काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दस दलीय गठबन्धनभित्र सहमति भएअनुसार मन्त्रालय जिम्मा पाएका दलले मन्त्रीको नाम पठाए सकेसम्म मन्त्रिपरिषद् विस्तार गरेर सपथ खुवाउने तयारी भइरहेको बताएका छन्।
बिहीबार चितवनको भरतपुर विमानस्थलमा नयाँ टर्मिनल भवन शिलान्यास कार्यक्रममा सहभागी प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘हिजोको मन्त्रालय भागबन्डाको सहमतिअनुसार सकेसम्म यहाँबाट १ बजेसम्म काठमाडौं फर्कने र आजै मन्त्रिमण्डल विस्तार गरेर सपथ गराउने लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। हुनचाहिँ पक्कै हुन्छ।’
एक–दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भए पनि गठबन्धन दलबीच धेरै कुरो मिलिसकेको प्रधानमन्त्री प्रचण्डले बताए। उनले भने, ‘थोरै मिलाउन बाँकी छ। धेरै टुंगिएको छ। त्यसो हुँदा अब मन्त्रिपरिषद् विस्तारमा अप्ठेरो छैन।’
प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको सत्तारुढ गठबन्धन दलबीच मन्त्रालय भागबन्डामा कुरो नमिलेपछि प्रधानमन्त्री प्रचण्ड बालुवाटारबाटै हेलिकोप्टर चढेर विभिन्न कार्यक्रममा सहभागी हुन चितवन गएका छन्।