काठमाडौं- मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल सहिद स्मारक ए डिभिजन लिगको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
ए डिभिजन लिगमै खेलाडीका रुपमा उपाधि जितेका कटुवाल प्रशिक्षकका रुपमा समेत उपाधि जित्न सफल भएका हुन्।
कटुवालले मनाङ र थ्रीस्टारका स्टार खेलाडी भित्र्याएर लिगमा अब्बल व्यवस्थापन गर्दै क्लबलाई ए डिभिजन लिग २०७६ को च्याम्पियन बनाउन सफल भए।
जम्मा ३९ वर्षीय कटुवाल थोरै उमेरमा सफल प्रशिक्षक हुने व्यक्तिमध्ये एक हुन्।
च्याम्पियनका साथै उत्कृष्ट प्रशिक्षकको उपाधिले विभुषित भएकोमा उनी ज्यादै खुसी पनि छन्। भन्छन्, ‘म यति खुसी छु कि बयानै गर्न सक्दिनँ। जितलाई बयान गर्न ठ्याक्कै मिल्ले गरिको शब्दनै छैन मसँग।’
उनी खुसी यसकारण छन् की प्रशिक्षकका रुपमा ए डिभिजन लिगमा उनको पहिलो उपाधि हो। खेलाडीका रुपमा लिग जिते पनि प्रशिक्षकका रुपमा लिग जितेका थिएनन्। यो नै पहिलो पटक हो।
उनी सम्झन्छन, ‘धेरै वर्षसम्म ए डिभिजन लिगमा खेलाडीको रुपमा फुटबल खेलेँ। तर, आज पहिलोपटक लिग च्याम्पियनको अनुभुति गरिरहेको छु त्यस्तो कहिल्यै भएको थिएन।’
उनले मछिन्द्र आउनुपूर्व झापा–११ हेरिरहेका थिए। उनले त्यहाँ बी डिभिजन र सी डिभिजन खेल्ने खेलाडीलाई हेर्नुपर्ने हुन्थ्यो। तर, अहिले ए डिभिजन खेल्ने टिम हेरिरहेका छन्।
पहिले र अहिलेको तुलना गर्दै प्रशिक्षक कटुवाल भन्छन्, ‘प्रशिक्षणका हिसाबले त झापा ११ र मछिन्द्र उस्ताउस्तै नै हो। पहिले मैले प्रशिक्षण दिएकै खेलाडीहरु पनि हालको टिममा थिए। त्यसैले मलाई क्लबमा काम गर्न सजिलो भयो।’
उनले थपे, ‘मैले पहिले पनि कोच गरेका खेलाडी थिए र सजिलो भयो।’
खेलमा राम्रो प्रदर्शन गर्न प्रशिक्षकसँग खोलाडीको सम्बन्ध पनि राम्रो हुनु जरुरी हुन्छ। उनले खेलाडीसँग जहिल्यै पनि राम्रो सञ्चार रहेको बताए। भने, ‘अन द फिल्ड त राम्रो नै छ। अफ दि फिल्ड पनि राम्रो नै भयो। खेलाडीसँग संवादहरु राम्रो भयो। यही कुराले चम्पियन हुन ठूलो मद्दत मिल्यो।’
क्बलमा सुरुमा आउँदा कस्तो के हो नबुझे पनि पछिपछि बानी पर्दै गएको प्रशिक्ष कटुवालको अनुभव छ।
उनी भन्छन्, ‘सुरुमा गाह्रै हुन्छ जस्तो लागेको थियो। तर, पछिपछि बानी पर्यो।’
बानी परेपछि उनले खेलाडीलाई धेरै कुरा बुझाउन सके। आफूले बनाएको रणनीति खेलाडीलाई सिकाएपछि ए डिभिजन लिगमा उपाधि सम्भव भएको उनको दाबी छ।
कटुवालले भने, ‘खेल पहिले जुन रणनीति बनाएका थियौँ त्यो अनुसार नै भयो। पहिले गोल गरेर डिफेन्स गर्ने भन्ने थियो। सोही अनुसार हामीले दोस्रो हाफमा राम्रो डिफेन्स गर्यौँ।’
प्रशिक्षक कटुवाललाई मनमा लागेको थियो, आर्मीसँग बराबरीको अप्सन हुनु नै उनीहरुको कमजोरी हो। त्यसैले उनले ‘सोचे जहाँ अप्सन हुँदैन त्यहाँ जित हुन्छ।’ उनले काम पनि त्यही अनुसारले गरे।
खेलबारे भोगेको अनुभवबारे कुटवाल भन्छन्, ‘आर्मी बेस्ट टिम हो। उसका क्बलमा ४–५ वर्षबाट एकै खेलाडीले खेलिरहेका छन्। जसले गर्दा उनीहरुको टिमवर्क राम्रो थियो। उसलाई हराउन दह्रो रणनीति चाहिन्थ्यो। त्यसअनुसार हामीले बनायौं र लिग जित्यौँ।’
उनले थपे, ‘आर्मीलाई खेलमा प्रेसर नै थियो। उसलाई आजको खेलमा बराबरी नै काफी थियो। जसले आर्मीको मनमा हामीले बराबरी खेल्दा पनि लिग जित्छौँ भन्ने लागेको थियो। आर्मी मात्र होइन त्यस्तो विचार जुन खेलाडीको मनमा पनि पलाउँछ। त्यो मनसाय नै आर्मीको लागि घातक भयो जस्तो लाग्छ।’
तर, मछिन्द्रको लागि जितबाहेक विकल्प नै थिएन्। उनी भन्छन्, ‘हामीलाई त पूरा जित चाहिएको थियो। बराबरीले हाम्रो केही हुनेवाला थिएन्। हामीले त्यही कुराको फाइदा लियौँ।’
मछिन्द्रलाई शीर्षमा टिकिरहन अर्को एक कुराले पनि मद्दत गर्यो। त्यो हो शीर्ष टिमसँगको लगातार जित। उसले निकटतम् प्रतिद्वन्द्वी थ्रीस्टार तथा पुलिस क्लबलाई हराएको थियो। जसले उसलाई लिगभरी अंक तालिकाको शीर्षकै हाराहारीमा टिकिरहन मद्दत मिलेको थियो।
यो कुरालाई प्रशिक्षक आफ्नै शब्दमा भन्छन्, ‘हामीले शीर्ष ६ का सबै टिमलाई जिन्त्यौँ। त्यो नै हाम्रो लागि कोसेढुंगा सावित भयो। यसले गर्दा हामीलाई राम्रो अंक बनाइराख्न मद्दत पुग्यो।’
कटुवाल आफूले गरेको प्रगति भन्दा पनि आफ्ना खेलाडीले जितेको उपाधिप्रति धेरै गौरवान्वित भएको महशुस गर्छन्। खेल सकिएपछि उनले खुलेरै भने, ‘मैले पहिले थ्रीस्टारबाट खेलाडीको रुपमा लिग जित्दा यति धेरै खुसी महशुस गरेको थिइनँ। आफूले गरेको प्रगति भन्दा पनि आफूले सिकाएका खेलाडीले गरेको प्रगति देख्दा धेरै गर्व लाग्दो रहेछ।’