काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले लुम्बिनी प्रदेशको भ्रमणमा छन्। पार्टीले आयोजना गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्। साथै उनी पत्नि राधिका शाक्यसँग रोमान्टिक पोजमा तस्बिर पनि खिचाइरहेका छन्।
अर्घाखाँचीमा पत्निलाई तस्बिरका लागि पोज सिकाएका ओली पाल्पाको रानीमहलमा सेल्फी खिचिरहेका भेटिए। त्यसक्रममा उनले आफू प्रधानमन्त्री हुँदा रानीमहलसहित एक सय स्थानलाई पर्यटकीय स्थल घोषणा गरेको स्मरण गरे।
चैत ११ गते लुम्बिनी प्रदेश पसेका ओलीले एकपछि अर्को जिल्ला गर्दै प्रदेशमा पाँच दिन बिताए। रुपन्देही हुँदै कपिलवस्तु प्रवेश गरेका पूर्वप्रधानमन्त्री ओली विभिन्न जिल्लाका एक दर्जनभन्दा धेरै कार्यक्रमका सहभागी भइसकेका छन्। हिजो मंगलबार पाल्पामा रहेका उनी आज दिनभर रुपन्देहीका कार्यक्रममा व्यस्त हुनेछन् र साँझ भैरहवाबाट काठमाडौं फर्कने योजनामा छन्।
बुधबार बुटवल आइपुगेका ओलीले युट्युब, टिकटकलगायत सामाजिक सञ्जालसँग टेलिभिजन डराउन नपर्ने बताए। बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरु युट्युब र टिकटकमा आउने गरेको बताए।
उनले भने, 'टेलिभिजनहरु युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु। उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्। सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन पर्दैन।’
उनले टेलिभिजनको संक्षिप्त इतिहास पनि सुनाए। 'विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो छैन, १०२ वर्षको मात्रै छ। नेपालमा सन् १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रसारण सुरु भएको हो। बदलिँदो समयअनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चारमाध्यमको प्रभावकारिता बढ्छ,' ओलीले भने।
११ चैतमा लुम्बिनी आएर सुरुमा अन्तर्राष्ट्रिय ध्यान केन्द्र निरीक्षण गरेपछि उनी सोही दिन कपिलवस्तुका दुई वटा कार्यक्रम सकेर त्यो रात चन्द्रौटामा बसेका थिए। अध्यक्ष भएपछि औपचारिक कार्यक्रममा तेस्रो पटक कपिलवस्तु पुगेका ओलीले लामो समय लिएर कार्यकर्तालाई सम्बोधन गर्दै पार्टीका योजना र आगामी रणनीतिबारे प्रशिक्षण दिएका थिए।
१२ गते ओली गोरुसिंगे, पत्थरकोट हुँदै बाटोमा नेता-कार्यकर्तालाई भेट्दै अर्घाखाँचीको सन्धिखर्कको कार्यक्रमलाई सम्बोधन गर्न पुगे। जिल्ला सदरमुकाममा आयोजित ग्रासरुट अभियानको कार्यक्रमपछि उनी अन्य स-साना कार्यक्रममा पनि सहभागी भए। पुराना नेता-कार्यकर्तालाई सम्मान गर्ने, भेटघाट गर्ने गर्दै अर्घादेवी भगवतीको पूजा गर्न समेत भ्याए ओलीले। सुपा देउराली मन्दिरमा पूजा गर्न समेत पुगे ओली दम्पती। त्यसक्रममा ओली दम्पतीले खिचाएको तस्बिर/भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो। तस्बिरमा उनी पत्नी राधिकालाई पोज सिकाइरहेका देखिन्छन्।
१३ गते बिहान खनखन दह, डाँडाकटेरी, छेडाको डाँटीमा नेता-कार्यकर्ताको सम्मान ग्रहण गर्दै ओली गुल्मीको तम्घासमा कार्यकर्ता भेला तथा प्रशिक्षणमा सम्बोधन गर्न पुगे। कार्यक्रममा उनले पार्टीको बहुमत ल्याउने मिसनमा लाग्न नेता कार्यकर्तालाई उत्साहित बनाए। उनले त्यहाँ पनि पार्टीलाई योगदान दिएका नेता-कार्यकर्ता र माओवादी युद्धमा प्रभावित पार्टीका नेता-कार्यकर्ताको परिवारलाई सम्मान गरेका थिए।
पत्नी राधिकासहित अध्यक्ष ओलीले गुल्मीको पर्यटकीय क्षेत्र रेसुंगाको अवलोकन गरे। यस्तै गुल्मीबाट पाल्पा आउने बाटोमा पर्ने गुल्मीको छत्रकोट गाउँपालिकाको पिपलनेटा घेरिटोलासम्म १३ किमी सडक कालोपत्रे गर्ने कार्यको उद्घाटन गरे। छत्रकोट गाउँपालिकाले सम्मानपत्रसहित गुल्मीमा खुदोबाट बनेको गुड कोसेली ग्रहण गरे ओलीले।
त्यसपछि ओली पाल्पाको तानसेन नगरपालिका-९ दककाडामा रहेको नमुना माध्यमिक विद्यालयको कार्यक्रम पनि सहभागी भए। मंगलबार साँझ उनले तानसेनमा जिल्ला स्तरका नेताहरूसँग भेटघाट गरे। त्यसदिन तानसेन बसेका ओली भोलिपल्ट बिहान रुपन्देही झरे। त्यहाँ उनले शिद्धबाबा अस्पतालको निरीक्षण गरे। त्यसपछि बुटवलको लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभा उद्घाटन गरे।
