चितवन- निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ सहित तीन वटै निर्वाचन क्षेत्रको बिहीवार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६९५, बारा–२ मा १ लाख ५ हजार २४८ र तनहुँ–१ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन्।
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनपछि चितवन–२ मा ४७०, बारा–२ मा २३७ र तनहुँ–१ मा १८५ जना मतदाता थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।
उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ। सो अनुसार चितवन–२ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र, बारा–२ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र र तनहुँ–१ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र रहने उनले बताए।
आयोगको निर्णयअनुसार चितवनमा फागुन १ गतेदेखि तथा बारा र तनहुँमा चैत ६ देखि अनलाइन प्रणालीमा आधारित मतदाता नामावली दर्ता र बाहिरी जिल्ला दर्ता स्थगन गरिएको थियो।