अहमदाबाद– गुजरातको राजधानी अहमदाबादमा विश्वकै ठूलो रंगशाला निर्माण सम्पन्न हुँदैछ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सामाजिक सञ्जाल ट्विटरमा रंगशालाको एक एरियल भ्यु फोटो पोस्ट गर्दै यसको जनाउ दिएको हो। मोटेरा रंगशालामा एकसाथ एक लाखभन्दा धेरै दर्शकले खेल हेर्न सक्नेछन्।
बोर्डले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको फोटोको साथमा रंगशाला एक लाख १० हजार दर्शक क्षमताको रहेको जानकारी दिएको छ।
जनवरीमा गुजरात क्रिकेट एसोसिएसन (बीसीए) का उपाध्यक्ष तथा झारखण्डका पूर्व राज्यसभा सांसद परिमल नथवानीले रंगशालाका केही तस्बिर सार्वजनिक गरेका थिए। तस्बिरमा रंगशालामा काम भइरहेको देखाइएको थियो।
ट्विटमा उनले लेखेका थिए, ‘विश्वको सबैभन्दा ठूलो क्रिकेट स्टेडियम जोसका साथ बनिरहेको छ। ५ अगस्ट १८ मा म (परिमल) र जय शाह (भारतीय व्यापारी एवम् क्रिकेट प्रशासक) मिलेर यसबारे विस्तृत अध्ययन गरेका थियौं।’
बीसीसीआईले ट्विटरमा फोटो पोस्ट गरेसँगै यसले विश्वव्यापी चर्चा पाएको छ।
सोही पोस्टमा प्रतिक्रिया दिँदै पूर्व क्रिकेटर तथा कमेन्टेटर सौरभ गांगुलीले लेखेका छन्, ‘यस्तो ठूलो रंगशाला देखेर खुसी लागेको छ। मसँग यो ग्राउन्डमा खेलाडी र कप्तान भएर खेल्दाका धेरै अनुभव छन्। म २४ तारिखको पर्खाइमा रहनेछु। मलाई यो रंगशाला हेर्न हतार छ।’
रंगशालाका साथै भारतमा ‘नमस्ते ट्रम्प’ स्लोगनले चर्चा चुलिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मोटेरा रंगशालाको आगामी सोमबार उद्घाटन गर्दैै छन्।
मोटेरालाई ‘सरदार पटेल क्रिकेट’ रंगशालाका रुपमा चिनिन्छ। स्टेडियम उद्घाटन खेलमा एसियाका ११ र विश्वका ११ टोलीले प्रदर्शनी खेल खेल्नेछन्। खेलतालिका भने सार्वजनिक भइसकेको छैन।
मोटेरा क्रिकेट रंगशाला उद्घाटनका क्रममा सुरक्षाको उच्च व्यवस्था मिलाइएको छ। मुख्यमन्त्री विजय रुपानीले रंगशाला भ्रमण गरेका छन्।
‘नमस्ते ट्रम्प’ नाम दिइएको स्वागत कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलिनियाँ ट्रम्पले सहभागिता जनाउनेछन्।
अहिलेसम्म मेलबर्न क्रिकेट रंगशाला (एमसीजी) विश्वकै ठूलो रंगशाला मानिन्छ, जसको दर्शक क्षमता ९० हजार छ।
रंगशालाका केही चाखलाग्दा कुरा
रंगशालामा एक लाख १० हजार क्रिकेट फ्यानले प्रत्यक्ष क्रिकेट हेर्न पाउनेछन्।
यो प्रोजेक्टको अनुमानित लागत सात सय करोड (सात अर्ब) भारतीय रूपैयाँ छ। स्टेडियम ६३ एकडमा फैलिएको छ।
यसभित्र क्लब हाउस हुनेछ, जसमा ५० कोठा, ७६ कर्पोरेट बक्स, चार ड्रेसिङ रुम, तीन अभ्यास मैदान हुनेछन्।
साथै यसभित्र क्रिकेट एकेडेमी, ओलम्पिकको साइजको स्विमिङ पुल, पार्किङ एरिया हुनेछन्। पार्किङमा तीन हजार चारपाङ्ग्रे र १० हजार दुईपाङ्ग्रे सवारीसाधन राख्न सकिनेछ।
गुजरात क्रिकेट एसोसिएसन (जीसीए) का अनुसार यो प्रोजेक्ट प्रधानमन्त्री नरेन्द्र मोदीको सपना थियो।
गुजरातका धेरै क्रिकेट फ्यानले उनीहरुको स्टार क्रिकेटरको खेल हेर्न नपाउने भएकाले मोदी र जीसीएका अध्यक्ष मिलेर प्रोजेक्ट सुरु गरेको बताइएको छ।
रंगशालाका लागि सवारी ट्राफिकको अलग व्यवस्था गरिएको छ। रंगशाला डिजाइन गर्दा नै ट्राफिकलाई ध्यानमा राखिएको थियो। नयाँ लेआउटका अनुसार ट्राफिकलाई तीन दिशामा बाँडिएको छ।
न्युज १८ का अनुसार यो रंगशाला निर्माण थालनी २०१८ मा गरिएको थियो।
विश्व रेकर्डको रंगशाला मोटेरा
रंगशाला निर्माण भइसकेपछि गुजरातमा दुई विश्व रेकर्ड बन्नेछन्। गत अक्टोबरमा स्ट्याच्यु अफ युनिटी नाम दिइएको विश्वकै ठूलो मूर्तिको अनावरण गुजरातमा गरिएको थियो।
यसले हाल प्रतिदिन ३० हजार पर्यटक तानिरहेको छ। भारतीय क्रिकेटर सचिन तेन्दुल्करले सन् १९९९ मा पहिलोपटक दोहोरो शतक यही मैदानमा बनाएका थिए।
त्यस्तै, १९८७ मा सुनिल गावास्करले आफ्नो १०,००० औं टेस्ट रन यही मैदानमा पुर्याएका थिए। टेस्टमा दस हजार रन पुर्याउने उनी पहिलो खेलाडी थिए।
सात वर्षपछि कपिल देवले रिकार्डसनको चार सय ३१ विकेटको रेकर्ड पनि त्यही मैदानमा तोडेका थिए।
(एजेन्सीहरूको सहयोगमा)