काठमाडौं– सत्तारुढ कांग्रेसभित्र मन्त्री भागचुँडीलाई लिएर झगडा भइरहेका बेला संस्थापन सभापति शेरबहादुर देउवाका अतिनिकट नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो जोडबलमै एउटै क्याम्पका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतलाई अर्थमन्त्री बनाइएको खुलासा गरेका छन्।
शनिबार ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रम पुगेका खड्काले पत्रकारसँग कुरा गर्दै बाहिर सुनिएजस्तो महतलाई अर्थमन्त्री बनाउने विषयमा आफ्नो कुनै विमति नरहेको प्रस्टीकरण दिएका हुन्।
उनले भने, ‘अर्थ मन्त्रालयमा महतलाई लैजान सभापति र म सँगै बसेर निर्णय भएको हो। हामी तीन जनाबीच कहीँ–कतै विमति छैन।’ रक्षामन्त्री खड्का कांग्रेस उपसभापतिसमेत हुन्।
महतलाई अर्थ मन्त्रालय दिने सहमतिपछि १९ मन्त्रालय बाँकी रहेकामा पार्टी सभापति देउवाले आफूलाई छानीछानी रोज्न लगाएको उनले बताए।