिता स्थगित गरेका हौं।’
उनले फेरी अवस्था समान्य भएपछि नयाँ मिति तय गरिने बताए। विगत ६ महिनाबाट तयारी गरिएको प्रतियोगिता एकाएक स्थगन गर्दा खेल क्षेत्रको तालिका नै प्रभावित हुने भएको छ। ईपीएलमा विश्वचर्चित खेलाडी क्रिस गेल, ड्वेन स्मिथ, हासिम अमला, कोरी एन्डरसनलगायतका खेलाडी आउने तय थियो।
अन्य खेल पनि स्थगित हुनसक्ने
राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले पनि खेलकुदका अन्य कार्यक्रममा आज (बिहीबार) रातिसम्म निर्णय लिइसक्ने बताएको छ। सम्भवतः चैत १ गते भन्दा पछि सुरुहुने खेलहरु स्थगित हुन सक्ने राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले बताए।
तर, यता एन्फाले त्यसपछिका लागि पनि खेलतालिका सार्वजनिक गरेको छ। धरान, काठमाडौं र विराटनगरमा सञ्चालन हुने गरि एन्फाले खेल तालिका सार्वजनिक गरिसकेको छ। उसले आज सातदोबाटोस्थित एन्फा कार्यालयमा पत्रकार सम्मेलन गर्दै चैत ३ गतेदेखि महिला लिग गर्ने घोषणा गरेको छ। त्यस्तै, आजैबाट पोखरामा पनि आहा रारा गोल्डकप सुरु भएको छ।
नेपाली फुटबल टोलीले पनि केही समयपछि महत्वपूर्ण खेल होम ग्राउण्डमै खेल्दै छ। नेपालले आगामी चैत महिनामा विश्वकप क्वालिफायर र एसिया क्लालिफायरका लागि चाइनिज ताइपेइ र अष्ट्रेलियासँग होम म्याच खेल्दै छ। सो खेल पनि कोरोनाका कारण प्रभावित हुनसक्ने देखिएको छ।
तर, अन्योलताका बीच पनि नेपाली फुटबल टोलीका प्रशिक्षक योहान कालिन भने नेपाली टोलीलाई प्रशिक्षण दिनमा व्यस्त छन्। उनले आफूहरु कोरोनाका कारण खेल के हुन्छ भन्ने भन्दा पनि ट्रेनिङमै फोकस भएको बताए। ‘कोरोना भाइरसले विश्वका धेरै ठूला खेलमा प्रभाव पारेको छ। एसियन फुटबल संघ(एएफसी)ले क्वालिफायरका खेललाई कसरी अगाडि बढाउँछ त्यो छोडिदिउँ। हामी अहिले ट्रेनिङमै फोकस हुनपर्छ र भएका पनि छौं।’, कालिनले भने।
विश्वमा प्रभाव
कोरोना भाइरसका कारण विश्वका ठूला कार्यक्रहरु स्थगित भएपछि त्यसको असर खेलक्षेत्रमा पनि पर्न थालेको हो। पहिलोपटक चीनको वुहानमा हुने भनिएको फर्मुला वान अन्तर्गगतको ग्रान्ड प्रिक्स रोकिएको थियो।
तर, संक्रमण विश्वका अन्य देशमा पनि फैलिएपछि खेलकुदका गतिविधिमा विश्वव्यापी रुपमै रोक लाग्न थालेका छन्। तीन साता अघिबाट उत्तरी इटालीमा तिव्र रुपमा फैलिएको कोरोनाका कारण इटालियन लिग ‘सिरी ए’को साविक विजेता युभेन्टसका तीन खेलाडीपनि कोरोनाबाट संक्रमित भए। क्लबले यू–२३ का खेलाडीलाई क्वारेन्टाइनमा राख्यो। कोरोनाका कारण इटालीको लिगको तालिकामा पनि ठूलो प्रभाव पर्यो। फेब्रुअरी अन्तिममा युभेन्टस र इन्टर मिलानले बन्द रंगशालमै खेल खेले। इटालीको खेलमन्त्री विन्सेन्जो स्पादाफोराले बन्द रंगशालामै खेल गराउने प्रस्ताव ल्याएपछि क्याविनेटले पारित गरेको थियो। क्याविनेटले बन्द रंगशालामा खेलाउने भनेपछि युरोपा लिगमा पनि इन्टर मिलानले दर्शकविहीन रंगशालामा खेलेको थियो। उता, उत्तरी इटालीमा आयोजना हुने भनिएका सिरी एको सबै खेल स्थगित भएका छन्।
