काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पूरै कार्यकाल पाँच वर्षसम्म सरकारको नेतृत्वमा रहने दाबी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दस दलीय गठबन्धनको नेतृत्व गरेर पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने बताएका हुन्।
कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन साहले अस्थिर सरकारका कारण काम गर्न अप्ठेरो भएको बताएका थिए। मेयर बालेनको भनाइलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बालेनजीले आफ्ना भनाइ राख्दै गर्दा सरकारको निरन्तरताको कुरा गर्नुभयो। स्थानीय तह निर्वाचनपछि प्रदेश र संघको निर्वाचन सम्पन्न भयो। त्यसपछि सरकार निरन्तर एउटै छ। मेरो नेतृत्वमा सरकार छ। सरकार पाँच वर्षसम्म जान्छ।’
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने हुँदा त्यहाँ हुने विवाद समाधान र निरुपणका लागि अग्रसरता लिन सुझाए। न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सामाजिक एकता र सद्भावमा वृद्धि हुने उनको धारणा छ। स्थानीय तहको जग बलियो भयो भने सम्पूर्ण परिवर्तनको प्रक्रिया सुदृढ हुने उनको भनाइ छ।
दुई दिने काठमाडौं न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं महानगरपालिकाको संयोजन र उपत्यकाका सबै स्थानीय तहको सहयोगमा पहिलो पटक न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु भएको छ। बुधबारदेखि सुरु भएको सम्मेलन बिहीबार समापन हुनेछ।
‘देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू भइरहेका छन् र काम गर्दा के–कस्ता चुनौती छन्। त्यसबारे चर्चा हुनेछ,’ काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ’कानुनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइ आइरहेको हुन्छ। भएका कानुनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा र चर्चा हुनेछ।’
सम्मलेनका लागि महानगरले ७५२ वटा स्थानीय तहलाई नै निम्तो गरेको थियो। सम्मेलनमा स्थानीय तहका पूर्व उपमेयरले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्नेछन्।
सम्मेलनमा न्यायसम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति गरिनेछ। सम्मेलनपछि देशभरका पालिकाका न्यायिक समितिलाई दिशा निर्देश गरोस् भनेर घोषणापत्र जारी गरिने महानगरले बताएको छ। यसअघि गत वर्ष पोखरा महानगरपालिकाले पहिलोपटक न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको थियो।