बुधबार, वैशाख १७, २०८२

उदास छन् सन्दीप, कुन-कुन खुड्किलामा लाग्यो उनलाई ठेस?

 |  बिहीबार, साउन ७, २०७८

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, साउन ७, २०७८

काठमाडौं- टेस्ट, एकदिवसीय र टी–२० क्रिकेटका चिनिएका प्रतियोगिता भए पनि अहिले क्रिकेटमा ‘टी–१०’ र ‘द हन्ड्रेड’ जस्ता प्रतियोगिताले पनि चर्चा पाउन थालेका छन्। यूएईको अबुधाबीमा केही वर्षदेखि टी–१० क्रिकेट प्रतियोगिता भइरहेको छ, जसले निकै चर्चा पनि बटुलिसकेको छ। उक्त प्रतियोगितामा नेपालका पूर्वकप्तान पारस खड्कासहित सोमपाल कामी, करण केसी, कुशल मल्लजस्ता खेलाडीले प्रतिस्पर्धा गरेका छन्।

यस्तैमा गत वर्ष इंग्ल्यान्डमा नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ अर्थात् सय बलको क्रिकेट आयोजना गरिएको थियो। अन्य प्रतियोगिता भन्दा विल्कुल फरक थियो यो। अरु प्रचलित फर्म्याट (एक दिवसीय, टी–२०, टी–१०) ओभरमा निर्धारित हुन्थे यो भने यसमा ‘बल’बाट निर्धारण गरिएको छ।

त्यसैले यो प्रतियोगिता कस्तो होला, चर्चा पाउला कि नपाउला, प्रतियोगिता अघि बढ्न सक्ला कि नसक्ला भन्ने चासो सबैतिर थियो, अझै छ। टेस्ट र एक दिवसीयभन्दा टी–२० ले धेरै लोकप्रियता बटुलेसँगै त्यसभन्दा छोटा फर्म्याटले पनि चर्चा पाउने विश्वास गरिएरै द हन्ड्रेड सुरु गरिएको थियो।

यता नेपाली क्रिकेट प्रेमीलाई यो प्रतियोगिता यस कारण पनि चासोको विषय थियो कि पहिलो संस्करणमै नेपाली खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने तय थियो। आईपीएल, पीएसएल, ग्लोबल टी–२० देखि सीपीएल नै किन नहोस्, उनी खेल्ने प्रतियोगितालाई नेपाली क्रिकेट समर्थकले महत्वका साथ लिने गरेका छन्।

उनी सहभागी टिमका प्रशस्त नेपाली फ्यानहरु भेटिन्छन्। यो प्रतियोगिताको समर्थक त छँदै छन्। सन्दीपको उपस्थितिले द हेन्ड्रेडलाई नेपाली समर्थकमाझ अझ लोकप्रिय बनाएको थियो। तर कोभिड–१९ महामारीका कारण प्रतियोगिता आयोजना हुन सकेन।

Metro Mart
worldlink

एक वर्ष स्थगित भएको प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ। तर सन्दीप लामिछानेले भने खेल्न नपाउने भएका छन्।

२०२१ को ठेस र विश्वास

२०२१ फेब्रुअरी (फागुन २०७७) मा सम्पन्न आईपीएलको अक्सनमा नेपालबाट एकमात्र खेलाडी सन्दीप लामिछाने थिए। चेन्नईमा भएको अक्सनमा सहभागी आठै क्लबले सन्दीपको नाममा चासो नदिएपछि उनको यो सिजनको आईपीएल यात्रामा ब्रेक लाग्यो। फेब्रुअरी १८ को दिन आईपीएल सिजनमा ब्रेक लागे पनि त्यसको १५ दिनअघि उनलाई द हन्ड्रेडले रिटेन गरेको थियो। आईपीएलबाहेक उनको अन्य प्रतियोगिता यथावत् थिए।

यद्यपि, पाकिस्तानको क्रिकेट फ्रेन्चाइज लिग पाकिस्तान सुपर लिग (पीएसएल)को मंसिरमा सम्पन्न अक्सनबाट पनि उनी बाहिरिसकेका थिए। तर, अफगानी बलर राशिद खानको व्यस्त तालिका सन्दीपका लागि फाइदाजनक बन्यो। खानले अन्तर्राष्ट्रिय खेलका लागि बिदा लिएपछि लाहोर कलन्दर्सले सन्दीपलाई टिममा बोलायो।

