बुधबार, वैशाख १७, २०८२

सांसद-व्यवसायी अडियो प्रकरण

हतास रवि, दृढ रवि

सुशासनको नारा लगाउने रविको पार्टीकै सांसदले खुलेआम व्यापारीसँग घूस मागेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्को आलोचना भइरहेको छ। रवि भने दृढ सुनिएका छन्।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- फरक धारको राजनीति गर्ने हुँकारका साथ मिडिया छोडेर आएका रवि लामिछाने पार्टी दर्ता गरेदेखि नै कुनै न कुनै विवादमा मुछिइरहेका छन्। यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवाद बाहिरिएपछि लामिछाने नेतृत्वको रास्वपा पुन: विवादित बन्न पुगेको छ।

पार्टीका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दु्ई करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेको पार्टी पुन: विवादित बनेको हो। पूर्वपत्रकार लामिछाने राजनीतिमा प्रवेश गरेसँगै बेला-बेला विवादको चरम चुलीमा पुग्ने पात्र हुन्। नागरिकता विवाद, राहदानी विवाद, विवाह विवादलगायत थुप्रै विवादमा मुछिएका लामिछाने यतिबेला पुन: अर्को विवादमा मुछिएका छन्।

गत निर्वाचनमा चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले नागरिकता विवादकै कारण गृहमन्त्री र सांसद पद गुमाउन पुगे। उक्त क्षेत्रमा यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ। रास्वपाबाट उक्त क्षेत्रका लागि लामिछाने नै उम्मेदवार बनेका छन्।

भ्रष्टाचार गर्दिनँ, सुशासन कायम गर्दै फरक धारको राजनीति गर्छु भनेर छोटो समयमै जनतामाझ उदाएको रास्वपा एकपछि अर्को विवादमा मुछिँदै गएपछि जनताको उसप्रतिको विश्वास गुम्ने देखिएको छ। यसको असर लामिछानेलाई उपनिर्वाचनमा पनि पर्ने आकलन हुन थालेको छ। केही दिन पहिले कांग्रेसका प्रभावशाली नेता एवम् अर्थशास्त्री स्वर्णिम वाग्ले र सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले रविसँग सहकार्यको घोषणा गरेका थिए। रविकै पार्टीबाट वाग्ले तनहुँ १ र खरेल बारा २ बाट उपनिर्वाचन लड्दैछन्।  

रवि उठेको चितवन-२ मा कांग्रेस, एमाले र रास्वपा प्रतिस्पर्धी शक्ति देखिन्छन्। गत चुनावमा फराकिलो मतान्तरले जितेका रविसँग प्रतिस्पर्धा गर्न कांग्रेसले जीतनारायण श्रेष्ठ र एमालेले रामप्रसाद न्यौपानेलाई अगाडि सारेको छ। गत चुनावमा रविले ४९ हजार ३०० मत ल्याएर जित्दा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत पाएका थिए। यसपटक कांग्रेस र एमालेले उम्मेदवार फेरेका छन्।

Metro Mart
worldlink

दलगत र उम्मेदवारका रुपमा हेर्दा यो उपनिर्वाचन अरुलाई भन्दा रास्वपा सभापति लामिछानेका निम्ति बढी अर्थपूर्ण देखिन्छ। प्रतिनिधिसभामा एक सिट घटेको रास्वपा त्यसको ठाउँमा तीन सांसद जिताउन उद्दत छ। चुनावपछि तीन महिना सत्तामा समेत बसिसकेकाले रास्वपा यो उपचुनावमा संसद्को चौथो ठूलो दलको हैसियतमा सहभागी हुँदैछ। यस अर्थमा जनतासामु परीक्षा पनि हो उसको।

११ पुसमा प्रचण्ड नेतृत्वको सरकारमा लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए। उनको दलले एक राज्यसहित तीन मन्त्री पाएको थियो। तर नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा सांसदसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्री र पार्टी सभापतिबाट पदमुक्त भए लामिछाने। पदमुक्त भएका लामिछानेले गैरसांसदका रुपमा फेरि सरकारमा जान चाहेका थिए। तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय दिन नमानेपछि रास्वपाले २२ माघमा सरकार छोड्यो।

