बुधबार, वैशाख १७, २०८२

एन्फाभित्रको राजनीतिमा यसरी च्यापिए प्रशिक्षक अल्मुताइरी

गत चैतमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि सम्झौता गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार दिउँसो राजीनामा दिने घोषणा गरेका छन्।
 |  आइतबार, साउन १०, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, साउन १०, २०७८

काठमाडौं- गत चैतमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि सम्झौता गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार दिउँसो राजीनामा दिने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा सूचना लेख्दै राजीनामा दिने घोषणा गरेका हुन्। त्यसो त एन्फाबाट पछिल्ला दिनमा अरुले पनि राजीनामा घोषणा गरेका थिए। र, राजीनामा दिनेहरुका गुनासा एउटै छन्। त्यो के भने,  व्यवस्थापनबाट अवरोध भयो।  त्यसले अहिले एन्फाको राजनीतिको मारमा कर्मचारीसँगै प्रशिक्षक पनि परिसकेका छन्।

यसअघि पनि एन्फाको टेक्निकल कमिटीका संयोजक कृष्ण थापाले र होस्टल व्यवस्थापक समितले राजीनामा दिएका छन्। थापाले आफूलाई जनाकारी नै नदिई प्रशिक्षकको करार थप्ने, एकेडेमीका लागि यू–१३ को खेलाडी सिफारिस गर्ने, बी लाइसेन्स कोर्ष आयोजना गर्नेजस्ता आरोप लगाएका थिए। उनले एन्फामा विधानविपरीत काम भइरहेको पनि आरोप लगाएका थिए।

त्यस्तै, दिनेश व्यञ्जनकारको संयोजकत्वमा रहेको होस्टल व्यवस्थापन समितिले पनि काममा ओभरटेक भएको भन्दै राजीनामा दिएको थियोे, जुन राजीनामापछि फिर्ता भयो।

प्रशिक्षक अलमुताइरीले पछिल्लो केही समयदेखि दबाबमा काम गरिरहेको बताउँदै आएका थिए। लगातारको दबाब खप्न नसकेपछि उनले राजीनामा दिएको उनको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ।

‘मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्,’ उनले फेसबुकमा लेखेका थिए, ‘म एन्फा (मुख्य प्रशिक्षक) बाट राजीनामा दिन जाँदैछु।’

Metro Mart
worldlink

उनले पहिल्यैदेखि एन्फामा खेलाडीमाथि हुने दबाबको खुलेर विरोध गर्दै आएका थिए। उनले विभिन्न खेलका दौरान खेलाडीलाई दबाब नदिन अनुरोध पनि गर्दै आएका थिए। साथै, खेलका दौरानमा केही खराब नजिता प्राप्त भएको त्यसको सबै दोष आफूले स्वीकार गर्ने बताउँदै आएका थिए।

यता, केही दिनअघि उनले एन्फाको गेटबाहिर चुरोट खाएको भन्दै समाचार बाहिरिएपछि त्यससम्बन्धी मिश्रित प्रतिक्रिया बाहिर आएका थिए। अहिले उनको राजीनामा त्यही घटनासँग जोडेर फुटबल वृत्तमा हेरिएको छ। तर त्यसका लागि यथेष्ट प्रमाणको भने अभाव छ।

एन्फा राजनीतिमा मुछिएका प्रशिक्षक

पछिल्लो समय कतारी फुटबल संघले नेपालमा चासोका साथै ठूलो लगानी पनि गरिरहेको छ। प्रशिक्षक अलमुताइरी पनि त्यसैको नतिजा हुन्। उनको तलबको व्यवस्था पनि कतारी फुटबल संघले नै गरिरहेको छ। यता कतार एयरवेज गएको सिजनको ए डिभिजन लिगको मुख्य स्पोन्सरका रुपमा थियो।

उसले आफ्नो अस्पतालमा नेपाली राष्ट्रिय टिमका खेलाडीहरुको पनि उपचार गरिरहेको छ। त्यस हिसाबले नेपाललाई सहयोग गर्ने देशको चासो स्वाभाविक रुपमा नेपाली फुटबलमा रहन्छ नै। त्यसैले अहिलेको एन्फाको राजनीतिले नेपालको फुटबल कूटनीतिमा नकारात्मक असर पार्न सक्नेछ।

राजीनामा घोषणा गर्दै प्रशिक्षक अलमुताइरीले अब एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ खुसी हुनुपर्ने पनि बताएका छन्। तर उनी किन खुसी हुनुपर्ने हो, उनले खुलाएका छैनन्। उनले राखेको स्टाटसअनुसार नेम्वाङले तीन हप्ता अघिबाट दबाब दिएकोे बुझ्न सकिन्छ। वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने आफूले प्रशिक्षकलाई दबाब नदिएको दावी गरेका छन्। केही दिनअघि अलमुताइरीले अन्तर्वार्ता दिँदै ‘फुटबल सुधार गर्न खेलाडी मात्र राम्रो भएर हुँदैन, पदाधिकारी पनि राम्रा हुनुर्छ’ भनेका थिए।

