काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ।
गएराति गुवाहाटीमा भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ५ रनले हराएको हो। पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन मात्रै बनाउन सक्यो। उसका कप्तान सन्जु स्यामसनले ४२ तथा सिम्रोन हेटमायरले ३६ रन बनाए । पन्जाबका नाथन एलिसले ४ तथा अर्शदिप सिँहले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। पन्जाबका कप्तान शिखर धवन सर्वाधिक ८६ रनमा अविजित रहे।
त्यस्तै प्रभसिमरन सिंह ६० रनमा आउट भए। सिंहको आईपीएल क्रिकेटमा यो पहिलो अर्धशतक हो। राजस्थानका जेसन होल्डरले २ विकेट लिए। रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले एक/एक विकेट लिए।
पन्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुई खेलमा समान ४ अंक नै रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ।