बिहीबार, वैशाख १८, २०८२

साढे दुई दशकपछि ब्युँतिएको माईभ्याली

माईभ्याली स्पोर्टिङ क्लबबाट सुरु भएको इलामेली खेलकुद समूह माईभ्याली फुटबल क्लबका नामले परिचित छ अहिले ।
 |  बिहीबार, फागुन १५, २०७६

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, फागुन १५, २०७६

माईभ्याली स्पोर्टिङ क्लबबाट सुरु भएको इलामेली खेलकुद समूह माईभ्याली फुटबल क्लबका नामले परिचित छ अहिले । क्लबले २०४५ सालको भूकम्पअघि इलाममा खेलकुद प्रतियोगिता आयोजना गथ्र्यो। भूकम्पपछि भने उद्धारका काममा जुटेकाले खेलमा ध्यान दिन पाएन क्लबले ।

२०५२ सालपछि सशस्त्र द्वन्द्व सुरु भयो। त्यसको असर इलाममा पनि नपर्ने कुरै भएन । लामो समय जिल्लामा फुटबलको ठूलो प्रतियोगिता हुन सकेन। ०६२–०६३ सालको आन्दोलनपछि राजनीतिक अस्थिरता त रहेन, तरपनि इलाममा माईभ्याली फुटबल क्लब ब्यँुतिन सकेको थिएन।

देशमा संविधानसभाको नाममा पाहिचानको राजनीति चलिरहेको समयमा इलामेली एउटा राम्रो समूह सञ्चालन गर्न चाहन्थे। बजार क्षेत्रमा बस्ने युवामा दुर्व्यसनको मात्रा बढ्ने इलामवासीले शंका गरे। त्यसलाई कम गर्न युवाहरुलाई राम्रो बाटो देखाउन जरुरी थियो। अन्ततः माई भ्याली स्पोर्टिङ क्लब ब्युँताउने निर्णय इलामेली जनताले गरे। र, जन्मियो माईभ्याली फुटबल क्लब।

०४५ सालमा अघोषित विघटन भएको माईभ्याली स्पोर्टिङ क्लबका अन्तिम समयमा अध्यक्ष रहेका धिरेन चेम्जोङकै अध्यक्षतामा माईभ्याली फुटबल क्लब गठन भएको थियो। अध्यक्ष धिरेनले नेपाल समयसँग फोनमा भने, ‘पहिले स्पोर्टिङ क्लब हुदाँ पनि म नै अध्यक्ष थिएँ। २०७१ सालमा माईभ्याली गठन भएबाट यसको अध्यक्षमा रहेर म आफैंले सञ्चालन गर्दै आइरहेको छु।’

स्पोर्टिङ क्लबलाई फुटबल क्लबमा रुपान्तरण गर्दाको पनि अध्यक्ष धिरेनको आफ्नै अनुभव छ। उनी भन्छन्, ‘मैलै पनि पहिले फुटबल खेल्थें। अञ्चल खेलाडी भएर मेची अञ्चलका तर्फबाट खेलिसकेका कारण मलाई फुटबलप्रति मोह छ।’

Metro Mart
worldlink

लामो संघर्षको कथा बोकेर सुरु भएको माईभ्याली गोल्डकपको छैटौं संस्करण आज (बिहीबार)बाट सुरु भएको छ। ०७१ सालमा क्लब स्थापना भएसँगै आयोजना सुरु भएको प्रतियोगिताले आजबाट नयाँ संस्करण सुरु गरेको हो।

पूर्व क्षेत्रकै सर्वाधिक धनराशिको गोल्डकपका रुपमा चिनिएको माई भ्याली गोल्डकपले इलाममात्र होइन, पूरै पूर्वलाई छोएको छ ।

व्यवस्थापन

व्यवस्थापनका लागि क्लबले समिति बनाएर खेलाडी, पाहुना र प्रविधिको जिम्मा दिएको छ। खेलाडी र पाहुनालाई बस्नका लागि आठ होटलमा व्यवस्था गरिएको छ।

माईभ्याली क्लबको आफ्नै फुटबल ग्राउन्ड छैन। उसले नेपाली सेनाको ठूलो टुँडिखेलमा रहेको ग्राउण्डमा प्रतियोगिता आयोजना गर्ने गरेको छ।

अध्यक्ष चेम्जोङ भन्छन्, ‘तराईमा जस्तो जताततै समथर भूभाग हुँदैन। यो पहाडी इलाका हो। प्रतियोगिता आयोजना गरिएको ग्राउण्ड सुरुमा आर्मीको परेड खेल्नलाई बनाइको भए पनि त्यसबाहेकको समयमा मानिसले प्रयोग गरिरहेका छन्। त्यसैले आर्मीसँग मागेर हामीले प्रतियोगिता सञ्चालन गर्ने गरेका छौं।’ स्थायी ग्राउण्डको लागि प्रयास भइरहेको छ, तर, सकेका छैनौं,’ उनले थपे। प्रतियोगितमा ७८ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ।

