काठमाडौं- १० पुसमा सरकारको नेतृत्व गर्दै सात दलीय गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले १७ चैत शुक्रबार दस दलीय गठबन्धनमा आबद्ध दलहरूलाई समेटेर सातौंपल्ट मन्त्रिपरिषद् विस्तार गरे। शुक्रबार विस्तारित मन्त्रिपरिषद्पछि प्रधानमन्त्री प्रचण्डलाई १ राज्यमन्त्रीसहित १६ मन्त्रीहरूले काँध थाम्नेछन्।
शुक्रबार नै नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्। शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले सपथ लिएर आ–आफ्ना मन्त्रालयको जिम्मा सम्हालिसकेका छन्।
पद तथा गोपनीयताको सपथ लिनेमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम, डा. प्रकाशरण महत अर्थ, महेन्द्रराय यादव महिला, बालबालिका तथा समाज कल्याण, शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, प्रकाश ज्वाला भौतिक पूर्वाधार, रञ्जिता श्रेष्ठ भूमि सुधार, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकासमन्त्री रहेका छन्।
यीमध्ये वरीयतामा प्रधानमन्त्री प्रचण्डपछि पूर्णबहादुर खड्का रहेका छन् भने पुछारमा सहकारी विकासमन्त्री गुरुङ रहेकी छन्।
प्रचण्डको मन्त्रिपरिषद्मा यसअघि सञ्चारमन्त्री रेखा शर्मा, संस्कृतिमन्त्री सुदन किराती, संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रुपमा सुशीला सिर्पाली ठकुरीले जिम्मेवारी सम्हालिसकेका छन्।
शुक्रबार मन्त्रिपरिषद् विस्तारसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ। तर सरकारले पूर्णता पाउन भनेको सकेको छैन। प्रधानमन्त्री प्रचण्डसँग अझै पाँच वटा मन्त्रालयको जिम्मा रहेको छ।
पूर्णबहादुर खड्का : उपप्रधान तथा रक्षामन्त्री
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। उनी ११ हजार ६१९ मतान्तरले विजयी भएका थिए। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेका थिए। उपसभापति खड्का पाँचौं पटक विजयी भएका हुन्।
उनी २०४८, २०५१, २०५६ मा प्रत्यक्षतर्फबाट निर्वाचित हुन् भने २०६४ मा समानुपातिकतर्फबाट सांसद बनेका थिए। २०७० मा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ को निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित भएका थिए। खड्का दुई पटक गृहमन्त्री, दुई पटक युवा तथा खेलकुदमन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्यमन्त्री भइसकेका छन्। लामो समयदेखि कांग्रेसका केन्द्रीय सदस्य रहिआएका खड्काले २०३१ बाट राजनीतिक यात्रा सुरु गरेका थिए।
उनले पटक–पटक गरेर पाँच महिना जेल जीवन बिताइसकेका छन्। पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय रहँदा उनी नजरबन्द तथा थुनामा परेका थिए। उनी कुशल वार्ताकारका रुपमा परिचित छन्।
नारायणकाजी श्रेष्ठ : उपप्रधान एवं गृहमन्त्री
राष्ट्रिय सभा सदस्य श्रेष्ठ ११ पुस २०७९ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठित सरकारमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका थिए। श्रेष्ठलाई यातायात मन्त्रीबाट विभाग परिवर्तन गरी उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।
२०३६ मा पञ्चायतविरुद्ध विद्यार्थी गतिविधिमा लागेको भन्दै उनलाई पक्राउ गरेर सेन्ट्रल जेलमा राखिएको थियो। त्यहाँबाट छुटे पनि दोस्रो पटक २०३६ मै उही आरोपमा गोर्खा जेलमा राखियो। तेस्रो पटक २०४५ मा जनआन्दोलनको तयारीका बेला उनलाई राजकाज मुद्दा लगाई केही दिन ललितपुर डिएसपी कार्यालयमा हिरासतमा राखिएको थियो।
