काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ३२ सिट भएको पार्टीले देश चलाउने सम्भावना नभएको टिप्पणी गरेका छन्।
शनिबार प्रेस चौतारी ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनमतबाट बढी सिट पाएका दलहरुलाई पुच्छर लगाएर थोरै सिट भएको पार्टीका नेताले मुलुक चलाउँदा जनताको अपमान भएको तर्क गरे।
उनले भने, 'सरकारको तीन महिनाको अवधि सकियो। प्रधानमन्त्री मेला, भेला उद्घाटन गरेर हिँडेका छन्। दिशाहीन सरकारको कुरा सुरक्षाकर्मी, निजामती कर्मचारीले पनि मान्दैनन्, कसरी देश चल्छ?'
सरकारको गन्तव्य पत्ता नलागेकोले यो गठबन्धन कति रहन्छ भन्ने प्रश्न उठिसकेको उनले बताए। 'यतिबेला मुलुकमा पैसा छैन, बजेट दिनानुदिन कटौती भएको छ। ५५ वर्षमा मुलुक राजस्वको लक्ष्यभन्दा उल्टो दिशामा छ। विदेश सम्बन्ध अविश्वासिलो छ, सुरक्षा निकाय कर्मचारीतन्त्रमा अन्योलता छ। अनि कसरी सरकार चल्छ,' उनले भने। मुलुकलाई गति दिन एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले सुनाए।
गठबन्धन परिवर्तन गरेर माओवादी अध्यक्ष प्रचण्डले गलत गरेको उनले बताए। संसदीय व्यवस्थामा सरकार बदलिनु, नयाँ सरकार बन्नु अचम्म नभए पनि गठबन्धनको सरकार गठबन्धन सरकारकै प्रधानमन्त्रीले बदलेर संसदीय व्यवस्थाको विकृत रुप देखाएको उनले दाबी गरे।
संसदीय व्यवस्था बदनाम भए पनि प्रधानमन्त्रीलाई कुनै अप्ठेरो नहुने उनले बताए। मुलुकको अवस्था चितुवाको गतिमा दौडनुपर्ने भए पनि कछुवा गति भएको भन्दै उनले त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाए।