काठमाडौं- शहरी विकासमन्त्री सीता गुरूङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि मन्त्रालयलको जिम्मेवारी समन्वय गर्ने मात्रै रहेको बताइन्।
फोहोर व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरपालिकाको भएको भन्दै मन्त्री गुरुङले मन्त्रालयले व्यवस्थापनका लागि समन्वयकारी भूमिका निर्वाह गर्न कन्ज्युस्याँइ नगर्ने बताइन्।
‘हामीले समन्वयकारी भूमिका निर्वाह गर्ने कुरामा कुनै पनि कन्ज्युस्याँइ हुँदैन। विगतमा यहाँको फोहोर व्यवस्थापनको निम्ति शहरी विकास मन्त्रालयले समन्वय गरेर बञ्चरेडाँडासम्मको सडक निर्माण र अर्को भौतिक पूर्वाधार संरचना निर्माणको लागि जुन जिम्मेवारी थियो त्यो पूरा गरिसकेको कारणले गर्दा अब हामीले समन्वय गर्ने काम मात्रै हो।'
महानगरको सिंहदरबारको फोहोर नउठाउने कदमको सम्बन्धमा मन्त्रालयमा छलफल भएको र समस्या समाधानका लागि समिति नै बनाएर अघि बढ्न लागिएको उनको भनाइ छ। उनले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने टिप्पणी गरिन्।
'हिजो मात्रै हामीले मन्त्रालयमा छलफल गरेका छौँ। हामी तत्कालै बैठक बसेर एउटा समिति नै तयार गरेर त्यसबाट के गर्न सकिन्छ भन्ने एउटा निर्णय गरेर अगाडी बढ्ने भनेका छौँ,' मन्त्री गुरुङले भनिन्, 'फोहोरलाई देखाएर हामीले राजनीति होइन, निकास दिनुपर्छ। त्यो कुरामा हामी लागि परेका छौँ।’