भूमिगत हुँदा प्रज्ज्वल, नरेन्द्रमान, दीपक र प्रकाश नामबाट उनले राजनीतिक गतिविधि गरेका थिए। २०४८ मा प्रचण्ड नेतृत्वको मोटो मशाल, निर्मल लामा नेतृत्वको चौम, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन र हरिबोल गजुरेल नेतृत्वको विद्रोही मसालबीच एकता गर्ने क्रममा उनी पार्टी एकता संयोजन समिति सदस्य भए।
शुक्रबार विस्तारित मन्त्रिपरिषद्पछि प्रधानमन्त्री प्रचण्डलाई १ राज्यमन्त्रीसहित १६ मन्त्रीहरूले काँध थाम्नेछन्।
एकतापछि २०४७ मा एकता महाधिवेशनबाट उनी नेकपा एकता केन्द्रको पोलिटब्युरो सदस्य भए। २०५१ मा पार्टी विभाजित हुँदा उनले एकता केन्द्रको सचिवको जिम्मेवारी लिए। लगत्तै महासचिव भए। नेकपा (मसाल) सँग पार्टी एकता हुँदा मोहनविक्रम सिंह नेकपा –एकता केन्द्र मसाल)को महामन्त्री र उनी सहमहामन्त्री भए। २०६३ मा सो पार्टीमा विभाजन भएपछि उनी एकता केन्द्र–मसालको महामन्त्री हैसियतमै रहे।
डा. वेदुराम भुसाल : कृषिमन्त्री
नेकपा एसका नेता डा. वेदुराम भुसाल राष्ट्रिय सभा सदस्य हुन्। नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भुसाल पार्टीभित्र वैचारिक नेताको रुपमा चिनिन्छन्। नेता भुसालको जन्मस्थल अर्घाखाँची हो। अर्घाखाँचीको हर्रे–बर्रे आन्दोलनको अगुवाइ गर्दै राजनीतिमा आएका भुसाल तत्कालीन नेकपा (एमाले) कपिलवस्तुको सचिव भएका थिए। त्यतिबेला सचिव पार्टीको अध्यक्ष हुने प्रावधान थियो।
अशोककुमार राई : शिक्षामन्त्री
जनता समाजवादी पार्टीका अशोककुमार राई सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनी १७ हजार ५९ मत प्राप्त गरेर विजयी भएका थिए। राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए।
शरदसिंह भण्डारी : श्रममन्त्री
लोकतान्त्रिक समाजवादी नेता शरदसिंह भण्डारी महोत्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुन्। सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का डा. विजयकुमार सिंहलाई दोब्बर मतले पराजित गरेका थिए। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। भण्डारीले २५ हजार १९० मत प्राप्त गरेका छन्। पराजित सिंहले ११ हजार १२० मत ल्याएका थिए। महोत्तरी २ बाट भण्डारी दोस्रो पटक विजयी भएका हुन्। उनी २०७४ को निर्वाचनमा समेत विजयी भएका थिए। उनी अहिलेसम्म पटक–पटक गरेर १२ पटक मन्त्री बनिसकेका छन्।
डा. प्रकाशरण महत : अर्थमन्त्री
पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित हुन्। २०३६ को विद्यार्थी आन्दोलन र २०३७ को जनमत संग्रहमा अग्र मोर्चामा रहेर काम गरेका डा. महतले २०४२ को सत्याग्रहमा सक्रिय भूमिका खेलेका थिए। त्यसबेला उनी नेपाल विद्यार्थी संघको महासचिव थिए।
कांग्रेसको नेतृत्वमा सुरु भएको २०४६ को जनआन्दोलनमा डा. महतले एक्सन कमिटीमा रहेर काम गरेका थिए। २०५५/५६ देखि कांग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाएका डा. महत २०५९ देखि निरन्तर कांग्रेस केन्द्रीय सदस्य रही आएका छन्। उनले २०७९ वैशाखको स्थानीय तह निर्वाचन र २०७९ मंसिरको प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचनमा पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको संयोजकको भूमिका सफलतापूर्वक वहन गरेका थिए।
महेन्द्रराय यादव : महिला, बालबालिका तथा समाजकल्याण मन्त्री
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका दोस्रो अध्यक्षको हैसियतामा रहेका महेन्द्रराय यादव सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। यादव नेकपा माओवादी केन्द्रको टिकटबा सांसद चुनिएका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राजेन्द्र महतोलाई २ हजार ११ मतान्तरले हराएर निर्वाचित भएका हुन्। यादव २०७० र २०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए।
