काठमाडौं– एमाले खेदाइमा पर्दै आएका पूर्वउपाध्यक्ष भीम रावलसँग वार्ता गर्ने जिम्मा वर्तमान उपाध्यक्ष विष्णु पौडेललाई दिइएको छ।
शनिबार एमाले मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्ष पौडेलको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाउने निर्णय भएको हो।
तीन सदस्यीय टोलीमा पौडेलसँगै सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्ट र सह–इन्चार्ज कर्णराज थापालाई समेटिएको छ।
वार्ता टोलीले रावलसँग संवाद गर्ने र सहमतिमा पुगे आवश्यक जिम्मेवारी दिने निर्णय भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको भनाइ छ।
४ मंसिरमा टिकट नदिइएपछि र अध्यक्ष केपी ओलीका नीति निर्णयप्रति असहमति राख्दै आएका रावलले केही दिनअघि पार्टीभित्रको पेलाइ जारी रहे विकल्प खोज्नेसम्मको चेतावनी दिएका थिए।