काठमाडौं- सात वर्षपछि रोमेलु लुकाकु इंग्लिस क्लब चेल्सी फर्किए। जोश, चुनौति र उमंगका साथ २८ वर्षे स्ट्राइकरले बिहीबार लन्डन क्लबसँग पाँच वर्षको सम्झौता गरे।
‘म यहाँ बालखै हुँदा आएको थिएँ र धेरै कुरा सिकेँ। अहिले म धेरै वयष्क भएर र अनुभव बटुलेर चेल्सी फर्किएको छु,’ लन्डन क्लबमा अनुबन्ध भएपछि लुकाकुले भने, ‘अब क्लबलाई उपाधि जिताएर गौरवपूर्ण अनुभव गर्न चाहन्छु।’
उनले जस्तै चेल्सीले पनि लुकाकुलाई विश्वास गरेरै क्लब इतिहासकै सबैभन्दा धेरै रकम खर्च गरेको छ। चेल्सीले ट्रान्सफरमा मात्र २९० मिलियन पाउन्ड कारोबार गरिसकेको छ। प्रिमियर लिगमा सर्वाधिक महँगा पाँच ट्रासन्फरमध्ये लुकाकुकै ट्रान्सफर दुईपटक पर्छ।
पछिल्लो सरुवासँगै लुकाकु इटालियन लिग सिरी एले बेचेका सबैभन्दा महँगा खेलाडी बनेका छन्। उनी दुई सिजनअघिको गृष्मकालिन सरुवा बजारबाट इटालियन क्लब पुग्दा इटालियन इतिहासकै तेस्रो महँगा खेलाडी थिए। त्यतिबेला युनाइटेडबाट इन्टर मिलान पुगेका लुकाकुले दोस्रो सिजन नै क्लबलाई लिग उपाधि दिलाए।
पहिलो सिजन पनि लिगविजेता युभेन्टसभन्दा एक अंक पछि थियो इन्टर मिलान। तर दोस्रो सिजन उनले क्लबलाई ११ वर्षपछि लिग जिताए। उपाधिको नायक थिए लुकाकु। त्यो उपाधिले युभेन्टसको १० वर्षे दबदबालाई तोडेको थियो। लिग जिताउने क्रममा उनले २४ गोल गरे।
लुकाकुले अहिले लन्डन फर्किनुलाई सहि समयमा सहि निर्णय लिएको बताएका छन्। ‘२८ वर्षको उमेरमा सिरी ए जितेपछि म चेल्सी फर्किएँ। यहाँबाट अझै धेरै जित्ने आशा छ र समय पनि छ,’ उनले भने।
चेल्सीका अर्का फरवार्ड ओलिभर जिरुड त एसी मिलान पुगिसकेका छन्। त्यसैले उनी आएपछि चेल्सीका टामी अब्राहम वा टिमो वेर्नरलाई विस्थापन गर्न सक्नेछन्। किनभने दुवै खेलाडीले पछिल्लो लुकाकुको छेउछाउको पनि प्रदर्शन गर्न सकेका छैनन्।
पछिल्लो सिजनमा लुकाकुले ३६ खेलमा २४ गोल गरेका छन् भने वेर्नरले ३५ खेलबाट ६ गोल गरेका छन्। यता २२ खेलमा सहभागी बनेका अब्राहमले पनि ६ गोल गरेका छन्। लुकाकुको गोल पासको संख्या पनि धेरै छ। जितेका फउल पनि अन्य खेलाडीको तुलनामा धेरै छन्।
विगत सम्झिने हो भने चेल्सीमा उनको पहिलो यात्रा निकै पीडादायी रह्यो। क्लबले साइन गर्दा चेल्सीका लेजेन्ड डिडियर ड्रोग्बासँग तुलना गरिएका उनले तीन सिजनमा १५ खेलबाट एकमात्र गोल गर्न सके। तर तीनमध्ये दुई सिजन चाहिँ लोनमा अर्कै क्लब पुगेका थिए।
लोनमा एभर्टनबाट एक सिजन खेलेपछि उनी त्यहाँ अनुबन्ध भएर तीन सिजन खेले। अन्ततः एभर्टनले २०१७ मा कीर्तिमानी मूल्यमा म्यानचेस्टर युनाइटेडलाई बेच्यो। युनाइटेडका ९६ खेलमा ४२ गोल गरेपछि उनी इटालियन क्लब गएका थिए। जहाँबाट अहिले पुनः चेल्सी फर्किए।
