नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएका छन्।
अखिल नेपाल महिला संघ (अनेमसंघ)को सातौं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले महिला दिदीबहिनीको निष्ठाले गर्दा एमाले अरु पार्टीभन्दा बलियो भएर उठेको दाबी गरे। उनले महिला दिदीबहिनीले पार्टीलाई विभिन्न चक्रब्यूहबाट जोगाएको समेत उल्लेख गरे।
'महिलाहरू हरेक तरबार हो। एमालेका विरुद्ध कसैले तरबार चलायो भने ढाल बनेर महिलाले छेकेका छन्। महिला दिदीबहिनीको योगदान गर्दा पार्टी सुरक्षित भएर जोगिएर फेरि देशको प्रमुख पार्टीको हैसियतमा उभिएको छ,' उनले भने। एमाले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई महिला दिदीबहिनीले प्रभावकारी, अनुसाशित र गतिशील रूपमा अगाडि बढाएको समेत बताए। उनले महिला अगाडि उभिएकाले एमालेलाई कसैले पनि हल्लाउन नसक्ने भनाइ राखे।
'एमाले कसैले किन हल्लाउन सक्दैन, दुर्गाकाली नवदुर्गा भएर हाम्रा महिला दिदीबहिनी अगाडि उभिनुभएको छ,' उनले भने। अस्तव्यस्त पार्न थालिएको एमालेको संगठनलाई बलियो र खँदिलो बनाएर अगाडि बढाइएको भन्दै उनले पुराना पुस्ताले पार्टीमा नयाँ पुस्ता जोडिँदै जानुपर्ने भनाइ राखे। नेपालको महिला आन्दोलन जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलतापूर्वक अगाडि बढेको उनको धारणा थियो।
अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको पनि स्पष्ट पारे। 'एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन। सबै एकजुट रहेका छन्। स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस् । स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस्,' उनले भने।
उनले एमालेका जातीय संगठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए। एमालेका हरेक संगठन गतिशील हुने भन्दै उनले अनेमसंघले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका महिला दिदी–बहिनीलाई सचेत र सशक्त बनाउनुपर्ने बताए। अध्यक्ष ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भनेको आजको नेपालको जनताको बहुदलीय जनवाद रहेको भनाइ राखे। सामाजिक परिवर्तन गर्नका लागि पार्टीमात्र भएर पुग्दैन भनेर नै सामाजिक संघसंगठनको रूपमा विभिन्न जनसंगठन स्थापना गरिएको उनको भनाइ छ ।
कार्यक्रममा अनेमसंघ अध्यक्ष थममाया थापामगरले एमालेको एकल बहुमतको सरकार नबनेसम्म संविधान र कानुनमा व्यवस्था भएका महिलाका अधिकार व्यवहारमा कार्यान्वयन गर्न समस्या आउने बताइन्। उनले अनेमसंघले तीन वर्षभित्र आफ्नो भवन बनाउने समेत बताइन्। अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ।