बुधबार, वैशाख १७, २०८२

फुटबल ग्ल्यामरको नयाँ मुकाम अर्थात् पीएसजी

फुटबल भावनाले मात्रै सुन्दर हुने होइन, त्यसका थुप्रै आयामहरु छन्। ती सबै आयामको सम्मिश्रण नै सुन्दर फुटबल हो।
 |  सोमबार, साउन ३२, २०७८

विनय सापकोटा

विनय सापकोटा

सोमबार, साउन ३२, २०७८

काठमाडौं– दुनियाँको कम महत्वपूर्ण विषयमध्ये सबैभन्दा महत्वपूर्ण हो, फुटबल। यो भनाइ हो पेरिस सेन्ट जर्मेन (पीएसजी)का पूर्वप्रशिक्षक तथा हाल रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सोलोटीको।

हो, फुटबल कम महत्वपूर्ण विषय हुँदाहुँदै पनि सबैभन्दा महत्वपूर्ण बनिदिएको छ। यसअर्थमा कि फुटबल केवल खेल मात्रै होइन, यो भावना पनि हो। जब कुनै चिजमा मानिसको भावना जोडिन्छ, त्यो महत्वपूर्ण बनिदिन्छ। तब न फुटबलका महान् हस्ती पेलेले भनेका छन्– फुटबल सुन्दर खेल हो। 

फुटबल भावनाले मात्रै सुन्दर हुने होइन, त्यसका थुप्रै आयामहरु छन्। ती सबै आयामको सम्मिश्रण नै सुन्दर फुटबल हो। तर, व्यावसायिक फुटबलको कुरा गर्ने हो भने त्यसमा ग्ल्यामरको छुट्टै महत्व हुन्छ। जसले क्लबको उपाधि जित्ने योजना होस् वा व्यावसायिक योजनामा सहयोग गरोस्। 

अहिले फुटबल ग्ल्यामरको मुकाम बनेको छ–पीएसजी। २१ औं शताब्दीका उत्कृष्ट फुटबलर मध्येका एक लियोनेल मेस्सी पीएसजी पुगेका छन्। उनको आगमनसँगै पीएसजी फुटबल ग्ल्यामरको मुकाम बन्न पुगेको हो। अब पीएसजी टिम मात्रै रहेन, ‘सुपरटिम’मा परिणत भएको छ। सुपरटिम यस अर्थमा कि पीएजसीमा जति स्टार खेलाडी सायदै अर्को क्लबमा छन्। 

सन् २०१७ बाट नै पीएसजी सुपरटिम बन्ने अभियानमा थियो। त्यो वर्ष उसले बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २२२ मिलियन यूरोमा ब्राजिलियन स्टार नेयमार भित्र्याएको थियो। त्यही सिजनमा पीएसजीले फ्रान्सका युवा स्टार केलियन एम्बाप्पेलाई भित्र्याएको थियो। नेयमार स्टार छँदै थिए, त्यसमा एम्बाप्पे रसिया विश्वकपबाट यसरी उदाए कि उनी क्लबका ठूलो सम्पत्ति बन्न पुगे। 

Metro Mart
worldlink
पीएसजीले सुपर टिम बनाउनुको पछाडि दुईवटा कारण छन्। पहिलो– च्याम्पियन्स लिग जित्नु र दोस्रो– व्यावसायिक फुटबलमा सबै हिसाबले पावर हाउस बन्नु। 

पीएसजीले आफ्नो इतिहासमा च्याम्पिन्यस लिगको उपाधि जितेको छैन। दुई सिजन अघिमात्रै थोमस टुचेलको नेतृत्वमा उपाधि नजिक पुगेको थियो। तर, १–० गोलअन्तरको जित निकालेर जर्मन क्लब बायर्न म्युनिखले पीएसजीको मुखमै आएकोे उपाधि खोसेको थियो। 

