काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन्। जनमत पार्टी अध्यक्ष डा. सीके राउतले कुशवाहलाई आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवसँग मैदानमा उतार्ने सम्भावना देखिएको छ।
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुशवाहले पार्टीभित्र जालझेल गरेर आफूलाई ‘माइनस’ गरिएकाले जनमत पार्टी रोज्नुपरेको बताए।
४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा कुशवाह बारा २ मा माओवादी केन्द्रका उम्मेदवार थिए। तर तत्कालीन जसपा उम्मेदवार रामसहाय यादवसँग ३५४ मतान्तरले पराजित भएका थिए।
बारा २ बाट निर्वाचित यादव उपराष्ट्रपति बनेपछि आगामी १० वैशाखमा उक्त क्षेत्रमा उपनिर्वाचन हुँदै छ। कुशवाहले बारा २ बाट उपनिर्वाचन लड्ने संकेत गरेका छन्। बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र उपनिर्वाचन लड्ने तयारीमा छन्।
जनताले पार्टीबाटै चुनाव लड्न आग्रह गरेकाले जनमत प्रवेश गरेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए। उपेन्द्रले बारा २ बाट उपचुनावमा उम्मेदवारी दिए उनलाई हराइछाड्ने दाबी कुशवाहले गरे।