मोरोक्कोले पनि अबका खेलहरु बन्द रंगशालामै गराउने भएको छ। मोरक्को फुटबल फेडेरेसनको निर्देशनसँगै मोरक्कोमा हुने कन्फेडेरेसन कपको क्वाटरफाइनल खेल दर्शकविना नै हुने भएका हुन। मोरक्कोको शीर्ष डिभिजन लिग एमेच्योर लिग, महिला लिग र लोकल प्रतियोगिता पनि बन्द रंगशालामा गराइने भएको हो।
कोरोनाको कारण ओलम्पिकमा पनि प्रभाव पर्ने देखिएको छ। बुधबार मात्रै जापानी ओलम्पिक मन्त्री सेइको हासिमोतोले सांसदको प्रश्नको उत्तर दिँदै प्रतियोगिता सर्नसक्ने बताएकी थिइन्।
विश्वभरका एथ्लेटिक्सका कार्यक्रमहरु ओलम्पिक आयोजनाको मितिलाई आधार मानेर तय हुने गरेका छन्। एथ्लेटिक्सको महाकुम्भ मानिने ओलम्पिक आयोजकको मात्र नभएर विश्वकै आयोजना हो। एकपटक आयोजना निश्चित भइसकेपछि आयोजक राष्ट्रलेसमेत प्रतियोगिता रद्द गर्न मिल्दैन। यसको क्यान्सिलेसन वा पोस्टपोन्ड अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आईओसी) ले मात्र गर्न सक्छ।
ओलम्पिकको तालिका परिवर्तन भएमा त्यसको असर विश्वभरको खेलकुद प्रतियोगितामा पर्ने निश्चित छ। तर, प्रतियोगिताको आयोजना भने अहिलेसम्म अनिश्चित नै छ। जापानमा ओलम्पिकका लागि १२ विलियन डलर खर्च भइसकेको बताइन्छ।
फिफाका अध्यक्ष जियानी एनफन्टिनोले मार्चमा हुने खेल तालिका परिवर्तन गर्ने प्रस्तावलाई अस्वीकार गर्न नसकिने बताएका छन्। उनले भने, ‘मानिसको स्वास्थ्य कुनै पनि खेलभन्दा धेरै महत्वपूर्ण कुरा हो।’ उनले थपे, ‘म अहिलेको अवस्थामा केही भन्न सक्दिन। आशा छ संक्रमणदर घट्ने छ। र, हामीले खेल गर्न पाउने छौं।’ युरो क्वालिफिकेसनका लागि आउँदो २६ र २७ तारिखमा खेलहरुको तालिका सार्वजनिक गरिएका छन्।
कोरोनाकै कारण भारतले पनि ओलम्पिक तयारीलाई हेरफेर गरेको छ। सुटिङ तयारीका लागि इटाली जाने निणर्य भारतले फिर्ता लिएको छ। भारतीय सुटिङ फेडेरेसनले कोरियामा गर्ने भनेको प्रि-ओलम्पिक बेस क्याम्प पनि स्थगन गरेको छ। कोरानाकै कारण श्रीलंका भ्रमणमा इंग्ल्यान्डको टोलीले हात नमिलाउने भएको छ भने स्वीस लिगका चार टुर्नामेन्ट पनि रद्द भएका छन्।
शुक्रबार सकिन लागेको एसीसी इस्टर्न रिजन टी-२० प्रतियोगितामा पनि कोरोनाकै कारण चीन, भुटान र म्यानमार सहभागी भएनन्। उनीहरुको राष्ट्रिय टिमलाई देशबाहिर गएर खेल्न प्रतिबन्धसमेत लगाइएको छ।