काठमाडौं- लामो रस्साकस्सीपछि सत्तारुढ गठबन्धन दलहरुले बुधबार बेलुका मन्त्रालय भागवण्डाको विषय टुंगो लगाए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भुटेको मकै र मोही खाएपछि छलफलमा जुटेका नेताहरुले २५ मन्त्रालयको भाग लगाएका हुन्।
नेपाली कांग्रेसले आठ, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच, जसपा र एकीकृत समाजवादीले दुई/दुई मन्त्रालय पाउने सहमति जुटेको छ। नेकपा एसले त सरकारमा पठाउने नेता पनि तय गरिसकेको छ। सो पार्टीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल समाजवादी पार्टी (नेसपा), नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीले एक/एक मन्त्रालय पाउने छन्। जनमत पार्टीलाई पनि एउटा मन्त्रालय दिने सहमति भएको छ।
पार्टीहरुले आन्तरिक बैठक बसेर मन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई दिनेछन्। नेपाली कांग्रेसले मन्त्री छान्नका लागि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मन्त्री छान्न कांग्रेसलाई बढी सकस भइरहेको छ।
सबै दलबाट नाम आए आज नै मन्त्री नियुक्त गरेर शपथ खुवाउने तयारी प्रधानमन्त्रीको छ। नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालयको जिम्मेवारी लिँदै आएका छन्।
भागवण्डा टुंगिएसँगै नेपाली कांग्रेसले अर्थ मन्त्रालय पाउने निश्चित भएको छ। अब यो दलले कसलाई अर्थमन्त्री बनाउला भन्ने चासो धेरैमा छ, किनकी अर्थतन्त्र अहिले बिरामी हालतमा छ। कमजोर राजस्व संकलन, बढ्दो आन्तरिक ऋण र सेयर बजारमा देखिएको गिरावटका कारण पनि अर्थ मन्त्रालयको नेतृत्वबारे धेरैको चासो देखिन्छ।
बिग्रँदो अर्थतन्त्र सुधारको लागि अर्थतन्त्रमा दख्खल भएको र वैदेशिक स्रोतमा निर्भर अर्थव्यवस्था भएकाले राम्रो परराष्ट्र सम्बन्ध भएको पात्रको खोजी अर्थमा हुनु स्वाभाविक पनि हो। चालु वर्षमा अर्थतन्त्रमा देखिएको शिथिलताका कारण निजी क्षेत्र हतोत्साही बनेको छ। सरकार पनि राजस्व असुली लक्ष्यभन्दा धेरै कम भएपछि समस्यामा छ।
भागवण्डा टुंगिएसँगै नेपाली कांग्रेसले अर्थ मन्त्रालय पाउने निश्चित भएको छ। अब यो दलले कसलाई अर्थमन्त्री बनाउला भन्ने चासो धेरैमा छ, किनकी अर्थतन्त्र अहिले बिरामी हालतमा छ।
यस्तो अवस्थामा अर्थतन्त्रलाई कम्तिमा पुरानो लयमा फर्काउन सक्ने व्यक्तिको अहिले खोजी भइरहेको छ। यही समस्या देखेर नै प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेसको काँधमा हाल्न चाहेका छन्। अर्थ छाडेर उनले गृह रोजे।
कांग्रेसले पाउने सबैभन्दा महत्त्वपूर्ण मन्त्रालय हो अर्थ। मन्त्री छान्नका लागि कांग्रेसले आज बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सोही बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउनेछ। बैठकमा जेजस्तो छलफल भए पनि, जसले जुन मन्त्रालयमा दाबी गरे पनि निर्णय गर्ने सभापति शेरबहादुर देउवाले नै हो।
देउवा निकट स्रोतका अनुसार उनले आफ्ना विश्वासपात्र प्रकाशशरण महतलाई अर्थ मन्त्रालयमा पठाउने तयारी गरेका छन्। देउवाले सुरुमा अर्थ मन्त्रालयको नेतृत्व लिन उपसभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव गरेका थिए। तर, खड्का सहमत भएनन्। उनले गृहमा रुचि देखाए। गृहमा माओवादीले दाबी नछाडेपछि खड्काको जोड परराष्ट्रमा रह्यो। उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दै कांग्रेसको नेतृत्व गरेर सरकारमा जाने खड्काको योजना छ। खड्कापछि अर्थमा बलियो दाबेदार महत नै हुन्।
को हुन् महत?
अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका महत दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री भइसकेका छन्। तर उनले अर्थ मन्त्रालयको नेतृत्व भने गरेका छैनन्। उनी यसअघि परराष्ट्र र ऊर्जामन्त्री भइसकेका छन्। उनले राष्ट्रिय योजना आयोगमा बसेर पनि काम गरेका छन्। महतले यसअघि पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा काम गरिसकेका छन्। अघिल्लो कार्यकालमा प्रचण्डको मन्त्रिपरिषद्मा महत परराष्ट्रमन्त्री थिए।
अर्थशास्त्रको पृष्ठभूमि र देउवासँगको निष्ठाका पनि महत अन्य दाबेदारहरूभन्दा बलिया छन्। अर्थका लागि यसअघि गगन थापा, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर राणा र विनोद चौधरीको पनि चर्चा थियो। तर, उनीहरु सबै पाखा लागिसकेका छन्।
कांग्रेसको गत महाधिवेशनमा देउवा पक्षबाट उम्मेदवारी दिएका महत महामन्त्रीमा पराजित भएका थिए। त्यसभन्दा अघिल्लो महाधिवेशनपछि महतलाई देउवाले पार्टीको सहमहामन्त्री नियुक्त गरेका थिए। अहिले उनी पार्टीको प्रवक्ता पनि छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसको बन्दसूचीमा एक नम्बरमा रहेका महत सांसदमा निर्वाचित भएका छन्।
उनी अघिल्लो पटक काठमाडौं-५ मा एमालेका तत्कालिन महासचिव ईश्वर पोखरेलसँग पराजित भएका थिए। यो निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका प्रदीप पौडलेले पोखरेललाई पराजित गरे।