काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षपछि हुने निर्वाचनमा आफ्नो पार्टीको एकल सरकार बन्ने दाबी गरेका छन्।
आगामी १० वैशाखको उपनिर्वाचनमा चितवन २ बाट रास्वपा उम्मेदवार रहेका लामिछानेले ६ महिनामा २० सिट जितेको आँकडाअनुसार पाँच वर्षमा दुई तिहाइ मत ल्याएर एकल सरकार गठन गरिने दाबी गरेका हुन्।
चितवन २ मा मत माग्न घरदैलो गरिरहेका उनले उपचुनाव हुन लागेका तीन वटै क्षेत्रमा रास्वपाले बाजी मार्ने बताए।
सर्वोच्च अदालतले नागरिकता विवादमा सांसद र मन्त्री पद खाइदिनुअघि सरकारमा बस्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको सेवामा नलागेर जनताको काम गरेको उनको भनाइ छ।
३२ दिन सरकारमा बस्दा कामले गति लिँदै गरेका बेला आफूमाथि मुद्दाका चाङ थुपारेर असफल बनाउने प्रयास गरिएको रविले गुनासो गरे।