‘चेल्सी छोडेपछि मेरो जीवनमा धेरै आरोह–अवरोह आए। ती मिश्रित अनुभवले मलाई अनुभवी र बलियो बनाएको छ,’ लुकाकु पछिल्लो यात्राको समीक्षा गर्छन्। जे होस्, उनको खेल करिअर जस्तौसुकै होस्, मैदानमा रहँदा सबैलाई आकर्षित गर्ने क्षमता छ लुकाकुमा।
लुकाकुको परिवार र बाल्यकाल
बेल्जियन काला अल्पसंख्यक परिवारमा लुकाकु जन्मिए। उनको बाल्यकाल सामान्य अवस्थामा बित्यो। उनका बाबु रोजर फुटबलमा निष्ठा, श्रद्धा र प्रतिबद्धता भए मात्र खेल्न सकिन्छ भन्ने भावना भएका व्यक्ति थिए। लुकाकुमा पनि बाबुको प्रभाव चाँडै पर्यो।
त्यतिबेला रोजर प्रिमियर लिगका सबै खेल नछुटाई हेर्थे। बावुसँगै लुकाकुलाई पनि खेल हेर्ने बानी पर्यो। उनी पनि रोजरसँग बसेर घण्टौं खेल हेर्ने गर्थे। एकप्रकारले लुकाकु खेल एडिक्टेड भए। त्यो बानी व्यवहारमा परावर्तन हुन थाल्यो। टेलिभिजनमा हेरेर उनले खेल कौसल सिक्न थाले।
बाबु रोजर फुटबलर थिए ‘सेन्टर ब्याक’ अर्थात् रक्षक । जैर (पहिलेको कंगो, १९७१–१९९७ बीचमा, डेमोक्रेटिक कंगो)को टिमबाट रोजरले अन्तर्राष्ट्रिय खेलसमेत खेले। बाबुको खेल प्रेम देखेर लुकाकु मोहित थिए ।
रोमेलुलाई फुटबलमा छिर्न भिडियो गेमले पनि सघाएको छ। टेलिभिजनदेखि भिडियो गेमको यात्रा भने एकडेमीमा पुगेपछि केही कम भयो। उनी अब आफ्नो कौशल तिखार्न थाले।
लुकाकु एकेडेमीदेखि नै डेडिकेटेड खेलाडी थिए। त्यहाँ भाइ जोर्डन लुकाकुसँगै फुटबल खेल्न थाले र दाजुभाइ सँगै अभ्यास गर्थे। उनीहरुले गरेको अभ्यासमा रोजरले खुब ध्यान दिन्थे। गल्ती पत्ता लगाइदिन्थे। सिकाउँथे, जानेका कुराहरु बताउने गर्थे। कहिलेकहिँ आफूले खेल्दाका अनुभव पनि सुनाउँथे। त्यसरी लुकाकुले खेल करिअर अघि लगे।
फुटबल करिअरको सुरुवात
फुटबलको अत्यधिक मोहका कारण रोजरले उनलाई स्थानीय क्लब ‘रुपेल बम’मा आबद्ध गराए। पहिलोपटक क्लब भर्ना हुँदा उनी पाँच वर्षका मात्र थिए।
‘रुपेल बम’को चार वर्षे यात्रामा उनले असामान्य प्रदर्शन गरे। अन्य खेलाडीभन्दा उत्कृष्ट प्रदर्शन गरेपछि ‘लिर्से’को नजरमा बनिहाले लुकाकु। ‘लिर्से’ बेल्जियम को उत्कृष्ट युवा एककडेमी थियो, जसमा उनी सन् २००४ आबद्ध भए।
क्लबमा खेलका दौरान ६८ खेलमा १ सय २१ गोल गरेर सबैलाई आफ्नो प्रभावमा पारे। उनको खेल क्लबका लागि एक उदाहरणीय थियो। तर राम्रो प्रदर्शनका बाबजुद ‘बेल्जियन प्रो लिग’मा लिर्से रेलिगेसनमा पर्यो। क्लबका राम्रा खेलाडी लिर्से छोडेर ‘एन्डरलेच्ट क्लब’मा आबद्ध भए। त्यसमध्येकै एक थिए – लुकाकु। एन्डरलेच्टबाट ९३ खेलमा १ सय ३१ गोल गरे। त्यसपछि बेल्जियमकै प्रसिद्ध र चर्चित युवा खेलाडी बन्न उनलाई कसैले रोक्नै सकेन।
एन्डरलेच्ट लुकाकु गुमाउन चाहँदैन थियो। त्यसैले उनी १६ वर्षमा प्रवेश गरेलगत्तै सन् २००९ मा ३ वर्षको सम्झौता गरिहाल्यो।