उनी फागुन १५ मा पाकिस्तान उडे। जसै उनको क्वारेन्टिन अवधि सकियो, कोभिडका कारण प्रतियोगिता नै रोकियो। निकै उतारचढावपछि पाकिस्तान पुगेका उनले खेल्नै पाएनन्। ‘प्रतियोगिता रोकिएकोमा दुःख त लागेको छ तर पाकिस्तान भ्रमणले ताजापन महशुस गराउँछ,’ प्रतियोगिता रोकिएपछि उनले प्रतिक्रिया दिएका थिए।

उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, पुनः पाकिस्तान फर्किने बाचा गर्दै नेपाल आएर काठमाडौंमा आयाजित मेयर्स कप खेले। त्यसपछि पीएसएल त आयोजना भयो तर सन्दीप स्क्वाडमा परेनन्। सायद उनका लागि त्यो पल पनि दुखद् रह्यो।

यता त्यसपछि उनको प्रतियोगिता थियो ‘भाइटालिट ब्लास्ट।’ पहिलो टी–२० क्रिकेट लिग भाइटालिटी ब्लास्टको क्लब वोरेस्टरसायर ब्लास्टले उनलाई क्लबमा लिइसकेको थियो। ‘संस्कृति, परम्परा र ठूलो संख्याका दर्शकका कारण काउन्टी क्रिकेट क्रिकेटभन्दा धेरै हो भन्ने सुन्दै आएको छु। त्यसको एक हिस्सा हुन पाएकोमा ज्यादै खुसी छु,’ वोरेस्टरसायर ब्लास्टबाट खेल्ने आशासँगै उनले खुसी व्यक्त गरेका थिए, ‘म भविष्यमा नेपालबाट पनि धेरै खेलाडी काउन्टीमा खेल्न जाउन् भन्ने चाहन्छु।’

तर उनी त्यहाँ पनि सहभागी बन्न सकेनन्। अरु सबै ठिक थियो तर भिसा समयमा नआएपछि उनले प्रतियोगितामा खेल्नै नपाउने भए। ‘भिसा प्रक्रिया सुरु गरेको एक महिनाभन्दा धेरै भइसकेको छ। उडानको समय नजिकिँदै छ। कार्यालयमा सम्पर्क गर्दा पनि स्पष्ट जवाफ पाएको छैन,’ उनले ट्विटरमा लेखेका थिए। लामो समय बाटो हेरे सन्दीपले, तर भिसा आएन्। सन्दीपले त्यो प्रतियोगिता नै गुमाए। त्यति बेला उनलाई लागेको थियो– अन्त्यमा तपाईंको साथमा तपाईं मात्र हुनु हुने रहेछ।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा लाइभ आएका उनले दुखेसो पोखे, ‘खोइ कसलाई दोष दिने, भिसाका लागि सहयोग गर्नुपर्ने खेलकुद मन्त्रालय, राखेपलगायत कसैले पनि सहयोगमा चासो देखाएनन्। त्यसमा निकै दुःख लागेको छ।’

यता त्यसबीच उनले नेपाललाई ट्राई नेसन्स लिग जिताइसकेका थिए। अब उनको अघि अर्को एक प्रतियागिता थियो। लामो समयपछि विदेशमा प्रतियोगिता खेल्दै थिए। त्यसका लागि भिसा समयमै आइसकेको थियो। र, उनी गएको जुलाई ८ तारिखमा इंग्ल्यान्ड हानिए।

‘इंग्ल्यान्ड जाँदैछु र ओभल इन्भिन्सिबल टिममा पुग्न चाहिरहको छु,’ द हन्ड्रेडको टिम इन्भिन्सिबलमा खेल्न पाउँदा उत्साहित देखिन्थे सन्दीप। तर उनको उत्साह क्षणभरमै ओइलायो। इंग्ल्यान्डमा १० दिनको क्वारेन्टिन अवधि नसकिँदै उनले पाएको भिसा टिएर–५ ले त प्रतियोगिता खेल्नै नपाउने आयोजकले बतायो। सायद त्यसले पनि सन्दीपलाई ठूलो चोट दिएको छ।

ऐतिहासिक अवसर गुमाएका सन्दीप अहिले रनभुल्लमा परेका देखिन्छन्। सायद जीवनमा के भइरहेको छ पत्तै पाएका छैनन्। ‘टिएर–५ भिसाका लागि आवेदन दिँदा दुवै प्रतियोगिताका लागि प्रायोजन प्रमाणपत्र मात्र भए पुग्ने बताइएको थियो। टि–२० ब्लास्टका लागि भिसा समयमा नआएपछि वोर्चेस्टरसाएरले नाम फिर्ता लियो।

