काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको बताएका छन्।
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि चितवन-२ मा मनोनयन दर्ता गर्दै लामिछानेले न्यायिक प्रक्रियाबाट सबै विवाद टुंगो लागिसकेका कारण समस्या नआउने दाबी गरेका हुन्।
उनीविरूद्ध युवराज सफलले सर्वोच्चमा दायर गरेको रिट निवेदनबारे पत्रकारले सोधेको प्रश्नमा उनले आफूले सन् २०१८ मा नै अमेरिकी नागरिकता त्यागिसकेको र त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा पनि उल्लेख रहेको बताउँदै समस्या नआउने बताए। ‘सिध्याउने नै नियत राखेर भएभरका शक्ति लागे भने बेग्लै कुरा भयो,’ उनले भने।
लामिछानेले आफ्नै पार्टीको विचार, नीति र सिद्धान्तको बलमा चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने बताए। विपक्षीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने बताउँदै उनले अन्य दलका उम्मेदवारहरूलाई शुभकामना पनि दिए।
गत मंसिर ४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। नागरिकता मुद्दामा सर्वोच्च अदालतले उनको पद खारेज गरिदिएपछि सो क्षेत्रमा उपनिर्वाचन गर्नुपरेको हो। चितवन-२ सँगै बारा-२ र तनहुँ-१ मा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ।