काठमाडौं– लामो समयको रस्साकस्सीपछि दस दलीय गठबन्धनभित्र मन्त्रालय बाँडीचुँडीमा सहमति भए पनि सत्तारुढ कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको झगडा सतहमै देखिन थालेको छ।
सभापति शेरबहादुर देउवाले भागबन्डामा परेकामध्ये संस्थापन इतर पक्ष शेखर कोइराला समूहलाई २ वटा मन्त्रालय मात्रै दिने र बाँकी मन्त्रालय आफूलाई ‘रिजर्भ’ गरेपछि दस दलीय भागबन्डाको झगडा कांग्रेसभित्र सरेको हो। सभापति देउवाले मन्त्रिपरिषद् विस्तारमा नाम नदिए शेखर समूहलाई नपर्खिने चेतावनीसमेत दिएका छन्। शेखर पक्ष भने पार्टीभित्र मन्त्री भागबन्डामा सम्मानजनक सहभागिता नगराइए आफूहरू सरकारबाहिरै रहने पक्षमा उभिएका छन्।
दुई खेमामा बाँडिएका गठबन्धनका सारथि देउवा र शेखर समूहले कांग्रेसभित्र मन्त्रीका लागि रडाको मच्चाएपछि प्रधानमन्त्री प्रचण्डले चार जनालाई मन्त्रालयको जिम्मा लगाएका छन्। सोही कारण ३ बजे शीतलनिवास जाँदै गरेका १७ मन्त्रीमध्ये कांग्रेसबाट ४ जनाले मात्रै सपथ लिने देखिएको छ। कांग्रेसबाट सपथ लिने सबै सभापति शेरबहादुर देउवा समूहका हुनेछन्।
१४औं महाधिवेशनमा शेखर समूहबाट निर्वाचित पदाधिकारीमध्ये उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सह–महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत बैठक बसेर पार्टी सभापति देउवाले मन्त्री छनोटमा आफू पक्षीयलाई मात्र प्राथमिकता दिएको आरोप लगाएका छन्। ‘हामीले संस्थापन पक्ष खासगरी सभापति देउवासँग सम्मानजनक सहभागिता हुनुपर्छ भनेका छौं। सम्मानजनक सहभागिता हुँदैन भने सरकारबाहिरै बस्ने हो,’ सह–महामन्त्री परियारले भने।
बैठकपछि नेता शेखरले सभापति देउवा र प्रधानमन्त्री प्रचण्डलाई यसबारे जानकारी दिइसकेको परियारको भनाइ छ। कांग्रेसले ८ मन्त्रालय पाएकामा उपसभापति गुरुङ र मोरङबाट निर्वाचित डिगबहादुर लिम्बूलाई मन्त्री बनाउने चर्चा छ। शेखर समूहले कम्तीमा ३ मन्त्रालय नदिए देउवाले किटान गरेका नाम पनि अमान्य हुने संकेत दिएको छ।
संस्थापन पार्टी सभापति देउवाले इतर समूहका शेखरहरूलाई माग गरेअनुसारका मन्त्रीको भाग नदिएपछि कांग्रेसभित्र सल्किँदै आगो।
संस्थापन पार्टी सभापति देउवाले इतर समूहका शेखरहरूलाई माग गरेअनुसारका मन्त्रीको भाग नदिएपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ। कांग्रेसले ८ मन्त्रालय पाएकामा शेखर समूहबाट दुई जनाले मात्रै भाग पाएपछि झगडा झाँगिन थालेको हो।
शुक्रबार बिहान होटल मेरियटमा बसेको शेखर समूहको पदाधिकारीसहितका शीर्ष नेताको बैठकले ३ मन्त्रालय नपाए सरकारमै नजाने निर्णय गरेपछि संस्थापन पक्ष पेलेरै अगाडि जाने मुडमा देखिएको छ।
दिउँसो ३ बजे हुने मन्त्रीलाई सपथ गराउने तयारी शीतलनिवासमा भइरहेको छ। आफ्नो पक्षलाई तीन वटा मन्त्री दिनुपर्ने शेखर समूहको मागलाई बेवास्ता गर्दै सभापति देउवा आफूले लिस्टिङ गरेका ‘मान्छे’ को नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेको बताइन्छ। सोही कारण प्रचण्डले भर्खरै विस्तार गरेको मन्त्रिपरिषद्मा २१ जना सदस्यको नाम राष्ट्रपति रामचन्द्रसमक्ष पेस गरेका छन्।
‘पार्टीमा सबैको हिस्सालाई स्वीकारेर २ वटा मन्त्रालय छुट्याइएको हो। शेखर समूह तत्काल आउँदैन भने अरू मन्त्रीले सपथ लिन्छन्। कुर्ने कुरै हुँदैन’, देउवा निकट स्रोतले भन्यो।
बार्गेनिङका लागि ३ मन्त्रालय भने पनि ३ बजेको सपथमा शेखर समूहका मन्त्री पनि सहभागी हुने देउवा पक्षको बुझाइ छ। शेखर समूह देउवालाई बुझाएको मन्त्रीको लिस्ट दुई भए पनि थप एक जना पाउनुपर्ने अडानमा रहेको छ।
शेखर पक्षले यसअघि तीन मन्त्री र मन्त्रालयमा दाबी गरे पनि सभापति देउवाले दुई मन्त्रालय मात्रै दिने भनेकाले सरकारमा सहभागी हुने अवस्था नरहेको स्पष्ट पारेको छ।
शेखर निकट सह–महामन्त्री पाण्डेले भने, ‘बाहिर हाम्रो समूहको भनेर दिइएका नाम संस्थापनबाटै फुकिएको हो। हामीले देउवालाई ३ वटै मन्त्रालय चाहिन्छ भनिरहेका छौं। आजै मात्र नेता शेखरले ३ वटा मन्त्रालय नपाए सरकारमा जाँदैनौं भनेर पार्टी सभापति देउवालाई भन्नुभएको छ। तर सभापतिले तीन होइन, दुईटा मन्त्रालय दिने निर्णय भयो भनियो। यसरी हुँदैन।’
कांग्रेसभित्र मन्त्री भागबन्डाको झगडा शान्त नभएसँगै शेखर समूहले आफ्ना पक्षका ‘मान्छे’को नाम नदिएपछि सभापति आफ्ना पक्षबाछ मन्त्री बन्न लागेका चार जनाको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्। कांग्रेसबाट पहिलो चरणमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश रिजाल र सीता गुरुङको नाम मन्त्रीका लागि पठाइएको हो।
देउवा निकट उपसभापति खड्काले उपप्रधानमन्त्रीसहित रक्षा, महतले अर्थ, रिजालले परराष्ट्र र र गुरुङ सहरी विकासमन्त्री बन्ने निश्चितजस्तै छ।