काठमाडौं- नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो।
देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार पछाई‚सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन्। तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन्।
गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लगिसकेपछि मात्रै सरकारलाई पूर्णता दिएका थिए।
शर्मालाई पहिलो पट्क नेपाली कांग्रेसका १४ सांसद बाहेक अन्य माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र १र१ गरि २५ संसदले विश्वासको मत दिएका थिए।
यस्तै, राप्रपाले गत फागुन १८ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लगेपछि चैत १७ गते दोस्रो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए। उनलाई दोस्रो पटकमा राप्रपा बाहेक अन्य सबै दलले विश्वासको मत दिएका थिए।