काठमाडौं- वैशाख १० गते हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि बारा-२ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज साँझ ५ बजेसम्ममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो। सात जना दलका उम्मेदवार छन् भने बाँकी स्वतन्त्र छन्।
सत्तारूढ गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनी गत मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। त्यतिबेला उनलाई नेकपा (एमाले)ले समर्थन गरेको थियो। अहिले उनलाई गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टीले समर्थन गरेका छन्।
त्यस्तै, जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुसवाहाले उम्मेदवारी दिएका छन्। उनी गत निर्वाचनमा यही क्षेत्रमा ३५४ मतले पराजित भएका थिए। त्यतिबेला उनी माओवादीबाट चुनाव लडेका थिए।
नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। गत निर्वाचनमा पनि एमालेले समर्थन गरेको उम्मेदवारले जितेको र अहिले आफूलाई जनताले मत दिने उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। उनी गत निर्वाचनमा काठमाडौं-१ मा पराजित भएका थिए।
यसैगरी, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, नेपाल मजदूर किसान पार्टीबाट मुक्ति यादव, नागरिक उन्मुक्ति पार्टीबाट डा. कमरुल्लाह अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनेलाल यादव तेलीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, विनोदकुमार कर्ण, ध्रवलाल हजरा लगायतले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट जसपाका रामसहाय यादव निर्वाचित भएका थिए। उनी उपराष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको हो। निर्वाचित भएका यादवले १३ हजार ८२२ मत पाएका थिए भने निकटतम प्रतिद्वन्द्वी माओवादीका शिवचन्द्र कुसवाहाले १३ हजार ४६८ मत पाएका थिए।