काठमाडौं- आगामी १० वैशाखका लागि तोकिएको उपनिर्वाचनमा सत्ता गठबन्धनको नेतृत्व गरेर सरकार चलाइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टी नेकपा माओवादी केन्द्रका उम्मेदवार तीन वटै क्षेत्रमा उठेनन्। ४ मंसिरअघि पाँच दलीय गठबन्धन हुँदा प्रचण्डको पार्टीलाई कांग्रेसले आफू जित्ने संसदीय क्षेत्रमा समेत ठाउँ छाडिदिएर माओवादीका उम्मेदवारलाई जिताउन सघाएको थियो।
नेकपा माओवादी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा १७ स्थानमा विजयी भएको थियो भने समानुपातिकतर्फ १४ सिट पाएको थियो। तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नयाँ सरकारको नेतृत्व गर्न नदिएको आरोप लगाएर प्रचण्ड चुनावको परिणाम घोषणा भएलगत्तै नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ८ पुसमा बालकोट पुगेका थिए। ९ पुसमा एमाले नेतृत्वको सात दलीय गठबन्धन बनेर प्रचण्डलाई प्रधानमन्त्री घोषणा गरिएको थियो।
एमाले नेतृत्वको सात दलीय गठबन्धन लामो समय टिकेन। करिब दुई महिना टिकेको सात दलीय गठबन्धन विधिवत् रुपमा १२ फागुनमा अन्त्य भएको थियो। एमाले नेतृत्वको सात दलीय गठबन्धन हुँदा सभामुख, उपसभामुख सत्तारुढ दलबाटै निर्वाचित भएका थिए। कांग्रेसले २६ पुसमा प्रधानमन्त्रीलाई संसद्मा विश्वासको मत दिएपछि प्रचण्डले एमालेलाई बाइपास गर्न थालेका थिए।
नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उपाध्यक्षमा नाम दर्ता गराएकी उर्मिला अर्याल कांग्रेससहितको समर्थनबाट सर्वसम्मत निर्वाचित भएकी थिइन्।
१५ फागुनमा प्रचण्डको सरकारमा सहभागी एमाले मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका थिए। त्यसपछि कांग्रेस नेतृत्वको दस दलीय गठबन्धन जन्मिएको हो। दस दलीय गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएर कार्यभार सम्हालिरहेका छन्।
यसबीचमा प्रचण्डले तीन महिनामा सातौं पटक दस दलीय गठबन्धनबाट गत १७ चैतमा १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। सरकारले अझै पूर्णता नपाए पनि दस दलीय गठबन्धनबाटै तनहुँ १, चितवन २ र पर्सा २ बाट उपनिर्वाचनका लागि सिफारिसमा परेका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।
४ मंसिरअघि पाँच दलीय गठबन्धन हुँदा आफू जित्ने संसदीय क्षेत्रमा समेत ठाउँ छाडिदिएर माओवादीका उम्मेदवारलाई जिताएकाले यसपालिको उपनिर्वाचनमा कांग्रेसलाई सहयोग गर्न तम्सिएका हुन् प्रचण्ड।
आज उम्मेदवार मनोनयनको दिन हो। तर सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्डको पार्टीले तीन वटै स्थानमा हालसम्म उम्मेदवारी दिएन। यद्यपि आइतबार मात्रै नेकपा माओवादी केन्द्र तनहुँको जिल्ला स्तरीय नेतृत्वले तनहुँ २ बाट पार्टीका उम्मेदवार उठाउन प्रधानमन्त्री प्रचण्डलाई दबाबसहितको माग गरेको थियो। तर नेकपा माओवादी र प्रधानमन्त्रीले गत ४ मंसिरको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले गुन लगाएकाले अहिले पार्टीले कुनै पनि स्थानमा उम्मेदवारी नउठाउने घोषणा गरेका छन्।
तीन क्षेत्रमा हुने उपचुनावका लागि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएकाले चितवन २ मा गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ, तनहुँ १ मा गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन्। रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको बारा २ बाट भने कांग्रेससहितका गठबन्धन दलले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएका छन्। उपेन्द्रले बारा २ बाट भर्खरै मनोनयन दर्ता गराएका छन्। बारा २ मा हालै संघीय सरकारबाट बाहिरिएको सीके राउत नेतृत्वको गठबन्धनमा आबद्ध जनमत पार्टीले आफ्नै उम्मेदवार खडा गरेको छ।
तीन वटै निर्वाचन क्षेत्रमा सत्तारुढ कांग्रेस, एमाले, रास्वपा, राप्रपालगायत दलले उम्मेदवारी दर्ता गराए पनि नेकपा माओवादी गठबन्धन दलको सहयोगीका रुपमा मात्रै रहेको छ। एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाललाई टिकट दिएको छ। एमालेले बारा २ मा पुरुषोत्तम पौडेलाई टिकट दिएको छ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ यसअघिका निर्वाचनमा माओवादीका उम्मेदवारलाई जिताउन कांग्रेसले चितवन त्यागेकाले अहिले उसलाई मत दिन उम्मेदवार खडा नगरिएको बताउँछन्। उनले भने, ‘दस दलीय गठबन्धनको सहमतिअनुसार नै राष्ट्रपति निर्वाचित क्षेत्र र चितवनमा हामीले कांग्रेसलाई भोट दिने निर्णयमा पुगेका हौं। बारामा पनि गठबन्धन दलकै अध्यक्षलाई मत दिन उपनिर्वाचनमा उम्मेदवार खडा नगरेका हौं। यसले गठबन्धन झनै कसिलो हुने विश्वास छ।’
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धनको निर्णयअनुसार २ वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारलाई जिताउन पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग सहयोग मागेकाले नेकपा माओवादीले उम्मेदवार नउठाएको बताउँछन्। प्रधानमन्त्री प्रचण्डकै आग्रहमा जसपा अध्यक्ष उपेन्द्रलाई सघाउन बारा २ बाट कांग्रेसले उम्मेदवारी नदिएको उनको दाबी छ।