काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आफ्नो पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो संवादबारे संसद् बैठकलाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियोका बारेमा छानबिन गर्न समिति गठन गरिएको र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको जानकारी दिए।
रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले सांसद श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा पार्टीको तर्फबाट माफी पनि मागे। परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन्।
‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईंहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं। संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं। यो घटनाले विचलित हुने छैनौं। राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ।’
रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो।
यस्तो घटना पहिलो पटक भने नभएको परियारले तर्क गरे। उनले भने, 'नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।’