काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा रिट दर्ता भएको हो।
चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल हिजो आइतबार सर्वोच्च अदालत पुगेका थिए। मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि आज दर्ता भएको हो। रिटको पेसी भोलि मंगलबारका लागि तोकिएको छ।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेउपर कानुनबमोजिम छानबिन गरी मुद्दा दायर गर्नुपर्ने पौडेलको माग छ। आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद हुँदाहुँदै महान्यायाधिवक्ताले रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दूराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको जिकिर उनले गरेका छन्।
त्यस्तै राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन्। लामिछानेले उक्त राहदानी कुन–कुन समयमा कुन प्रयोजनका लागि प्रयोग (दुरुपयोग) गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग छ।
यसअघि युवराज पौडेलले दायर गरेकै रिटमा फैसला गर्दै सर्वोच्चले रविको सांसद पद खारेज गरिदिएको थियो। आजमात्रै उनले चितवन-२ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। गत ४ मंसिरको निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।