काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार शिष्टाचार भेट गरेका छन्।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षालगायत विषयमा छलफल भएको बताइएको छ।
नेपालगन्ज-रुपैडिया, भैरहवा-सुनौली तथा दोधारा-चाँदनीमा ‘इन्टिग्रेटेड चेकपोस्ट’ बनाउने विषयमा समेत भेटमा छलफल भएको थियो। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको कार्यक्रम छिट्टै तय हुने र वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास व्यक्त गरे।
उनले सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रणजस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने बताएको श्रेष्ठको सचिवालयले जनाएको छ।
भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहालको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको बताएका थिए। सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधीजस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने पनि राजदूत श्रीवास्तवको भनाइ थियो।