नेम्वाङले अल्मुताइरीलाई सम्झाइदिन श्रेष्ठसँग आग्रह गरेका थिए। पछि महासचिव इन्द्रमान तुलाधरले आफूले प्रशिक्षकलाई सम्झाएको बताएपछि नेम्वाङ आफू ढुक्क भएको बताएका थिए।

त्यसपछि नेम्वाङले अर्का प्रशिक्षक किरण श्रेष्ठसँग अल्मुताइरीले पदाधिकारीको बारेमा बोल्ने अधिकार नभएको बताएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। उनले पदाधिकारीबारे बोल्ने प्रशिक्षकको अधिकार नभएको र राजीनामाका सन्दर्भमा पनि उनले नेम्वाङमाथि आरोप लगाएको भन्दै आफू दोषी देखिए कारबाही बेहोर्न तयार देखिएको बताएका छन्।

नेम्वाङले मुख्य प्रशिक्षकमाथि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग छानबिनको माग गरेको बताएका छन्। ‘यो एउटा निराधार र षड्यन्त्रपूर्वक रुपमा आएको मैले ठानेको छु। यो षड्यन्त्रप्रति एन्फाले समिति बनाएर छानबिन गर्नुपर्छ। त्यसमा दूधको दूध पानीको पानी छुट्याउनु पर्छ। म सत्यको पक्षमा छु। म दोषी देखिए  राजीनामा दिन तयार छु,’ उनले भने, ‘मलाई त प्रशिक्षकले पनि चिन्नुहुन्न होला जस्तो लाग्छ। हामी धेरै पटक क्रस भइसकेका छौं। तर हाइहेल्लो समेत भएको छैन आजको दिनसम्म। अनि गएको तीन हप्तासम्म मैले के चाहिँ गरेँ र? मैले कसरी राजीनामा दिन बाध्य बनाएँ? उसले जवाफ दिनुपर्छ।’

प्रशिक्षकले फेसबुकमा राजीनामा घोषणा गर्नु व्यावसायिकता नभएको बताएका छन्।  यता एन्फाले मुख्य प्रशिक्षकलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ।

प्रशिक्षकको नेतृत्वमा नेपाली टिम

कुवेती प्रशिक्षकले आफू मुख्य प्रशिक्षकमा अनुबन्ध भएकै दिन (चैत २२ गते) नेपाली टिमको प्रदर्शनमा व्यापक सुधार गर्ने बताएका थिए। उनले नेपालले अट्याकिङ रणनीति र योजनामा खेल्नुपर्ने बताएका थिए। त्यसबीच उनले खेलाएका खेलबाट सन्तुष्ट समर्थकले उनलाई नयाँ अभ्यास गर्न स्वतन्त्रता पनि दिएका थिए।

उनको नेतृत्वमा नेपालले अहिलेसम्म चारमात्र खेल खेलेको छ। त्यसमध्ये नेपालले एक खेलमा जित निकालेको छ भने तीन खेलमा हार बेहोरेको छ। नेपालले चाइनिज ताइपेईलाई कुवेती मैदानमा हराएको थियो। यता कुवेतमै भएको विश्वकप छनोटका बाँकी दुई खेलमा भने नेपालले हार बेहोरेको थियो। जहाँ १० खेलाडीमा सीमित नेपालले अष्ट्रेलियासँग ३–० गोलको हार बेहोरेको थियो भने जोर्डनसँग पनि ३–० गोलको हार बेहोरेको थियो।

त्यसअघि भएको अर्को खेलमा नेपालले इराकसँग ६–२ गोलको हार बेहोरेको थियो। तर त्यस दौरान नेपालले सुरुमा २–१ गोलको अग्रता बनाउन सफल भएको सन्दर्भलाई ध्यानमा राख्दै प्रशिक्षक अल्मुताइरीले समर्थकबाट वाहवाही पाएका थिए। त्यसपछि उनले आउँदो साफ च्याम्पियनसिपको तयारीका लागि ५० खेलाडीलाई सुरुआती बन्द प्रशिक्षणमा बोलाएका थिए। त्यसमध्ये १४ खेलाडी बाहिरिएपछि अहिले सिनियर टिमका ३६ खेलाडी बन्द प्रशिक्षणमा छन्।

उनले प्रशिक्षकमा अनुबन्ध भएकै दिन आफ्नो लक्ष्य साफ च्याम्पियनसिप जित्ने रहेको बताएका थिए। प्रतियोगितामा सौहार्दपूर्ण रुपमा सहभागी हुन विश्वभरका प्रशिक्षकलाई नै दबाबरहित बनाउनुपर्ने उनले बताएका थिए। ‘संघ वा पदाधिकारीले प्रशिक्षकलाई दबाब दिन मिल्छ?’ भन्ने प्रश्नमा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक राजुकाजी शाक्य भन्छन्, ‘मिल्दैन। प्रशिक्षकलाई दबाब दिने भन्ने त हुँदैन। अनुशासनसम्बन्धी कुरा हो भने जिम्मेवारी दिने निकायले अनुसन्धान गर्न सक्छ।’

उनले थपे, ‘नेपालको सन्दर्भमा एन्फाले सुरुमा एउटा जिम्मेवारी दिएको हुन्छ, त्यो जिम्मेवारी पूरा गर्न नसक्ने देखिएको अवस्थामा बर्खास्त गर्न मिल्ला तर प्रशिक्षकलाई दबाब दिने कुरा फुटबलमा मान्य हुँदैन।’

होमसिक र फेसबुक

प्रशिक्षक अल्मुताइरी आफ्नो देशबाट टाढा बसेर गरिरहेको कामलाई सम्मान गर्न पनि सबैलाई आग्रह गरिरहेका छन्। जसले गर्दा उनी एक प्रकारको होमसिकमा भएको पनि देखिन्छ। उनले एक फेसबुक कमेन्टमा पनि यस्तै बताएका छन्– ‘सायद प्रशिक्षकले एक्लो महसुस गरिरहेको होला। आफ्नो परिवार, साथीभाइ र देश सम्झिरहेको होला। त्यसैले ऊ त्यो सबैबाट बच्नका लागि समर्थकसँग धेरै नजिक भएको हुनसक्छ।’

‘हामी तपाईंलाई विश्वास गर्छौं। यात्राको बीचमा टिमलाई त्यसै नछोड्नु होला। तपाईं देशको एउटा आशा हो,’ उनको फेसबुक स्टाटसमा एक फुटबल समर्थकले कमेन्ट गरेका छन्। अर्का एक समर्थकले घटनाबारेको थप विवरण पनि माग गरेका छन्।
उनले त्यसअघि पनि एन्फा आफ्नो परिवार जस्तै भएको बताउँदै आएका थिए। उनले राष्ट्रिय टिमका पुरुष खेलाडीका साथै महिला खेलाडीहरुका लागि पनि मोटिभेसनल कक्षा सञ्चालन गर्दै आएका थिए।

समर्थकको माग

उनले फेसबुकमा स्टाटस राखेपछि अहिले देशभरका फुटबल समर्थकले त्यसप्रति थप चासो र चिन्ता व्यक्त गरिरहेका छन्। कतिपय समर्थकले राजीनामा नदिन र दिइसकेको भए फिर्ता लिन पनि अग्रह गरेका छन्। समर्थकले अहिले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई कारबाही माग गर्दै प्रशिक्षकलाई बरु थप कार्यकालका लागि सम्झौता गर्नुपर्ने बताएका छन्।

‘हामी तपाईंलाई विश्वास गर्छौं। यात्राको बीचमा टिमलाई त्यसै नछोड्नु होला। तपाईं देशको एउटा आशा हो,’ उनको फेसबुक स्टाटसमा एक फुटबल समर्थकले कमेन्ट गरेका छन्। अर्का एक समर्थकले घटनाबारेको थप विवरण पनि माग गरेका छन्।

अर्का एकजना समर्थक लेख्छन्, ‘मानसिक तनाव दिएको बुझिएको छ। त्यसको प्रमाण कसरी दिनु?’

‘प्रशिक्षक हामीलाई स्पष्ट बताइदिनु होस्। सानो स्टाटसले हाम्रो दिमागमा धेरै कुराहरु पैदा गरेको छ। हामीले स्पष्ट हुनु जरुरी छ,’ एक समर्थकले उनको घोषणापछि कमेन्टमा खेलेका छन्, ‘तपाईंलाईं सहयोग गर्न हामीले सबैथोक स्पष्ट हुन जरुरी छ।’

एन्फामा दुई गुट

यो थाहा भएकै कुरा हो– एकै प्यालनबाट चुनाव जितेका एन्फाका पदाधिकारी अहिले दुई गुटमा छन्। एउटा गुटको नेतृत्व अध्यक्ष कर्माछिरिङ शेर्पाले गरिरहेका छन् भने अर्को पक्षको नेतृत्व पंकजविक्रम नेम्वाङले गरिरहेका छन्।

२०७६ को माघमा भएको एक बैठकपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङले फरक मत राखेपछि एन्फामा विधिवत् रुपमा दुई गुटको पुष्टि भएको थियो। त्यसपछि यी दुई गुटबीच थुप्रै कुरामा विवाद पनि भएका छन्।

गएको माघ ६ गते सम्पन्न साधारणसभामा एन्फाले प्रस्तुत गरेको आर्थिक विवरणले एन्फालाई उदांगो बनाएको भन्दै पंकज नेम्वाङ नेतृत्वका एक पदाधिकारीले एन्फामा चुनावी अभियान सुरु भइसकेको बताएका थिए।

एन्फाका एक वरिष्ठ पदाधिकारीले पत्रकारसँग कुरा गर्दै भनेका थिए– चुनावको प्रचार सुरु भइसकेको छ र आफ्नो लाइन क्लियर गर्नुपर्छ। उता जिल्लाका केही प्रतिनिधिले एन्फाले ल्याएको बजेट चुनाव लक्षित त होइन भनेर प्रश्न गर्दा अध्यक्ष शेर्पाले त्यस्तो नभएको र राम्रो काम गरे बजेट थपिँदै जाने बताएका थिए।

प्रकाशित: Jul 25, 2021| 10:35 आइतबार, साउन १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।