काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि आलोचित बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मुख खोलेका छन्।
आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग उनले यसबारे बोलेका हुन्। प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ एडिट गरेको दाबी उनले गरे।
त्यो आवाज आफ्नो नभएको दाबी गरेका श्रेष्ठले जनवरीमा भएको अडियो अहिले सार्वजनिक गरेर पार्टीमाथि प्रहार गरिएको पनि बताए। अडियोका विषयमा आफू न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने उनले सुनाए। माघ १ मा प्रसाईंसँग रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो।
‘न्यायालयबाट क्लिन चिट लिएर आउँछु। त्यतिबेलासम्म धैर्य गर्नुहोला। मेरो कारणले पार्टी र उपनिर्वाचनलाई अफ्ठ्यारो स्थिति परेको छ। त्यसप्रति म क्षमाप्रार्थी छु। यो अडियोलाई ध्यानमा नराखी हाम्रो तीनै क्षेत्रका उम्मेदवारलाई सहयोग गर्नुहोला। यो अडियो केही पनि होइन, सुनियोजित रुपमा ल्याइएको हो, फसाइएको हो। जनवरी-फेब्रुअरीतिर भएको कुराकानी अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई सुनियोजित रुपमा चारैतिरबाट प्रहार गरेको हो। पार्टीको तीनैवटा क्षेत्रका उम्मेदवारलाई हराउने योजना हो।'
अडियो बाहिरिएपछि पार्टीले उनलाई स्पष्टीकरण सोधेको छ। यसैबारे छलफल र निर्णय गर्न उसले आज केन्द्रीय समिति बैठक पनि बोलाएको थियो। बैठकका क्रममा धुम्बाराही पुगेका श्रेष्ठले यसबारे बोलेका हुन्।
एकतर्फी रुपमा आफ्नो कुरामात्र राखेका श्रेष्ठले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ भने दिएनन्।