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको फाइनल यात्रा तय गराएका प्रशिक्षक टुचेल लगत्तैको सिजनमा बर्खास्त भए। अहिले पीएसजीको नेतृत्व अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोले गरिरहेका छन्। र पीएसजीले विश्वका ठूला खेलाडीमा एकाधिकार जमाएको छ।

स्टार खेलाडीको आगमनसँगै पीएसजी विश्वमा सर्वाधिक तलब दिने क्लब समेत बनेको छ।। उसले तलबमा मासिक २५६ मिलियन पाउन्ड खर्च गरिरहेको छ। पीएसजीपछि धेरै तलब वितरण गर्नेमा रियल मड्रिड छ। उसले २१२ मिलियन पाउन्ड तलब बाँड्छ।

नेयमार र मेस्सीको पुनर्मिलन 

मैदानमा होस् वा मैदान बाहिर, मेस्सी र नेयमारको मित्रताको चर्चा सधैं हुने गर्छ। बार्सिलोनामा सँगै खेल्दा झाँगिएको उनीहरुको मित्रता नेयमार पीएसजी आएपछि पनि कम भएन। भलै नेयमारले बार्सिलोना छोड्दा मेस्सीको छायाबाट मुक्त हुन खोजेको र असफल बनेको आरोप खेपेका थिए। तर, मेस्सीसँग पुनः खेल्ने उनको इच्छा भने मरेन। जुन इच्छा उनले मनमा दबाएर राखेनन् र पीएसजी गएको एक सिजनपछि नै पुनः मेस्सीसँग खेल्ने बताइरहे। 

त्यसो त उनी आधा तलब कटौती गरेर भए पनि पनि बार्सिलोना फर्किने मनसायमा पुगेका थिए। तर बार्सिलोनाले फर्काएन, फर्काउन सकेन। मेस्सीसँग फेरि खेल्ने अधुरो सपना मनमा पालेर चोटसँग संघर्ष गर्दै उनी पीएसजीमै रहे। तर, गत सिजनबाट उनी बार्सिलोना फर्कने भन्दा पनि मेस्सीलाई पीएसजीमा ल्याउने अभियानमा होमिए। गत वर्ष उनले भनेका थिए, ‘म मेस्सीसँग फेरि खेल्न चाहन्छु र आगामी वर्ष हामी त्यो गर्नेछौं।’ 

मेस्सीले गत सिजनको सुरुवातमा बार्सिलोना छोड्ने फैसला गरेका थिए। त्यसपछि नै नेयमार उनलाई पीएसजीमा ल्याउन चाहन्थे। तर, बार्सिलोनाले मेस्सी बेच्न चाहेन।

२०१३ मा रियल मड्रिडको अफर अस्वीकार गरेर मेस्सीसँग खेल्न बार्सिलोना पुगेका नेयमारको पुनः सँगै खेल्ने सपना यो सिजनमा पूरा भएको छ। पीएसजीको फ्रन्टलाइनमा अब मेस्सी, नेयमार र एम्बाप्पे ‘एमएनएम’ ट्रियो हुनेछ। त्यो ट्रियोले विश्वमा कति चर्चा बटुल्ला, कति उत्कृष्ट होला वा नहोला त्यो भने समयक्रमसँगै थाहा हुनेछ। 


जबसम्म मेस्सी बार्सिलोनामा थिए, बार्सिलोना चर्चाको शिखरमा रहिरह्यो। मेस्सीबाहेक बार्सिलोनामा उत्कृष्ट खेलाडी छन्। तर, उनीहरुले बार्सिलोनाको स्टारडम भने बचाउन सकिरहेका छैनन्।

जसरी बार्सिलोनाको प्रतिद्वन्द्वी रियल मड्रिड छोडेर क्रिस्टियानो रोनाल्डो इटाली गए, त्यसपश्चात नै रियलको स्टारडम तोडिएको छ। अहिले बार्सिलोनाको स्टारडममा धक्का लागेको छ।

