काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता र स्वाधीनता अत्यन्त कमजोर भएको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अहिले नेपालको राजनीति छताछुल्ल र भताभुंग अवस्थामा रहेको भन्दै स्वाधीनता कमजोर अवस्थामा पुगेकाले आफूलाई चिन्ता लागेको बताए।
‘यहाँ राजनीति छताछुल्ल र भताभुंग छ। अविश्वासको चक्र बढ्दो छ राजनीतिप्रति र सरकारप्रति। विश्वसनीयताको प्यारामिटर तल झरेको झर्यै छ। तर मान्छेको शरम पचाउने क्षमता वृद्धि भएको देखिन्छ। समाज अधोगति र देशको अर्थतन्त्र बिग्रेको बिग्र्यै छ,’ ओलीले भने। अध्यक्ष ओलीले हाम्रो स्वतन्त्रता अप्ठेरो स्थितिमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डता र भूमि खुम्चिँदो तथा सीमा मिचिँदो अवस्थामा रहे पनि सरकार मौन रहेको आरोप लगाए।
‘सरकार मौन छ किनभने यसमा बोल्यो भने सत्ता धरापमा पर्न सक्छ। देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रको पक्षमा बोल्न सकिँदैन भने त्यो सरकार भन्न लायक नै छैन,' ओलीले भने। अध्यक्ष ओलीले नेपालको जमिनका बारेमा सरकारलाई बोल्न आग्रहसमेत गरे। उनले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा जाँदै गरेको आफूले सुनेको भन्दै किन विदेश जाँदै हुनुहुन्छ भनेर प्रश्न गरे। ‘के गर्न जाँदै हुनुहुन्छ? आफ्नो जमिनको दावेदारी गर्न जानुहुन्छ कि तावेदारी? के गर्न?’ प्रचण्डलाई ओलीको प्रश्न छ।
१० दलीय गठबन्धनमा रहेका दलहरुबीच कुनै विचार र सिद्धान्त नमिले पनि उनीहरूको गठबन्धन र सरकार बनेको भन्दै ओलीले सरकारको नीति, गन्तव्य केही नरहेको टिप्पणी गरे। हाडछाला मात्रै रहेको देशबाट सिरिन्ज घुसाएर रगत निकाले जस्तै गठबन्धन सरकारले देशको रगत निकाल्ने काम गरिरहेको भन्दै ओलीले सञ्चारमाध्यमले देशको वास्तविक अवस्थाका बारेमा समाचार दिन सक्नुपर्ने बताए।
अध्यक्ष ओली ५ दिन लामो लुम्बिनी प्रदेश भ्रमणपछि हिजो साँझमात्रै काठमाडौं फर्किएका हुन्। ५ दिनमा ५ जिल्लाका दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएका ओली गठबन्धनविरुद्ध निकै आक्रामक सुनिएका थिए।