काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको समस्यालाई स्थायी रूपमा समाधान सरकारले काम अघि बढाएको बताएका छन्।
शनिबार बिहान मिटरब्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजी प्रथालाई सधैंका लागि अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन्।
मिटरब्याजको दीर्घकालीन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। उनले भने, ‘पीडितका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको छ।’
मिटरब्याज समस्यालाई लिएर मन्त्रिपरिषद् बैठकबाटै उच्चस्तरीय आयोग बनाई तत्काल ‘फिल्ड’मा गएर कारबाही गर्न सक्ने तथा न्यायिक अधिकार प्रयोग गर्न सक्ने आयोग बनाइने प्रधानमन्त्री दाहालले उल्लेख गरे।
‘प्रक्रिया अघि बढिसकेको छ। यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र थन्किनेजस्तो होइन। आयोग ‘र्यापिड एक्सन फोर्स’ जस्तो गरेर जाओस्। त्यसले मान्छेलाई बोलाउने, पुर्जी काट्ने र कारबाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु’, उनले भने।
मिटरब्याज पीडितको समस्याबारे जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेका बेलासमेत मिटरब्याजीमाथि कारबाहीका लागि पहल गरेको बताए।
उनले भने, ‘म नेकपा अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या विस्तृतमा सुनेको थिएँ। तीन वटै सुरक्षा अंग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह गरेको थिएँ। केही मान्छे समातिए। त्यसबेला मिटरब्याजी भागाभाग पनि भए। तर यसको दिगो समाधान भएन। त्यतिखेर अर्कै व्यक्ति प्रधानमन्त्री हुनुहुन्थ्यो। यस पटक म छु। यसको दिगो समाधानमा ध्यान दिन्छु।’
मिटरब्याज समस्या पूर्ण रूपमा समाधान गर्न नसके यसले गम्भीर रूप लिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। ‘मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘अहिले यो समस्या समाधान नभए कहिल्यै हुन्न। त्यसैले समस्याको दीर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ ।’
मिटरब्याज पीडितले मार्च गर्दै राजधानी आएकामा समेत प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिए। ‘तपाईंहरू यसरी पैदलै हिँडेर काठमाडौं आउनुभयो। तपाईंहरूका समस्या राष्ट्रिय रूपमा सुनियो। तपार्इंहरूलाई धन्यवाद’, उनले भने, ‘मैले जिल्लाबाट हिँडेदेखि नै तपाईंहरुबारे जानकारी लिइरहेको छु। कहीँ–कतै अप्ठेरो पर्न नदिन गृहलाई निर्देशन दिएको छु।’
मिटरब्याज पीडितले प्रधानमन्त्री प्रचण्डसँग भेटका क्रममा उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पुर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए।