शुक्रबार, साउन १०, २०८२

नेपथ्यको रौनक : फिदिमको मैदानमा इलामको तातो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

फिदिम - ‘तिमी देऊ तिम्रा हातहरु, म दिन्छु मेरा हातहरु
आऊ मिलाउँ हाम्रा हातहरु
न्याय र समानताको लागि, आऊ मिलाउँ हाम्रा हातहरु’


कुनै समय रामेश र मन्जुलले राल्फा अनि संकल्प कालमा गाएका गीतको यो लाइन सुनाइसकेपछि मञ्चबाटै गायक अमृत गुरुङले सोधे, ‘मेरो हात सदैव डा. गोविन्द केसीसँग छ। तपाईहरुको हात नि?’

प्रतिउत्तरमा दर्शकले चर्को आवाजमा ‘हाम्रो पनि’ भनेर चिच्याए ।

अमृतले स्टेजबाटै अहिलेसम्म डा. केसीसँग बारम्बार गरिएका सम्झौता किन कार्यान्वयन नगरिएको? भनेर प्रश्न उठाएका थिए।

‘हिजो रामेश र मन्जुलका यस्तै गीतहरुको माध्यमबाट राजनीति गर्दै सत्तासम्म पुगेकाहरुलाई आज यिनै गीतको मर्म हामीले सम्झाइदिनुपर्ने भएको छ,’ मञ्चबाट ओर्लिएपछि अमृतले भने, ‘राल्फा र संकल्पकालीन गीतहरु यतिबेला फेरि शक्तिको श्रोत बनेको छ।’


पाँचथर सदरमुकामस्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानभरि भेला भएका दर्शकको भीँडले त्यसपछि नेपथ्यसँग मिलेर गाएको थियो–

‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
यो देसको मुहार, फेर्नलाइ उठ’


गीत गाउनुअघि अमृतले फिदिम आउने क्रममै बाटोमा इलाम पसेर अनशनरत डा. केसीको दर्शन गरेको जानकारी दर्शकलाई दिए।

‘जसरी हिजो अन्याय र अराजकताको विरुद्धमा बोल्दा डर धम्कीको सामना गर्नुपरेको थियो त्यसैगरि आज डा. केसीको पक्षमा बोल्दा भयभीत हुनुपरेको छ,’ उनले भने, ‘यस्ता डर र धम्कीहरुबाट मुक्त हुनकै निम्ति मैले रामेश र मन्जुलहरुको सम्झना गरेको हुँ।’ द्वन्द्वकाल, शाहीकाल, लोकमानकाल हुँदै अहिले गोविन्द केसी विरोधीहरुको कालसम्म नेपालीहरु नडराएको पनि उनले स्पष्ट पारे।

यसरी छिमेकी इलामबाट बोकेर ल्याएको तापकै कारण माघ २ को चिसो फिदिमलाई नेपथ्यले दुइ घन्टासम्म रन्काइदिएको थियो।

अरुण खोला भन्दा पारि अर्थात् पल्लो किराँतको केन्द्र फिदिममा नेपथ्य पहिलोपटक बुधबार प्रस्तुत भएको हो।

‘१५ वर्षअघि कच्ची बाटो छिचोल्दै यहाँ आउँदा द्वन्द्वकालको अँध्यारो फिदिम देखेको थिएँ,’ अमृतले भने, ‘अहिले सहर बनिसकेको यस ठाउँमा तपाइँसँग यसरी भेट्ने जोग मिलाइदिएकामा सबैलाइ धन्यवाद छ।’

त्यसपछि उनले गाएका थिए–
‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’


कन्सर्टमा पाँचथर मात्र नभएर छरछिमेकका इलाम, तेह्रथुमहुँदै उत्तरतिरको ताप्लेजुङदेखिका दर्शक ओइरिएका थिए। त्यसैगरि मोटरमा झण्डै छ घन्टा परको झापादेखि आइपुगेका फाटफुट दर्शक पनि मैदानमा देखिन्थे। फुटबल मैदानमै तयार पारिएको मञ्च अगाडि उभिनेदेखि लिएर छेउका ढिस्काहरुमा बनाइएको अस्थायी प्यारापिटमा बस्नेसम्मका गरेर झण्डै छ हजार दर्शक अटाएका देखिन्थे।

‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘चरि मर्‍याे’, ‘रेशम’ हुँदै ‘भेँडाको ऊनजस्तो’ जस्ता थुप्रै सर्वकालीक हिट गीतहरुकै क्रममा ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’ पनि सुनाएको थियो। पूर्वेली लोकलय हाक्पारेमा आधारित यस गीतलाई सुनाउने बेलामा दर्शक उत्तिकै रमाए। काठमाडौंदेखि पैदल यात्रागर्दै छिमेकको संखुवासभा चैनपुर आइपुग्दा यसको संकलन गरिएको जानकारी अमृतले गराएका थिए।

‘तपाइँहरुले देस घुम्नुभएको छ कि छैन?’ सँधैजस्तै अमृतले फिदिमका दर्शकहरुलाई पनि प्रश्न गरे, ‘विविधताले सिंगारिएको आफ्नो देस घुम्ने मौका नगुमाउनु्स् है...।’

कन्सर्ट हेर्नका निम्ति विभिन्न जिल्लाबाट भेलाभएका दर्शकहरु दिउँसैदेखि मैदानमा भरिन थालेका थिए। काठमाडौं वा अन्यत्र ठूला सहरमा जस्तै उच्च स्तरको प्रविधि प्रयोग गरिएको नेपथ्य कन्सर्ट हेर्न पाउँदा आफूहरुलाई खुशी लागेको उनीहरुले बताए।

सुदुर पूर्वी पहाडको यस बस्तीमा नेपथ्यलाई निम्त्याउने धेरै वर्षदेखिको प्रयास बल्ल सार्थक भएको आयोजक सुम्हात्लुङ युवा क्लबले जनाएको छ। उक्त क्लबकै अगुवाइमा यहाँका नगरपालिकादेखि लिएर थुप्रै संघ संस्थाहरु आयोजनामा आवद्ध थिए। फिदिमको प्रवद्र्धन मुख्य उद्देश्य राखिएको यस कार्यक्रमबाट फाइदाको रकम विभिन्न सामाजिक कार्यमा लगानी गरिने आयोजकले बताएका छन्। कार्यक्रम भव्यताको साथ सम्पन्न भएको जानकारी स्थानीय व्यवस्थापक एवं सुम्हात्लुङ युथ क्लबका अध्यक्ष दिपेन योक्पानदेनले दिए।

सँधैजस्तै फिदिमममा पनि अमृतलाई ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्