कार्यक्रमपछि बुटवलको एक होटलमा पार्टीका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम छ भने बुटवल मण्डलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गर्ने उनको तयारी छ। ५ दिन प्रदेशमा बस्दा अध्यक्ष ओलीले ५ जिल्लाका एक दर्जनभन्दा धेरै कार्यक्रम सहभागी हुन भ्याए।
भाषणमा आक्रामक, तस्बिरमा रोमान्टिक
पार्टीको कार्यक्रमका लागि लुम्बिनी प्रदेश झरेका ओली भाषणमा आक्रामक देखिए भने तस्बिरमा रोमान्टिक। रसिक स्वाभावका ओली कहिले सारंगी रेटिरहेका भेटिए त कहिले बालबालिका र युवाहरुसँग रमाउँदै गरेका।
अनौपचारिक रुपमा सफ्ट ओली भाषणमा भने कडा सुनिए। धेरैजसो समय कांग्रेस-एमाले गठबन्धनविरुद्ध खनिएका ओलीले आफ्नै पार्टीको शुद्धीकरणमा पनि जोड दिए। रक्सी खाने मान्छे एमाले हुन नसक्ने उनको भनाइ थियो।
गुल्मी सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिए। एमालेमा प्रवेश गरेपछि गंगा नदीजस्तै शालीन हुनुपर्ने उनले बताएका थिए। ‘कालीगंगामा सबै गएपछि गंगा नै हुन्छ। तिनको खहरे प्रवृत्ति, उत्ताउला प्रवृत्ति सबै हराउँछ। एमालेमा आइसकेपछि खहरेका प्रवृत्ति, अरुका प्रवृत्ति बोकेर हिँड्न मिल्छ ? नेकपा एमाले गंगा जस्तै हो,’ उनले भने।
अध्यक्ष ओलीले शैली, आचरण, व्यवहार एमाले कार्यकर्ताको जस्तो भनेर अनुकरणीय बन्नुपर्ने बताएका थिए। पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको चुनावी प्रतिस्पर्धामा अन्तरघात भएको संकेत गर्दै उनले एमालेभित्र खराब आचरणका मान्छे प्रवेश गरेकाले तिनीहरुलाई पाखा लगाउनुपर्ने बताएका थिए।
अर्घाखाँचीको कार्यक्रममा ओलीले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी भएको बताए। एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकाले अहिले सबैले घेराबन्दी गरेको उनको तर्क थियो। ‘हामीविरुद्ध घेराबन्दी छ। एमालेले जतिबेला सरकारको नेतृत्व गर्ने मौका पायो त्यो बेला नै राम्रो काम गरेकाले अहिले चारैतिरबाट घेराबन्दी गरेका छन्,’ उनले भने, ‘अब अरु एकातिर, एमाले अर्कोतिर भए पनि आउँदो चुनावमा बहुमत सांसद जित्नुपर्छ। सुरुदेखि हालसम्म एमाले सरकारले देशको विकास र समृद्धिमा असाधारण काम गरेको छ।’
एमालेको बढ्दो लोकप्रियता र जनलहरलाई रोक्न प्रतिक्रियावादीले भूमिका खेल्नसक्ने भन्दै त्यसतर्फ सचेत रहन पनि ओलीले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। ओलीले भने, ‘अब एमाले बहुमतका साथ उदाउँछ अनि सरकार बनाएर देशको विकास गर्छ। एमालेसँग नीति, भिजन, मिसन, अठोट, संकल्प र देशको माया छ। त्यो अरुमा छैन।’ प्रधानमन्त्री पुष्पकमल दाहाललाई लक्षित गर्दै ओलीले भने, 'झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रेको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन।' साथै सरकार 'बनाइदिएको' भोलिपल्टबाटै चालामाला ठीक नभएको र सरकार ढाल्न लागि परेको उनको भनाइ थियो।
पाल्पामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले 'एक्लै हिँड्न सक्ने सिंह' भएको बताए। एमालेविरूद्ध दस वटा दलहरूको गठबन्धनलाई स्यालहरूको समूहको संज्ञा दिँदै ओलीले एमाले एक्लै हिँड्न सक्ने सिंह भएको दाबी गरे। ‘एमाले सिंह हो एक्लै हिँड्छ स्यालहरू हो हुलमा हिँड्ने। स्याल एक्लै हिँड्यो भने खतरा हुन्छ, सिंहलाई एक्लै भए पनि कसैले शिकार गर्ला कि भन्ने डर हुँदैन। आफैं शिकार खोज्दै हिँड्छ,’ ओलीले भने।
ओलीले अहिले नेपालमा दुई खालका शक्ति, विचार र उद्देश्यका बीचमा लडाइँ भइरहेको उल्लेख गर्दै एकातर्फ दस दल र अर्कोतर्फ एमाले एक्लो शक्ति भएको दाबी गरे। ओलीले नेपालमा बाहिरी शक्तिको चलखेलका कारण सरकारको स्थिरता र स्थायित्व हुन नसकेको बताए। ओलीले दस दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको कारण देशको सीमा मिच्ने गरेको उल्लेख गरे।