प्यारापिटमा धेरै खर्च

प्यारापिट निमार्ण गर्नमात्र प्रत्येक प्रतियोगितामा १० लाख लागत लाग्ने गरेको छ। त्यसमा पनि अस्थायी प्यारपिट। जारी सिजनमा पनि ८ हजार मानिस बस्न सक्ने गरी प्यारापिट निर्माण गर्दा तीन लाखभन्दा धेरैको बाँस प्रयोग गरिएको छ।

स्थायी रंगशाला नहुनुको पीडा माईभ्यालीले बुझेको छ। आजसम्मको प्रतियोगितामा ५० लाखभन्दा धेरै रकम प्यारापिट निर्माणमा लागेको धिरेनले बताए। उनले भने, ‘हामीले त सुरुमै घाटाको अवस्थाबाट खेल सुरु गर्ने गरेका छौं। प्यारापिट नहुनुको दुःख छ । ठूलो रकम माटोमा गाडेर प्रतियोगिता गर्नुपर्ने हुन्छ।’

पर्यटनमा प्रभाव

इलाम राम्रो पर्यटकीय गन्तव्य पनि हो । वर्षेनी हजारौं पर्यटक पुग्छन् । इलामको चिया बगान, ट्रेकिङ र झुल्के घाम विदेशी पर्यटकले पनि निकै मन पराउँछन् । पछिल्लो समय फुटबल हेर्नकै लागि भारतको सिक्किम र दार्जिलिङबाट पनि मानिस आउने गरेका छन्। अझ अन्तर्राष्ट्रिय आमन्त्रणको खेल हुँदा दार्जिलिङ र सिक्किमबाट प्रतिस्पर्धा गर्ने टिमका सपोर्टरहरु आउने गरका छन्।

आयोजकका अनुसार फुटबलमा भाग लिन आएका खेलाडी पनि प्रतियोगिताको खाली समय र अघिपछिको समयमा इलाम घुमेर मात्र फर्किने गरेका छन्।

नेपाली फुटबलमा माईभ्यालीको प्रभाव

मोफसलको फुटबलले नै पछिल्लो समय नेपाली फुटबलको प्रतिनिधित्व गरिरहेको छ। एन्फाको आन्तरिक विवाद र भूकम्पका कारण दशरथ रंगशालाको पुनर्निर्माण हुन नसकेपछि ०७२ सालपछिको नेपाली फुटबल मोफसलमै भर पर्नु परेको छ।

त्यसैले मोफसलमा हुने खेलको उत्कृष्टमध्ये पर्ने माईभ्यालीले नेपाली फुटबलको स्तरवृद्धिमा सहयोग नगर्ने कुरै भएन। फुटबल प्रतियोगिताको लागि ठूलो रकम खर्च गरिएको र राम्रा क्लबहरुले प्रतियोगितामा भाग लिने भएकाले माईभ्यालीले फुटबलको गरिमालाई बढाएको अध्यक्ष धिरेनको तर्क छ।

प्रतियोगी टिम

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता संकटा क्लब सहभागी भएका छन्। त्यस्तै नेपालबाट प्रतिस्पर्धा गर्ने अन्य टोलीमा गोर्खा ब्वाइज क्लब, झापा–११ र आयोजक माईभ्याली फुटबल क्लब छन्।

अन्तर्राष्ट्रिय टोलीमा भारतका कोहीमा ईगल फुटबल क्लब, एमएफसी दार्जिलिङ, ग्यान्टोक सिटी क्लब र मोहम्मद सिटी क्लब रहेका छन्।

गोल्डकपमा भुटानको लिगविजेता पारो एफसी र जापानी युनिभर्सिटीलाई सहभागी गराउने भनिए पनि कोराना भाइरसका कारण उनीहरुलाई देशबाहिर जान प्रतिबन्ध लागेकाले सहभागी हुन पाएनन्। प्रतियोगिताको उद्घाटन खेलमा आज कोहीमा इगल क्लब र गोर्खा ब्वाइजले प्रतिस्पर्धा गरेका थिए।

फाइनल खेल भने फागुन २४ गते दिउँसो २ बजे हुने छ।

पुरस्कार

प्रतियोगिताको विजेताले आठ लाख पुस्कार पाउने छ भने उपविजेताले पाँच लाख पाउने छ। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख २५ हजार पाउने छ। यसअघि प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटर पाउने व्यवस्था गरिएको भए पनि यो सिजनबाट नगद पुरस्कार दिन लागिएको हो।

झापा–११ ले प्रतियोगितामा दुई उपाधि जितेको छ भने थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब र क्यामरुनी क्लब दाउफिन्सले समान एक–एक पटक जितेका छन्।

प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गरेको छ।

खेलमा चार प्रकारका टिकटको व्यवस्था गरिएको छ। नक आउट प्रतियोगिताको पहिलो चरणको खेलमा एक सय रुपैयाँको टिकट लाग्ने छ भने सेमीफाइनल खेलमा दुई सयको टिकट लाग्ने छ। फाइनल खेल हेर्नको लागि भने दर्शकले तीन सयको टिकट काट्नुपर्ने छ। सिजनल टिकटबाट खेल हेर्न चाहे एक हजार तिर्नुपर्छ।

प्रकाशित: Feb 27, 2020| 20:08 बिहीबार, फागुन १५, २०७६
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।