काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। बिहीबार नै मन्त्रिपरिषद बिस्तार गर्ने भनिए पनि सत्ता साझेदार राजनीतिक दलहरूले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम नपठाएपछि आज मन्त्रिपरिषद बिस्तार हुने बताइएको छ।
मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूको नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन्।
प्रधानमन्त्री दाहालले बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि बैठक गरेका थिए। बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो।
कांग्रेसले ८, माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, जनमतले एक मन्त्री र एक राज्यमन्त्री, नागरिक उन्मुक्ति, लोसपा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीले एक-एक मन्त्रालय लिने सहमति बनेको थियो।
सोहीअनुसार दलहरूले मन्त्री हुनेहरूको नामबारे पार्टीभित्र आन्तरिक छलफल गरी लगभग टुंगोसमेत लगाइसकेका छन्।