क्लब ‘बेल्जियम प्रो लिग २००९–१०’ को राम्रो टिम बनेसँगै लुकाकु लिगकै सर्वाधिक गोलकर्ता बने। उक्त सिजनमा लुकाकुले १५ गोल गरे। लुकाकुको योगदान एन्डरलेच्टले लिग जित्ने दरिलो खुड्किलो बन्यो। यसका साथै एन्डरलेच्ड ‘यूईएफए युरोपा लिग’ को उत्कृष्ट १६ टीममा पर्न पनि सफल बन्यो।
अर्को सिजन एन्डरलेच्डले प्रो लिगको टाइटल त जित्न सकेन तर लुकाकुको २५ गोलको योगदानको बेल्जियमभरी नै कदर भयो।
अनि युरोपियन ठूला लिगको यात्रा
अहिलेको विश्व नम्बर वान बेल्जियमकै उत्कृष्ट खेलाडी भएपछि उनको फुटबल यात्रा बेल्जियममा सीमित रहेन। यूरोपको लोकप्रिय लिगमा उनको खेलले स्थान पायो। उनी प्रिमियर लिगमा आबद्ध भए। विश्वबजारमा उनको योगदानको कदर त्यतिखेरबाट सुरु भयो।
उनलाई पछ्याएको केही समयमा नै चेल्सीले पाँच वर्षको सम्झौता गर्यो। उनी प्रिमियर लिगमा जम्न थाले। डेब्यु खेलमै लुकाकु ‘म्यान अफ द म्याच’ भए। बेल्जियन फरवार्डको सुरुआति प्रदर्शनबाट उनको चर्चा सर्वव्यापी रुपमा अग्लिँदै गयो।
तर, डेब्युपछिका खेलमाट चाहिँ उनले आलोचना खेप्न थाले। उनको प्रदर्शन उतिसारो रोमाञ्चक बन्नै सकेन। त्यहाँ एक सिजन विताउँदा उनी आफैंले खेलप्रतिको तिख्खरता घटेको महशुस गरे। उता चेल्सीले यूईएफए च्याम्पियन्स लिगको उपाधि त उचाल्न सफल भयो। तर लुकाकु आफ्नो प्रदर्शनबाट खुसी हुन सकेनन्।
तत्पश्चात् लोनमा एक सिजनका लागि ‘वेस्ट ब्रोम एल्बियोन’ तर्फ लागे। त्यहाँ पनि डेब्यु खेलमै गोल गरे। उनले त्यहीँबाट चेल्सीमा गुमेको साख पुनः फिर्ता पाए। लिगमा छैटौं उत्कृष्ट गोलकर्ता बन्दै चेल्सीका सबै खेलाडीमाझ आफ्नो क्षमता सावित गरे।
युनाइटेडमा उनले सदाझैं जादुमयी सुरुवात गरे। ‘युइएफए सुपर कप’ बाट डेब्यु गरेका रोमेलुले पहिलो ९ खेलमै १० गोल गरे। सो सिजनको अन्त्यमा उनले २९ खेल खेल्दै २४ गोल गरे। उनी २३ वर्षअघि नै ५० प्रिमियर लिग गोल गर्ने पाँच खेलाडीमा पर्छन्।
एभर्टनमा जमिसकेका उनलाई पाँच वर्षको प्रस्ताव अस्वीकार्य नै भएन। क्लब छोडेर जानै सकेनन्। पाँच वर्ष त्यहीँ आबद्ध भएर २०१५ को ‘यूईएफए यूरोपा कप’का दुईमध्ये एक शीर्ष गोलकर्ता बने।
२०१६–१७ सिजनको एक खेलमा त उनले जादु नै गरे। सन्डरल्याण्डविरुद्धको खेलमा १२ मिनेटमा ह्याट्रिक गरे। यो ह्याट्रिक प्रमियर लिगमा १२ औं द्रुत ह्याट्रिक थियो। उनले २०१७ मा ‘पीएफए युवा खेलाडी’को अवार्डसमेत जिते। अन्ततः २०१७ को अन्त्यतिर प्रिमियर लिगकै सर्बाधिक विजेता क्लब ‘म्यान्चेस्टर युनाइटेड’मा आइपुगे।