शक्तिबहादुर बस्नेत : ऊर्जामन्त्री
नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजयी भएका थिए। उनले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गरे। बस्नेत जाजरकोटबाट लगातार तीन पटक सांसद हुने नेता बनेका छन्।
संविधानसभाको दोस्रो निर्वाचन २०७०, २०७४ मा भएको निर्वाचनमा बस्नेत निर्वाचित भएका थिए। बस्नेत स्वास्थ्यमन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्रीसमेत भएर सरकारमा लामो अनुभव गरिसकेका नेता हुन्।
माओवादी केन्द्रका उपमहासचिव रहेका बस्नेत जाजरकोटको ग्रामीण वर्ग संघर्षबाट राजनीति सुरु गरेका नेता हुन्। १ वैशाख २०२८ मा भेरी नगरपालिका–१ कालेगाउँमा उनको जन्म भएको हो।
रेखा शर्मा : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको जिम्मेवारी परिवर्तन भएको छैन। उनी दाङ २ बाट नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरी विजयी भएकी हुन्। गठबन्धनबाट उम्मेदवार बनेकी शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८७७ मत प्राप्त गरी विजयी भएकी हुन्। पराजित पोखरेलले २६ हजार ६८० मत ल्याए। शर्मा हाल सरकारको प्रवक्ताको जिम्मेवारीमा समेत रहेकी छन्।
सुदन किराती : संस्कृति तथा पर्यटनमन्त्री
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
किराँतीले नेकपा एमालेका शेरधन राईलाई २ हजार ३८५ मतले पराजित गरेका थिए। उनले ६१ हजार ८३० मध्ये २८ हजार ५७८ मत पाएका थिए। पूर्वमुख्यमन्त्रीसमेत रहेका उनका प्रतिद्वन्द्वी एमालेका राईले २६ हजार १९३ मत पाएका थिए।
अमनलाल मोदी : संघीय मामिला
नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदी मोरङ ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुन्। उनले ३० हजार ६१२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी एमालेका विनोदप्रसाद ढकालले २४ हजार ४६३ मत पाएका थिए।
प्रकाश ज्वाला : भौतिक पूर्वाधार तथा यातायात
नेकपा एसका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुन्। ज्वाला १५ हजार ९११ मतको फराकिलो अन्तरले विजयी भएका थिए। उनले ३५ हजार ७०० प्राप्त गरेका थिए।
रञ्जिता श्रेष्ठ : भूमि, व्यवस्था तथा सहकारी
नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। श्रेष्ठले ३० हजार ४०४ मत प्राप्त गरेकी थिइन्। अध्यक्ष श्रेष्ठ २०७२ को टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका पूर्वसांसद रेशमलाल चौधरीकी धर्मपत्नी हुन्।
रमेश रिजाल : उद्योगमन्त्री
रमेश रिजाल पर्सा ४ बाट प्रतिनिधिसभामा विजयी हुन्। एमालेका जालिम मियाँ मन्सुरीलाई ५ हजार ५३० मतको फराकिलो अन्तरले पराजित गर्दै रिजाल विजयी भएका हुन्। रिजालले ३१ हजार १४२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका जालिम मियाँ मन्सुरीले २५ हजार ६१२ मत प्राप्त गरेका थिए।
सीता गुरुङ : सहरी विकासमन्त्री
कांग्रेस नेतृ सीता गुरुङ तेह्रथुम १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। गुरुङ १९ हजार ७०२ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्। गुरुङ हाल कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।
सुशीला सिर्पाली ठकुरी : राज्यमन्त्री, संस्कृति, पर्यटन
माओवादी केन्द्रकी नेतृ ठकुरी समानुपातिकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। गुल्मीमा जन्मिएकी सिर्पालीले विवाहपछि अर्घाखाँचीलाई आफ्नो राजनीतिक थलो बनाइन्। उनी यसअघि राष्ट्रिय दलित आयोगको अध्यक्ष थिइन्।