‘एल क्लासिको’का क्लबले पछिल्लो १० वर्ष फुटबललाई आफ्नो पछि लगाएका थिए। अब त्यो समय रहेन। अब विश्व फुटबलको ग्लामरस मुकाम पीएसजी बनिसकेको छ। 

आक्रामक ट्रान्सफर नीति

च्याम्पियन्स लिगमा बार्सिलोना र पीएसजीलाई निकटतम प्रतिद्वन्द्वीका रुपमा लिन थालिएको धेरै भएको छैन। २०१७ को च्याम्पियन्स लिगमा बार्सिलोनाले पेरिसमा बेहोरेको हार र घरेलु मैदानमा लिएको बदलापछि हरेक च्याम्पियन्स लिगमा यी दुई क्लबको चर्चा हुने गरेको छ।

अब पीएसजीको अट्याकिङमा मेस्सी, नेयमार, एम्बाप्पे, माउरो इकार्डी, डि मारिया, पाउलो सरावियाजस्ता खेलाडी हुनेछन्। अनि उसको मिडफिल्डको कमान्ड मार्को भेराट्टी, एन्डर हेरेरा, ड्यानियलो परेरा, जोनियानो वाइनाल्डुम, राफिन्हा हुनेछन्।

डिफेन्डरको कमी नरहेको पीएसजीले यो सिजन मात्र दुई स्टार डिफेन्डर भित्र्याएको छ। सर्जियो रामोस र आर्चाफ हाकिमीलाई अनुबन्ध गरेको छ। पीएसजीमा यसअघि नै किम्बेम्पे, माक्न्यिोस र बर्नाट जस्ता डिफेन्डर थिए। अनि केलर नभास र डोनारुमा पीएजीका स्टार गोलकिपर हुन्। यसरी अहिले पीएसजीमा स्टार खेलाडीकै दबदबा स्थापित हुने पुगेको छ। 

‘ब्रेकिङ प्वाइन्ट’मा एम्बाप्पे

सिनियर खेलाडीले क्लब नै भरिएपछि अहिले युवा फरवार्ड एम्बाप्पे भने अन्योलमा छन्। त्यसो त उनी पछिल्लो सिजनबाटै रियलको प्रस्तावको पर्खाइमा छन्। एम्बाप्पेका आइडल मेस्सी होइनन्, रोनाल्डो हुन्।

पीएसजीमा अनुबन्ध हुनुअघि उनको कोठा रोनाल्डोका विभिन्न तस्बिरले सजिएको फोटोले पनि निकै चर्चा कमाएको थियो। भविष्यमा रोनाल्डोसँग खेल्ने सपना देखेका एम्बाप्पेको अर्को सिजन सकिएसँगै पीएसजीसँगको सम्झौता सकिने छ।

त्यसपछि उनले रोनाल्डोसँग खेल्न नपाए पनि रियल मड्रिडबाट खेल्ने सपना देख्दै आएका छन्। यही बेला अर्को हल्ला चल्न थालेको छ। पीएसजीले अर्को सिजनमा एम्बाप्पेलाई बचेर रोनाल्डो किन्ने प्रयास गर्दैछ। त्यसो त कुनै पनि फुटबलरको सपना च्याम्पियन्स लिग जित्नु नै हुन्छ। चार वर्षअघि पीएसजीमा पुगेका नेयमारको इच्छा पनि त्यही छ। एम्बाप्पेले नेयमारको इच्छामा सहकार्य गर्ने पनि बताउँदै आएका छन्। तसर्थ उनी च्याम्पियन्स लिग जित्न चाहन्छन्।

तर च्याम्पियन्स लिगको रियल भन्दा प्रमुख दावेदार चाहिँ पीएसजी नै देखिएको छ। त्यसले उनको अन्योलतामा मलजल गरिरहेको छ। यता १५ अगस्टमा एन्डर हेरेराले ग्राण्ड बर्थडे पार्टीको आयोजना गरेका थिए। त्यसमा इकार्डी, मेस्सी, रामोसलगायत अधिकांश पीएसजीका खेलाडी सहभागी थिए। तर एम्बाप्पेलाई उनले निम्तो नगरेको समाचारले फुटबल वृत्त लाई तताएको छ।

इटालियन पत्रिका ग्याजेटा डेल्लो स्पोर्टसले त मेस्सीलाई अनुबन्ध गरेकोमा एम्बाप्पे खुसी नभएको समाचार छापेको थियो। एम्बाप्पेले सार्वजनिक रुपमा केही बोलेका छैनन्। तर पीएसजी अध्यक्ष नासिर अल खेलाइफी र पोचेटिनोलाई एम्बाप्पे ‘ब्रेकिङ प्वाइन्ट’मा पुगेको राम्रोसँग थाहा छ। यसबारे रियल मड्रिडसँग नजिक रहेको स्पेनिस पत्रिका मार्काले लेख्दै आएको छ।

पोचेटिनोलाई दबाब

विश्वकै ठूला, उत्कृष्ट स्टार खेलाडीको भीडले प्रशिक्षक पोचेटिनोमाथि पक्कै दबाब थपिएको छ। टिम कसरी मिलाउने भन्ने विषयमा पोचेटिनो दबाबमा हुनेछन्। मेस्सीको प्रभुत्व रहेको अर्जेन्टिनाको राष्ट्रिय टिममा इकार्डी पर्न छोडेको धेरै भइसकेको छ। खासमा मेस्सी र इकार्डीबीचको सम्बन्ध राम्रो नभएको चर्चा चल्दै आएको छ।

तर, मेस्सीको पीएसजीमा पहिलो ट्रेनिङमा भने उनीहरुले एकअर्कासँग अंगालो मारेका छन्। यद्यपि उनीहरुबीच मैदान बाहिरको सम्बन्ध भने राम्रो नभएको बताइन्छ। इकार्डी इटालियन क्लब सम्पोडोरियामा रहँदा आफ्ना टिममेट म्याक्सी लोपेजको पूर्वपत्नी वान्डा नारासँग डेट गरेका थिए। र, इकार्डीले बान्डासँग २०१४ मा विवाह गरेका थिए।

त्यसपछि लोपेज र इकार्डीको सम्बन्ध राम्रो छैन। मेस्सी लोपेजका नजिकका साथी हुन्। जसका कारण मेस्सी र इकार्डीको सम्बन्ध बिग्रिएको बताइन्छ। त्यसले गर्दा अर्जेन्टिनाको टिममा मेस्सी रहुन्जेल इकार्डीलाई कुनै स्थान नभएको समाचार बेलाबेला आइरहन्छन्। अब मेस्सी र इकार्डी एउटै टिममा छन्। उनीहरुलाई म्यानेज गरेर खेलाउनुपर्ने दायित्व पोचेटिनोसँग हुनेछ।

यस्तै नाभास र डोनारुमा दुई उत्कृष्ट गोलकिपर हुन्। कसलाई पहिलो रोजाइमा खेलाउने? निर्णय गर्न पोचेटिनोलाई सहज हुनेछैन।

यद्यपि अप्ठ्याराका बाबजुद पूर्वबार्सिलोना कप्तान र पूर्व रियल मड्रिड कप्तानलाई पोचेटिनोको रणनीतिमा खेलाउँदा फुटबलको सुन्दरता देखिनुले समर्थकको विश्वास छ।

पछिल्लो खेलमा नयाँ खेलाडी स्वागत गरेपछि पोचेटिनोले भनेका थिए, ‘पीएसजीका लागि यो दिन निकै अचम्मको रह्यो। अब यी खेलाडीहरुको रहस्यमयी संग्रह खेलमा देखिँदा अझै अचम्म हुनेछ।’

–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा


प्रकाशित: Aug 16, 2021| 20:30 सोमबार, साउन ३२, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।