युनाइटेडमा उनले सदाझैं जादुमयी सुरुवात गरे। ‘युइएफए सुपर कप’ बाट डेब्यु गरेका रोमेलुले पहिलो ९ खेलमै १० गोल गरे। सो सिजनको अन्त्यमा उनले २९ खेल खेल्दै २४ गोल गरे। उनी २३ वर्षअघि नै ५० प्रिमियर लिग गोल गर्ने पाँच खेलाडीमा पर्छन्।
दुर्व्यवहारको सिकार
लुकाकु भर्खरै मात्र ‘प्रिमियर लिग’ छोडेर ‘सिरी ए’ प्रवेश गरेका थिए। उनी नयाँ लिगमा प्रवेश गरेको समाचार विश्वभर छायो। तर लिगको दोस्रो खेलमै उनीमाथि दुर्व्यवहार भएको समाचारले फुटबल फ्यानलाई चस्स घोच्यो।
फुटबलमा यस्ता दुर्व्यवहार नयाँ भने होइनन्। उनले दोस्रो खेलमा क्यालिग्रीविरुद्ध पेनाल्टी प्रहार गर्दा ‘मन्की चान्ट’ का कारण दुर्व्यवहार भोगेका थिए। बेल्जियममा अल्पसंख्यक भएकै आधारमा र रंगका आधारमा दुर्व्यवहार खेप्नुपर्दा उनी आजित नभएका भने होइनन्।
उनले पछिल्लो समयको युरो कपअन्तर्गत रसियामा भएको खेलमा दुर्व्यवहारको सामना गरेका छन्। उनलाई टेलिभिजन कमेन्टेटरले नै अप्रत्यक्ष रुपमा ‘बाँदर’ भनेका थिए।
त्यसपछि उनले अहिले रंगभेद सधैंको भन्दा धेरै रहेको बताएका थिए। ‘अहिले सामाजिक सञ्जालका कारण दुर्व्यवहार बढेको छ,’ उनले युरो कपबीच भनेका थिए, ‘पहिले इटालीमा क्यालिग्रीको खेलका दौरान भने सिरी ए ले क्लबसँग सम्पर्क गरेर रंगभेदविरुद्ध जानकारी फैलाएको थियो।’
खेलमा पनि उनीमाथि तुलनात्मक रुपमा धेरै फल हुने गरेको छ। ठूलो कदका लुकाकु ती फलहरुलाई सहजै परास्त गर्दै अघि बढ्न भने माहिर छन्। त्यसैले उनका समर्थकले भन्छन्– लुकाकु आफू शान्त रहेर पनि आक्रामक फुटबल खेल्छन्।
व्यक्तिगत जीवन
उनको व्यक्तिगत स्वभाव र जिन्दगी बडो रमाइलो छ। सन् २०१४ बाट नतासा भानसँग रिलेसनमा रहेका उनीहरुले आफ्नो सम्बन्धलाई लुकाएनन्। सामाजिक सञ्जालमा छुट्टी मनाएका तस्वीरहरु सेयर गरिरहेको देख्न पाइन्थ्यो।
तर, त्यो सम्बन्ध धेरै टिकेन। उनीहरुले ब्रेक अप गरे। तर २०१६ यता लुकाकु साराह मेन्सको प्रेममा छन्। बेल्जियन मोडेलसँग लुकाकुको पाँच वर्षअघि अमेरिकाको एक पार्टीमा भेट भएको थियो।
त्यसपछि लुकाकुको खेल हेर्न साराह धेरै पटक एभर्टनकै रंगशालामा पुगेकी थिइन्। उनीहरुको एक छोरा पनि छ र उसको नाम रोमेरो हो।
उनलाई एक ‘डे स्कुल भान लुकाकु’ नामक फिचरमा हेर्न पनि सकिन्छ। यो डच च्यानलले बनाएको डकुमेन्ट्री हो। उनी किशोर खेलाडी हुँदा नै उनको डकुमेन्ट्री बनाइएको थियो, जब उनी एन्डरलेच्टमा थिए। फिल्ममा उनी आफ्ना साथीहरुसँग दैनिक कसरत गरिरहेको देखाइएको छ।
उनी फुटबलका साथै पाँच भाषामा पोख्त छन्। डच, अंग्रेजी, पोर्चुगीज, स्पेनीस र फ्रेन्च राम्रोसँग जान्दछन्। उनले अमेरिकाको बेभिली हिल्समा घर किनेका छन्। जहाँ उनी विदा मनाउन जान्छन्। उनले कालो रंगको मर्सिडिज र रोल्स रोयस गोस्ट कार किनेका छन्, जुन आफैं चलाउन मन पराउँछन्। - एजेन्सीहरूको सहयोगमा