सुशासनको नारा लगाउने रविको पार्टीकै सांसदले खुलेआम व्यापारीसँग घूस मागेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्को आलोचना भइरहेको छ। रवि भने दृढ सुनिएका छन्।

rabi90891681044874.jpgपैसा बार्गेनिङको अडियो सार्वजनिक भएपछि रविले शुक्रबार राति फेसबुकमा लेखेका छन्, 'ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी  होइन। पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरामात्र गर्दा पनि हामी सहँदैनौं।  कडा भन्दा कडा कारबाही गर्छौं। बेथितिको बचाउ गर्दैनौं  बरु उदांगो पारी दण्डित गर्छौं। २ करोड त के पृथ्वीभरिको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबैलाई थाहा छ। हो, पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधीहुरी सुनामी छेक्न सक्नु्पर्छ। अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ। दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु। आज अलि चाँडै सुत्छु। आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ। थप कुरा भोलि।'

सोमबार दिउँसोसम्ममा उनको फेसबुक स्टाटसमा १४ हजारभन्दा बढीले कमेन्ट गरेका छन्। उनको स्ट्याटसलाई २५ सय जनाले त सेयर गरेका छन्। कमेन्टमा धेरैले उनीप्रति व्यंग्य गरेर बनाइएका कार्टुन राखेका छन्। पहिले रविलाई कसैले गाली वा व्यंग्य गरेमात्रै त्यस्ता व्यक्तिविरुद्ध उनका शुभचिन्तकहरू निकै आक्रामक रूपमा खनिन्थे। तर, अहिले उनले पोस्ट गरेको स्टाटसमा प्रशंसामात्र छैनन्, आलोचना पनि पोखिएका छन्। 

कमेन्टहरु पढ्दा लाग्छ- उनीप्रति जनताको विश्वास गुम्दै गएको छ। नयाँ ढंगका साथ युवाहरूको साथमा छोटो समयमा आक्रामक रूपमा आएको रास्वपाप्रति जनताको ठूलो विश्वास भए पनि सरकारमा सहभागी भएदेखि  नै उसका एकपछि अर्को विवादका श्रृंखला बढ्ने गरेका हुन्। चाहे विवादित व्यक्तिलाई मन्त्रीमा पठाउँदा होस् वा कुनै अन्य निर्णय गर्दा उनका धेरैजसो निर्णय विवादित बनेका छन्।

सुशासनको नारा लगाउने रविको पार्टीकै सांसदले खुलेआम व्यापारीसँग घूस मागेपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म चर्को आलोचना भइरहेको छ। रवि भने दृढ सुनिएका छन्।

उनले जनतालाई देखाएको सपनाको चाङ ठूलो थियो। सोही आशमा जनताले उनको पार्टीलाई विश्वास गरे। ६ महिना पनि पूरा नभएको पार्टीले प्रतिनिधिसभामा  २० जना सांसद छिराउन सक्यो। लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने। यो स्थानमा पुग्न धेरैजसो नेतालाई दशकौं लाग्छ। 

रविले ढाकाकुमारलाई कुहिएको आलु भएको र बोराबाट झिक्ने अभिव्यक्ति दिए पनि आम मानिसले भने यसलाई फण्डाकै रूपमा लिएका छन्। चुनावी दौडमा रहेका रवि सोमबार पनि चर्को सुनिए। भाषणमा उनी हतास देखिए तर सँगै दृढ पनि। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गरे। 

उनले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ। अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’

लामिछानेले पार्टीभित्र देखिने यस्ता कृयाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रकृया अगाडि बढाइएको बताए। ‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भने।  

अर्को एक कार्यक्रममा लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्देश्यले अडियो रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई-तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ। कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने। लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताए।

आजै संसद् बैठकमा रास्वपाका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आफ्नो पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो संवादबारे संसद् बैठकलाई जानकारी गराएका छन्। उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियोका बारेमा छानबिन गर्न समिति गठन गरिएको र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। 

रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले सांसद श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा पार्टीको तर्फबाट माफी पनि मागे। परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन्।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईंहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं। संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं। यो घटनाले विचलित हुने छैनौं। राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ।’रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो।

यस्तो घटना पहिलो पटक भने नभएको परियारले तर्क गरे। उनले भने, 'नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।’

प्रकाशित: Apr 10, 2023| 16:07 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...