यता यस प्रतियोगितामा जुलाई १० अघि बेलायत आए मेरो प्रायोजकको प्रमाणपत्र मान्य हुने सूचना दिइएको थियो,’ उनी फेसबुकमा लेख्छन्, ‘म जुलाई ९ मा बेलायत आउँदा अध्यागमनमा कुनै समस्या थिएन र सरकरले तोकेको क्वारेन्टिनमा बसेँ। यता मेरो क्वारेन्टिन पूरा हुनुभन्दा २ दिनअघि ईसीबी (इंग्ल्यान्ड क्रिकेट बोर्ड) बाट भिसा मान्य नभएको र सकेसम्म चाँडो देश छोड्न भनियो।’

उनले थप लेखेका छन्, ‘मैले लगातार ईसीबी अधिकारीसँग यसबारे कारण सोधिरहेको छु तर सही उत्तर पाइरहेको छैन।’ त्यतिमात्र होइन, पहिलो पटक आयोजना भएको द हन्ड्रेड खेल्न नपाउँदा उनलाई निकै पीडा छ।’

पीडा छ भन्दैमा सबैथोक छोड्न पनि भएन। त्यसबारे सचेत छन् सन्दीप। ‘समयमात्रै खराब छ अहिले, तर चिन्ता नलिनुस्, यो समय पनि एक दिन ठिक हुनेछ,’ नेपाल फर्किनुअघि आफ्ना फ्यान र आफैंलाई सम्झाउँदै उनले ट्वीटरमा लेखेका छन्।

कस्तो प्रतियोगिता हो द हन्ड्रेड?

इंग्ल्यान्डमा जुलाई २२ बाट सुरु हुने सय बलको क्रिकेट प्रतियोगिता हो द हन्ड्रेड। महिला तथा पुरुषको छुट्टाछुटै प्रतियोगितामा इंग्ल्यान्ड र वेल्सका ८ टिम सम्मिलित हुनेछन्।

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले यस्तो फर्म्याटको क्रिकेट सुरु गरेका हुन्। पाँच वर्षअघि इंग्ल्यान्ड र वेल्सको क्रिकेट बोर्डले इन्डियन प्रियिमर लिगजस्तै घरेलु प्रतियोगिता गराउन चाहिरहेका थिए। त्यसका लागि अधिकांश काउन्टी क्ल्बहरू राजी थिए।

तर, २०१७ मा ईसीबीका वाणिज्य प्रमुख सञ्जय पटेलले नयाँ योजना सुनाए। उनले एक प्राइभेट मिटिङमा सय बलको क्रिकेटबारे तर्क राखेका थिए। उनले ‘सय बलको क्रिकेट’ भन्दा सुन्नेलाई पनि सजिलो लाग्ने तर्क गर्दै नयाँ समर्थक बटुल्ने बताएका थिए।

त्यसको अर्को वर्ष यसको फर्म्याट निर्धारण गरिएको थियो। यसमा एलबीडब्ल्यू नियम समावेश गरिएको छैन। आयोजकले क्लबहरुलाई सूचना पठाउँदै सुरुमा १५ ओभर ६ बलको र अन्तिम ओभरमा १० बल हुने भन्दै सूचना पठाएको थियो। (नियमा लिंक – पछि ईसीबीले नियम परिवर्तन गर्दै १० बलको एक ओभर हुने बनाएको थियो। जहाँ एक खेलाडीले कप्तानको आदेशअनुसार लगातार पाँच वा १० बल गर्न सक्नेछन्। र, बलरले अधिकतम २० बलसम्म प्रहार गर्न सक्नेछन्।

त्यस्तै खेलमा २५ बलको पावर प्ले दिइनेछ। टी–२० मा ३६ बलको (६ ओभर) पावरप्ले हुने गर्छ। तर द हन्ड्रेडमा त्यसलाई १० बल घटाइएको छ। खेल साढे दुई घण्टामा सक्नुपर्ने नियम छ। यस दौरान जुन टिमले धेरै रन बनाउँछ, उसले खेल जित्छ।

यस्तो नयाँ नियमका साथ युवा दर्शक र नयाँ खेल हेर्न चाहने मानिसका लागि यो फर्म्याट ल्याइएको आयोजकले बताउँदै आएको छ। प्रतियोगिताअन्तर्गत एकै दिन, एकै ठाउँमा दुई खेल हुनेछन्। र, रंगशालामै गएर हेर्ने दर्शकले एउटै टिकटले दुवै (पुरुष र महिला)को खेल हेर्न पाउने छन्। र, दुवै टिमले टिकटको मूल्य सेयर गर्नेछन्।

प्रकाशित: Jul 22, 2021| 22:48 बिहीबार, साउन ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।