काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गरेका छन्।
सोमबार नेपालगन्जमा राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘हो यो गठबन्धनले सक्दैन। यो गलत कामको लागि मात्रै बनेको गठबन्धन हो। यो गठबन्धनले राम्रो गर्न सक्दैन।’ उनले एमाले अध्यक्ष केपी ओलीको सरकार हुँदा जनताका आशा जगाउने काम भएको बताए। उनले भने, ‘हाम्रो पार्टीका अध्यक्षको नेतृत्वमा सरकार बनेपछि सबै कुरा राम्रो हुन्छ। जनताका भरोसा बढ्छ, आत्मविश्वास बढ्छ। हामी सरकारबाट बाहिरिँदा सबै जनता निराश हुन्छन्,’ उनले भने।
अहिलेको १० दलीय गठबन्धनले जनतालाई कुनै राम्रो कामको आभास दिलाउन नसकेको आरोप उनले लगाए। आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए। ‘हामी आजैदेखि अर्को निर्वाचनको तयारीमा छौं। अर्को निर्वाचन कहिले हुन्छ थाहा छैन। पाँच वर्षको कार्यकाल पूरा गर्ने पनि लक्षण छैन। आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी लाग्नुपर्छ,’ उनले भने।
उनले युवा आन्दोलनलाई नयाँ गति दिन आवश्यक रहेको बताए। ‘राष्ट्रिय राजनीतिमा युवा संघको भूमिका अझै बढ्दे देखिन्छ। टाउकोमा रातो फिता बाँधेर सडकमा उत्रिनुपर्ने अवस्था आउँदै छ। यो गठबन्धनको सरकार जनताको विरुद्धमा, राष्ट्रको विरुद्धमा एकपछि अर्का अपराध कर्म गर्दै गइरहेको छ। यो सरकार नेपाली भूमिको रक्षामा चुँ पनि बोल्दैन। लोकतन्त्र र संविधानको रक्षाको लागि युवा संघ मैदानमा उत्रिनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने।