काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।
१७ चैतमा मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री प्रचण्डले हाल ६ मन्त्रालय आफैंले सम्हालेका छन्।
बुधबार काठमाडौंमा आयोजित सहकारीकर्मीको भेलामा सहभागी प्रधानमन्त्री प्रचण्डले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।
कांग्रेस र जसपाभित्र मन्त्रीका लागि घरझगडा हुँदा नाम पठाउन ढिलाइ भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
‘सरकारले करिब–करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ। अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनतिर केन्द्रित हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। त्यसका लागि आजै सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने तयारी भइरहेको उनले जानकारी दिए।